२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेतृत्वले थोपरेको निराशा

तीस दशकमा संसारका धेरै देशमा राजनीतिक पुस्ता नै फेरिइसक्यो, हामीकहाँ भने उही देउवा, दाहाल, ओली र नेपालहरुले सत्ताको म्युजिकल चेयर घुमाइरहेका छन्
घनश्याम खड्का

काठमाडौँ — शेरबहादुर देउवा २०५२ मा प्रधानमन्त्री हुँदा ४९ वर्षका थिए । नेपालले युवा प्रधानमन्त्री पाइरहेका बेला अमेरिकामा तीन वर्षअघि नै राष्ट्रपति भइसकेका थिए, उनकै उमेरका बिल क्लिन्टन ।

नेतृत्वले थोपरेको निराशा

क्लिन्टनको अर्को कार्यकालपछि आठ वर्ष जर्ज डब्लू बुस, आठै वर्ष बाराक ओबामा र चार वर्ष डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि आएका जो बाइडेनको कार्यकाल पनि दुई वर्ष बितिसकेको छ । हामीकहाँ घुमिफिरी रुम्जाटार भनेजस्तो उनै देउवा पाँचौं पटक प्रधानमन्त्री भएका छन् ।

पहिलो पटक देउवा प्रधानमन्त्री हुँदा सन् १९९७ सम्म पदासीन बेलायतका उनका समकक्षी जोन मेजर, त्यसपछि १० वर्ष सत्ता सम्हालेका टोनी ब्लेयर, तीन वर्षका लागि प्रधानमन्त्री भएका गोर्डन ब्राउन, त्यसपछि सन् २०१६ सम्म शासन चलाएका ब्लेयर र उनीपछि तीन वर्ष प्रधानमन्त्री भएकी थेरेसा मे अहिले संयुक्त अधिराज्यको राजनीतिबाट ओझेल परिसके । कोभिड महामारीले नागरिक निसासिएका बेला रात्रिभोज गरेर संवेदनहीनता देखाएको आरोपमा आलोचित हुन पुगेका हालका प्रधानमन्त्री बोरिस जोन्सन पनि छिट्टै नै त्यहाँको राजनीतिका भूतपूर्व पात्रका रूपमा थन्किँदै छन् । तीन वर्षदेखि फिनल्यान्डमा प्रधानमन्त्रीका रूपमा देश हाँकिरहेकी ३६ वर्षीया सान्ना मारिन देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा १० वर्षकी थिइन् । झन्डै तीस दशकमा संसारका धेरै देशले राजनीतिक पुस्ता नै फेरिसक्यो । हामीकहाँ भने उही देउवा, दाहाल, ओली र नेपालहरूले नै सत्ताको म्युजिकल चेयर खेलिरहेका छन् । आसन्न मंसिर ४ को चुनावले पनि यही पुस्ताबाट फेरि देउवालाई नै, नभए ओली वा दाहाललाई नै प्रधानमन्त्री बनाउने सम्भावनाको अन्त्य नहुने छाँट देखेपछि डा. रामेशले ट्वीटरमा दिक्दारी पोखे, ‘मंसिर ४ मा के हुन्छ र दंग पर्नु ? उही यो बोटमा सुन्तला किन फलेन भनेर अर्को पाँच वर्ष विस्मात् मान्नलाई बहुसंख्यक मतदाताले नीलकाँडा रोप्ने दिन न हो त्यो ।’

