जो इसारा बुझेरै काट्छन् दाह्री-कपाल

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिका–८ जखनिटार माझीगाउँमा एउटा सैलुङ छ श्याम हेयर कटिङ । उक्त सैलुन अरु सैलुनभन्दा भिन्न छ । गाउँको पहिलो सैलुन, दोस्रो तालिम नलिएका व्यक्ति सञ्चालक र तेस्रो‚ बोल्न नसक्ने । त्यहि सैलुन अहिले सबैको प्यारो लाग्न थालेको छ ।

जो इसारा बुझेरै काट्छन् दाह्री-कपाल

सैलुन सञ्चालन गर्ने जखनिटारका श्याम माझी बच्चैदेखि बोल्न सक्दैनन् । तर‚ उनले ग्राहकले भनेजस्तै अर्थात् फोटोमा देखाएको जस्तै कपाल‚ दाह्री काटिदिन्छन् र ग्राहकलाई खुसी बनाएर पठाउछन् । मुस्कानसहितको सेवामा खप्पिस श्यामको सैलुनमा थप विशेषता पनि छन् । उनी गाउँका वृद्ध र बालकको कपाल काटेको पैसा लिँदैनन् । पैसा कम भएका मानिसहरू आउँदा जति छ, त्यति लिएर कपाल काटिदिन्छन् ।

सोमबार श्यामको शैलुनमा पुग्दा ४ जना युवाहरू कपाल काट्न लाइनमा थिए । उनी एक जना बालकको कपाल काट्दै भेटिएका थिए । माझीले सोमबार कपाल काटेर १ हजार कमाएका छन् । ३ वर्षदेखि उनको सेवा निरन्तर चलिरहेको छ । कोरोना महामारीको समयमा स्थानीय प्रशासनले सदरमुकामका सैलुन बन्द गरेपछि माझीले एकछत्र व्यापार गरेका थिए । त्यसबेला देखि उनी चम्किएका हुन् । ६ किलोमिटर टाढाको उक्त गाउँमा जिल्ला सदरमुकामदेखि पुगेर कपाल काटेर फर्कन्छन् ।

सैलुनको भित्तामा विभिन्न डिजाइनमा कपाल काटेका फोटा झुन्ड्याइएको छ । उनी जुन फोटो देखायो त्यस्तै कपाल बनाउन पोख्त छन् । ‘जस्तो भन्यो त्यस्तै काटिदिन्छन्’ स्थानीय कृष्ण श्रेष्ठ भन्छन्‚ ‘म सधैं यहीँ आउँछु । श्यामले कपाल काटेको मोल पनि सरल छ ।’ पैसा लिदा १ सय देखि १ सय ५० सम्म लिन्छन् । असाध्यै मेहनतले कपाल काट्ने श्यामले अहिलेसम्म कसैको चित्त दुख्ने गरी कपाल बिगारेका छैनन् । अचम्म त के भने- यस्तो सीप आर्जन गर्नका लागि उनले अहिलेसम्म कुनै संस्थामा गएर तालिम लिएका छैनन्; सबै देखेरै जानेका हुन् ।

सानै उमेरदेखि गाउँमा अरुको कपाल काट्थे । सदरमुकामको सैलुनमा पुगेर फर्केपछि उनलाई पनि गाउँमा सैलुन राख्ने इच्छा जागेको हो । आफ्नै काका केशरबहादुर माझीले चिसापानी जाने सडकसँग जोडेर पक्की घर बनाएका थिए । त्यहि घरको सटरमा उनले सैलुन खोले । एउटा ऐना, केहि कैँची, एउटा कुर्सी राखेर काम थालेका उनको सीप देखेर गत वर्ष मन्थली नगरपालिकाले सैलुनका लागि आवश्यक सामान अनुदानमा हस्तान्तरण गरेको थियो । ठूला ऐना, कपाल काट्ने अटोमेटिक मेसिन, केही स्प्रे, स्याम्पु राख्ने दराजजस्ता सामान मन्थली नगरपालिकाले हस्तान्तरण गरेको थियो । नगरपालिकाले सामान दिएपछि उनी थप हौसिएर काम गरिरहेका छन् ।

श्याम २३ वर्षका भए । उनले विवाह गरी ल्याएकी श्रीमती टिकामाया पनि बोल्न सक्दिनन् । उनले सांकेतिक भाषामा कक्षा १२ पढेकी छन्; सानो काखे छोरा छ; घरमा वृद्ध बा-आमा छन् । श्याम त्यही सैलुनको कमाइले घर धानिरहेका छन् । मासिक करिब १६ हजार रुपैयाँ आम्दानी गर्ने कुरा उनले लेखेर जानकारी दिए । उनले घरको खर्च धानेर बचतसमेत गर्ने गरेका छन् ।

प्रकाशित : श्रावण २८, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?