कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले प्रवेश गर्ने नेता केन्द्रीय सदस्यमा मनोनीत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को सचिवालय बैठकले कांग्रेस र माओवादी परित्याग गरी आएका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले सांसदसमेत रहेका वृजेशकुमार गुप्तासहित चार नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो ।

एमाले प्रवेश गर्ने नेता केन्द्रीय सदस्यमा मनोनीत

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चार नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जानकारी दिएका हुन् । । 'जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेका छौं,' उनले भने ।

केन्द्रीय सदस्यमा मनोनयन भएका गुप्ता प्रतिनिधिसभा सदस्य हुन् । उनी २०७४ को निर्वाचनमा कपिलवस्तु २ बाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । हृदयेश त्रिपाठीको समूहमा रहेर संघीय संसद्‌मा स्वतन्त्र रहँदै आएका गुप्ता केही समयअघि एमाले प्रवेश गरेका थिए । त्रिपाठीले भने अर्कै दल खोलिसकेका छन् ।

केन्द्रीय सदस्यमा मनोनीत भएका जीवन गौतम भने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट घोराही नगरपालिकाको प्रमुखको आकांक्षी बनेका उनले टिकट नपाएपछि पार्टी छाडेका थिए । माओवादी दाङ इन्चार्जसमेत रहेका उनी एमाले प्रवेश गरेको केही समयपछि केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका धर्मदत्ता देवकोटा पनि एमाले प्रवेश गरेपछि केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

झापाका अमृत राजवंशी भने कांग्रेस पार्टी छाडेर एमाले प्रवेश गरेका थिए । संविधानसभा सदस्य रहिसकेका उनी कांग्रेसको १४औँ महाधिवेशनका क्रममा झापाको बिर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए । त्यसपछि उनी एमाले प्रवेश गरी केन्द्रीय सदस्यमा मनोनयन भएका हुन् ।

प्रकाशित : श्रावण २६, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?