राजनीतिक विश्लेषक विष्णु सापकोटाले ‘मंसिरमा बिदाइ गर्नैपर्नेहरू’ भनेर चुनाव घोषणा हुने दुई महिनाअघि नै लेख लेखे । सत्तामा गइसकेकालाई अब फेरि जान नदिन आम नागरिकलाई सामाजिक सञ्जालमा अपिल पनि गरे । कुशासन, नातावाद, भ्रष्टाचारका काण्डैकाण्ड देउवा, ओली र दाहालहरूको पुस्ताले विरासतमा दिएको बेथिति हो देशलाई । यही बेथितिका कारण पुरानो पुस्ताप्रतिको निराशा बढ्दो छ र शीर्ष नेताको छवि बिग्रँदो छ । कुनै विवादमा नआएका ७९ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनको उमेर, स्वास्थ्य अवस्था र कार्यसम्पादनमाथि न्युयोर्क टाइम्स, सीएनएनलगायत ठूला मिडियादेखि ट्वीटरजस्ता न्यु मिडियाले प्रश्नको वर्षा गरिरहेका छन् । उमेर बढ्दै जाँदा कार्यक्षमतामा ह्रास आउने हुनाले ज्यादै वृद्ध अवस्थामा सत्तामा बस्नु हुँदैन र पठाउनु पनि हुँदैन भन्ने बहस पश्चिमा समाजमा निकै पहिलेदेखिको हो । चुनावका बेलामा बाइडेनलाई न्युयोर्क टाइम्समा अन्तर्वार्ताकारले बुढो उमेरमा राष्ट्रपतिमा किन उठ्न लागेको भनी प्रश्न गरेका थिए । त्यति बेला बाइडेनले भनेका थिए, ‘डाक्टरले सिफारिस गरेअनुसार म शारीरिक रूपले ठीक छु ।’ बाइडेनले यस्तो जिकिर गरे पनि वैज्ञानिक खोजहरूले वृद्ध उमेरमा कार्यक्षमता उल्लेख्य रूपले ह्रास हुने भनेकाले नेतृत्व लिँदा स्वयं व्यक्तिलाई नै आघात पुग्ने देखाएको छ ।

सन् २०११ मा मनोविश्लेषकहरू एरिन डुने, सी ब्रोस्च र जीई मिलरको प्रसिद्ध अनुसन्धानात्मक लेख ‘लक्ष्य विच्छेद, कार्यात्मक अक्षमता र बुढेसकालमा अवसादका लक्षणहरू’ ले उमेर बढ्दै जाँदा मानिसको बौद्धिक क्षमता घट्दै जाने र डिप्रेसन तथा कार्य अक्षमता बढ्दै जाने हुनाले ठूला जिम्मेवारी लिन नहुने निचोड निकालेको छ । अरू थुप्रै अनुसन्धानले पनि वृद्ध उमेर ज्यादा जिम्मेवारी वहन गर्न अक्षम हुने तथ्य स्थापित गरेको बताउँछन्, मानसिक रोग विशेषज्ञ डा. पुष्पराज शर्मा । उनका अनुसार ३० वर्ष कटेपछि मानिसमा सामान्यतया कग्निटिभ डिजेनेरेसन (संज्ञानात्मक ह्रास) सुरु हुन्छ र ६० पुग्दा त्यो कार्यक्षमतामा देखिने स्तरमा पुग्छ । ‘त्यसैले ६० वर्ष आसपासमा निजामतीदेखि सैनिक सेवासम्ममा अवकाशको व्यवस्था गरिएको हो । त्यसपछिका वर्षमा कग्निटिभ डिजेनेरेसन पहिलेभन्दा तीव्र हुँदै जान्छ जसले काममा बाधा आउन सुरु हुन्छ,’ उनी भन्छन्, ‘यो नियम राजनीतिमा पनि लागू हुने हुँदा पश्चिमा मुलुकमा नेताको कग्निटिभ टेस्ट लिइन्छ, त्यहाँ खुला बहस हुन्छ र अति दुर्बल अवस्था छ भने नेतृत्वमा व्यक्ति स्वयं जाने इच्छा राख्दैन, राखिहाले पनि त्यसलाई समाजले चर्को प्रतिरोध गर्छ ।’

