कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हरवाचरवाको पुन:स्थापनाका कार्यक्रम ल्याउन सांसद विशुन्केको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी सांसद पार्वतीकुमारी विशुन्केले मधेसमा वँधुवा श्रमिकको रुपमा रहेका हरवाचरवाको पुन:स्थापनाको प्याकेज ल्याउन माग गरेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बुधबार सांसद विशुन्केले प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवाको मुक्तिको घोषणा गरे पनि उनीहरुको पुन:स्थापनाको विषय भने ओझेलमा परेको बताइन् ।

हरवाचरवाको पुन:स्थापनाका कार्यक्रम ल्याउन सांसद विशुन्केको माग

सांसद विशुन्केले मुक्त कमैयालाई २२ वर्षअघि र हलियालाई १५ वर्षअघि साहुको बन्धनमुक्त गरेर पुन:स्थापनाको लागि प्याकेजमा कार्यक्रम सन्चालन गरेको स्मरण गराउँदै हरवाचरवाको लागि समेत त्यस्तै प्रभावकारी कार्यक्रम चलाउन आवश्यक रहेको बताइन् ।

'प्रधानमन्त्रीज्यूबाटै गत साउन २ गते हरवाचरवाको मुक्तिको घोषणा भएको छ । यो खुसीको समाचार हो । तर मुक्तिको घोषणामात्रै गरेर पुग्दैन, साहुजनको घरमा बसेर जीविकोपार्जन गरिरहेको परिवारलाई साहुमुक्त गरेपछि तिनको पुन:स्थापना पनि आवश्यक पर्छ,' उनले भनिन्, 'म यही संसदमार्फत हरवाचरवाको लागि विशेष कार्यक्रम ल्याउन माग गर्दछु । अन्यथा मुक्त कमैया २२ वर्ष र मुक्त हलियाको १५ वर्ष देखि अलपत्र भएजस्तै हरवाचरवाको पनि उही हालत हुने छ ।'

सरकारी अध्ययनअनुसार मधेसका आठ जिल्लामा करिब एक लाख परिवार हरवाचरवा छन् । सरकारले मुक्त घोषणा गरेपछि अब कसैले पनि दासी श्रमिकको रुपमा हरवाचरवा राख्न पाउने छैन ।

सांसद विशुन्केले नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी भएकोमा नाम/थर सच्याउन गृह मन्त्रालयले निर्देशन जारी गरेकोमा खुसी व्यक्त गरिन् । उनले अब फेरि कहिल्यै पनि नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न भनेर समेत पत्राचार गर्नुपर्ने माग गरिन् ।

प्रकाशित : श्रावण २५, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?