चुनाव तयारीका लागि एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव तयारीका लागि एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी)ले मंसिरमा हुने आमनिर्वाचनको तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।  

पार्टी मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता साउन ३१ गतेसम्मका लागि तोकेको छ ।

बुधबारको बैठकले घोषणपत्र मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रयलाई दिएको छ । घोषणापत्र तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

त्यसैगरी उम्मेदवारीको मापदण्ड र छनोट विधिबारेमा प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव भुसाललाई दिइएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

अदालतको आदेशपछि संस्कृत विश्वविद्यालयको ताला खुल्यो

दुर्गालाल केसी

दाङ — उच्च अदालत तुलसीपुरको आदेशपछि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोग कार्यालयमा लागेको ताला बुधबार खुलेको छ ।

उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले आइतबार ताला खोल्न र विश्वविद्यालयको दैनिक कार्य सञ्चालन र पठनपाठन अवरुद्ध हुने कार्य नगर्न नगराउन आदेश दिएको थियो । आदेशपछि नेपाल विद्यार्थी संघले वैशाख १९ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपति, कूलसचिव कार्यालय लगायत आर्थिक महाशाखामा लगाएको ताला खोलेको छ ।

यसैगरी साउन १८ गतेदेखि अनेरास्ववियूले सेवा आयोगको कार्यालयमा लगाएको ताला खोलेको छ । दुवै संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गरी अदालतको सम्मान गर्दै ताला खोलेको जानकारी दिएका छन् । ताला खोलेपछि तीन महिनादेखि अवरुद्ध विश्वविद्यालयका आर्थिक तथा प्रशासनिक कामहरू सुचारु भएका छन् ।

अधिवक्ता कुलबहादुर डाँगीले तालाबन्दी गर्ने नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिलाई विपक्षी बनाई दिएको निषेधाज्ञा परमादेशको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश दिएका थिए ।

नेविसंघले वैशाख १९ गते केन्द्रीय कार्यालय र सेवा आयोग कार्यालयमा एकसाथ ताला लगाएको थियो । आंशिक माग पूरा भएको भन्दै नेविसंघले बीचमा केन्द्रीय कार्यालयको मूलगेट र सेवा आयोगको ताला खोलेको थियो । साउन १८ गते अनेरास्ववियूले सेवा आयोगमा ताला लगाएको थियो ।

सेवा आयोगले साउन १७ मा उपप्राध्यापकको विज्ञापन प्रक्रिया स्थगित गरेको सूचना प्रकाशन गरेपछि नेविसंघले ताला खोलेको थियो । प्रतिस्पर्धा रोक्न नहुने भन्दै फेरि अनेरास्ववियूले ताला लगाएको थियो । एकपछि अर्को तालाबन्दीले विश्वविद्यालयका आर्थिक र प्रशासनिक कामहरु ठप्प भएका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×