नेतृत्वमा पुगेको मानिसको मनोविज्ञानले देशको आम मनोविज्ञानमा असर पार्ने हुनाले बौद्धिक र शारीरिक रूपले ठीकठाक अवस्थाको नेतृत्व हरेक समाजले खोजिरहेको हुन्छ । पुरानो पुस्ताको नेतृत्वलाई विस्थापन गर्न हाल भइरहेको चर्चा परिचर्चा त्यसैको उपज भएको ठान्छन्, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला । उनका अनुसार मानिसको उमेर दुई किसिमको हुन्छ, क्रोनोलोजिकल (जन्मगत) र बायोलोजिकल (जैविक) उमेर । ‘उमेरले धेरै भए पनि कोही शारीरिक रूपले तन्दुरुस्त हुन सक्छ र उसको बौद्धिक क्षमता पनि राम्रो रहन सक्छ तर कसैको उमेर कम भए पनि स्वास्थ्य दुर्बल र मस्तिष्कको क्षमता कमजोर भइदिन सक्छ,’ उनी भन्छन्, ‘तर यो सधैंका लागि होइन, एउटा निश्चित उमेरमा मान्छेको मन र शरीर दुवै थाकिसक्छ जसले गर्दा उसको कार्यसम्पादनमा स्वाभाविक रूपले त्रुटिपूर्ण सुस्तता आउँछ ।’

औसत आयुभन्दा माथि जाँदै गर्दा रोगव्याधिले समाउने र बौद्धिक क्षमता घट्दै जाने स्वास्थ्यको सामान्य नियम हो । यस्तोमा नेतृत्वको प्रश्न युरोप अमेरिकामा निकै पहिलेदेखि उठ्दै आएको देखिन्छ । नेपालमा स्वास्थ्य मन्त्रालयको सन् २०१७ को तथ्यांक औसत आयु ७०.९ वर्षको छ । ‘हाम्रा धेरै नेता औसत आयुको वरपर पुगिसकेका छन् र उनीहरूले दिनुपर्ने जति मुलुकलाई दिइसकेका छन्,’ राजनीतिक विश्लेषक अच्युत वाग्ले भन्छन्, ‘अब फेरि पनि सत्तामा बसिराख्न चाहिने तीन आधारभूत कुरा उनीहरूमा छैन, त्यसैले योग्य नेताको खोजीमा देश बेचैन भएजस्तो देखिन थालेको छ ।’ उनका अनुसार राजनीतिशास्त्रले जुनसुकै उमेरमा नेतृत्वका लागि योग्य हुन तय गरेको तीन कुरा हुन्– नैतिक प्राधिकार, अद्यावधिक ज्ञान र बौद्धिक क्षमता ।

नैतिक प्राधिकार भन्नाले नेतृत्वको उच्च नैतिक छवि हो जसको ओज ज्यादा हुँदा उसको शारीरिक दुर्बलताको प्रश्न नै गौण हुन पुग्छ । जस्तो, अमेरिकाका विड्रो विल्सन राष्ट्रपति भएपछि तीन वर्ष प्यारालाइसिसले थला परे तर पनि अमेरिकी जनताले उनको नैतिक प्राधिकारका कारण कुनै प्रश्न गरेनन् ।

नेतालाई सत्तामा पुग्नका लागि योग्य बनाउने अरू दुई तत्त्व अद्यावधिक ज्ञान र बौद्धिक क्षमता हुन् । विश्लेषक वाग्लेका अनुसार अद्यावधिक ज्ञान भनेको अहिलेको विश्वको समस्या, उपलब्धि, आवश्यकता र अरू समसामयिक विषयबारे नेताले निरन्तर राखिराख्ने सुझबुझ हो । बौद्धिक क्षमताचाहिँ कुनै व्यक्तिमा निहित विशिष्ट किसिमको विश्लेषण गर्न सक्ने खुबी हो जो औसत मानिसको भन्दा निकै बढी, विशिष्ट र चामत्कारिक हुन्छ । यी दुवै कुरा हाम्रा शीर्ष नेताको बोली व्यवहार र आनीबानीमा नदेखिने मनोविद्हरूको विश्लेषण छ । ‘उहाँहरूको भाषणमा एकअर्कालाई गर्ने गाली मात्र छ, मानव कल्याणको कुनै कुरा नेताहरूको मुखबाट कहिल्यै सुन्न पाइन्न,’ मनोविद् भरत गौतम भन्छन्, ‘यो भनेको समस्याग्रस्त मानसिकता हो जसबाट आम मनोविज्ञानमा कुनै उत्साह आउन सक्दैन ।’

