३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गंगालालमा शुल्क २३३% सम्म वृद्धि

ओपीडी टिकटदेखि प्रयोगशाला परीक्षणमा समेत व्यापक शुल्क बढाइयो
अतुल मिश्र

काठमाडौँ — विपन्न नागरिकको उपचार केन्द्रका रूपमा चिनिएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बहिरंग विभागको टिकटदेखि उपचार शुल्कमा २३३ प्रतिशतसम्म वृद्धि गरेको छ । प्रयोगशाला परीक्षण शुल्कसमेत अकासिएको छ । बालबालिकाको ‘इको’ परीक्षण गराउँदा पहिले एक हजार एक सय रुपैयाँ लाग्ने गरेकामा ८१.८१ प्रतिशत बढाएर दुई हजार रुपैयाँ पुर्‍याइएको छ ।

गंगालालमा शुल्क २३३% सम्म वृद्धि

गर्भवती महिलाको भ्रूणको इको परीक्षण गर्दा लाग्ने शुल्कमा ३३.३३ प्रतिशत वृद्धि गरिएको छ । पहिले उक्त परीक्षणमा १५ सय रुपैयाँ लाग्ने गरेकामा अब दुई हजार तिर्नुपर्ने भएको छ । यति मात्र नभई सीसीयूको बेड चार्ज यसअघि प्रतिदिन १४ सय रुपैयाँ रहेकामा ४२.८५ प्रतिशतले बढेर दुई हजार रुपैयाँ भएको छ ।

आकस्मिक परीक्षण शुल्कमा समेत वृद्धि गरिएको छ । हृदयाघात भएको हो वा होइन भनेर गरिने सीपीके (एमबी) परीक्षण शुल्क पहिले ३ सय रहेकामा दुई गुणाले बढाएर ६ सय रुपैयाँ पुर्‍याइएको छ । गंगालालले गरेको शुल्क वृद्धि सरकारद्वारा सञ्चालित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको दाँजोमा धेरै बढी हो ।

गंगालालले जस्तै मनमोहनले पनि सञ्चालन खर्च आफैं बेहोर्नुपर्छ । शुल्क वृद्धिपछि गंगालालमा सीसीयूको दैनिक शय्या शुल्क ३ हजार रुपैयाँ पुगेको छ भने मनमोहनमा १ हजार २ सय ५० रुपैयाँ छ । त्यस्तै, इको परीक्षण शुल्क गंगालालमा १५ सयदेखि २ हजार रुपैयाँसम्म लाग्छ भने मनमोहनमा सबै प्रकारको इको १२ सय रुपैयाँ तिरे पुग्छ ।

हल्टर परीक्षण शुल्क गंगालालमा २ हजार रुपैयाँ छ भने मनमोहनमा १ हजार ८ सय ५० रुपैयाँ । आईसीयूको दैनिक शुल्क गंगालालमा ५ हजार छ भने मनमोहनमा १ हजार ३ सय रुपैयाँ छ । गंगालालमा ओपीडीको नयाँ टिकटको सय रुपैयाँ र पुरानो टिकटको ५० रुपैयाँ छ, मनमोहनमा ५० र ३० रुपैयाँ मात्र लाग्छ । डबल च्याम्बर पेसमेकर इम्प्लान्टेसनका लागि मनमोहनमा १८ हजार भए पुग्छ भने गंगालालमा ३० हजार रुपैयाँ चाहिन्छ ।

गंगालालमा चिकित्सकलाई १५० प्रतिशत भत्ता

त्यस्तै, पीडीए डिभाइस गंगालालमा ५८ हजार रुपैयाँमा गरिन्छ भने मनमोहनमा यसको शुल्क २२ हजार मात्रै छ । सीएबीजी (कोरोनरी आट्री बाइपास सर्जरी) अपरेसनका लागि गंगालालमा १ लाख २० हजार तिर्नुपर्छ, मनमोहनमा यो सेवा ७० हजारमै पाइन्छ । राइट हर्ट क्याथेटरका लागि मनमोहनमा १२ हजार रुपैयाँ लाग्छ भने गंगालालमा १५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

पहिले बहिरंग विभाग (ओपीडी) को टिकट शुल्क ३० रुपैयाँ रहेकामा यसलाई २३३ प्रतिशतले बढाएर १०० रुपैयाँ बनाइएको छ । त्यस्तै, अर्को पटक जँचाउन आउँदाको टिकटका लागि २० रुपैयाँ तिरे पुग्नेमा १५० प्रतिशत बढाएर ५० रुपैयाँ बनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले भने समितिको सिफारिसका आधारमा शुल्क वृद्धि गरिएको बताए । जेठ १६ देखि लागू हुने गरी सञ्चालक समितिले नयाँ शुल्क लागू गरेको हो । सञ्चालक समिति अध्यक्षमा स्वास्थ्यमन्त्री हुन्छन् । शुल्क बढाउने निर्णय गर्दा स्वास्थ्यमन्त्री विरोध खतिवडा थिए । सञ्चालक समिति सदस्यमा स्वास्थ्य सचिव, अर्थका सचिव वा सहसचिव, योजना आयोग सदस्य, काठमाडौं ५ का सांसदसमेत छन् । सञ्चालक समिति सदस्य तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले शुल्क वृद्धिको निर्णय समितिको सिफारिसकै आधारमा भएको बताए ।

जनस्वास्थ्यविद् डा. शरद वन्त सरकारद्वारा सञ्चालित स्वास्थ्य संस्थामा अस्वाभाविक शुल्क वृद्धि गर्नु गम्भीर विषय भएको र यसले सरकारप्रति जनतामा नकारात्मक सन्देश प्रवाह हुने बताउँछन् । ‘यस्तो मूल्य वृद्धिले आम नागरिकलाई मुटु सेवा प्राप्त गर्नबाट वञ्चित गराउँछ, बहुसंख्यक वर्गमा मुटुसँग सम्बन्धित स्वास्थ्य सेवाको पहुँच घटाउँछ,’ उनले भने । सरकारले निजी स्वास्थ्य संस्थामा समेत शुल्क नियन्त्रण गर्नुपर्ने अवस्थामा आफैंद्वारा सञ्चालित अस्पतालमा शुल्क वृद्धि हुनु गम्भीर घटना भएको उनको भनाइ छ ।

अस्पतालमा लामो समयदेखि कार्यरत एक वरिष्ठ चिकित्सकले राज्य कोषबाट चल्ने संस्थामा अस्वाभाविक शुल्क वृद्धिले सेवा प्रभावित हुने बताए । ‘सरकारले जनताले तिरेको करबाट मेसिन, डिस्पोजेबल, घरलगायतका सबै खर्च दिए पनि त्यसबाट परीक्षण शुल्कको नाममा निजी क्षेत्रजस्तै अचाक्ली शुल्क उठाउनु पूर्ण रूपमा अवैधानिक प्रक्रिया हो,’ उनले भने ।

प्रकाशित : श्रावण २६, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?