वृद्धावस्थाका अतिरिक्त खराब स्वास्थ्यले पनि मानिसको मनोभावलाई प्रतिकूल प्रभाव पार्छ जसलाई विज्ञानको भाषामा डिसएबिलिटी एडजस्टेड लाइफ इयर्स (डीएएलवाइएस) भनिन्छ । ‘यो भनेको बिमार अवस्था र बिथोलिएको मनोभावले गर्दा कार्यक्षमतामा आउने ह्रास हो,’ डा. कोइराला भन्छन्, ‘मानसिक र शारीरिक दुर्बलताले गर्दा व्यक्तिले सक्रियतासाथ काम गर्न नसकेको उमेरलाई हिसाब गर्न डीएएलवाइएस विधिको प्रयोग हुन्छ ।’ राजनीतिक नेतृत्वले समाजका सबै क्षेत्रलाई प्रभाव पार्ने हुँदा उसको स्वास्थ्य, मनोविज्ञान र बौद्धिक संज्ञानको अवस्था दुरुस्त हुन जरुरी छ भन्छन् मनोविद्हरू । ‘राजनीतिज्ञ कुनै क्षेत्रको विज्ञ नभए तापनि विज्ञहरूलाई समायोजन गर्न सक्ने चतुर मतिको हुनुपर्छ,’ मनोविद् गौतम भन्छन्, ‘यसका लागि ऊ आफूकेन्द्रित होइन, समाजका योग्य मानिसको खोजीमा केन्द्रित हुनुपर्छ ताकि उचित मानिसलाई उचित काममा लगाउन सकियोस् ।’ हाम्रा शीर्ष नेतृत्वको व्यवहार हेर्दा उनीहरू आत्मकेन्द्रित भएको देखिने उनको विश्लेषण छ ।

मानसिक रोग विशेषज्ञ डा. पुष्पराज शर्माका अनुसार ३०–४० वर्षसम्म पनि एउटै पुस्ता राजनीतिमा हाबी भइरहनाले नयाँ पिँढीमा पलायनवादको मानसिकता हुर्किरहेको छ । ‘जतिसुकै चतुर भए पनि एउटै मान्छे सधैं सान्दर्भिक कहिल्यै हुँदैन,’ उनी भन्छन्, ‘त्यसैले संसारका राम्रा मुलुकमा अनन्तसम्मका लागि कोही पनि सत्तामा बस्दैन, बस्नु पनि हुँदैन ।’ आम रूपमा खुसी मानिसहरू पाइने क्यानडा, अस्ट्रेलिया, फिनल्यान्डजस्ता देशमा नेतृत्वप्रति मानिसहरूको विश्वास गहिरो हुने गरेको पाइएको अध्ययनहरूले देखाएका छन् । यी मुलुकमा सानोभन्दा सानो प्रश्न उठ्यो भने पनि नेताहरू राजनीतिबाट अलग हुन्छन्, पदबाट राजीनामा दिन्छन् ।

नेताहरूको अक्षमताले देशमा विकास नभएको, भ्रष्टाचार बढेको र त्यसले आम निराशा पैदा गरेको शर्माको निष्कर्ष छ । ‘देश र जनता भनेको पनि एउटा परिवार हो, यसलाई लिडरसिपको मनोविज्ञानले धेरै फरक पार्छ,’ उनी भन्छन्, ‘हाम्रो देशमा केही पनि भएन भन्ने नैराश्य मानिसमा बढेको छ, आम रूपमा नागरिक असुरक्षित महसुस गर्छन् । यो एउटा देशका लागि घातक कुरा हो ।’

प्रकाशित : श्रावण २७, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?