२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कविराम पुगे सीडीओ कार्यालय

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो’ 
ज्योति कटुवाल

दैलेख — अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृृह मन्त्रालयले निर्देशन दिएको भोलिपल्टै मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका–३ का कविराम कामी सदरमुकाम पुगे । आफ्नो नागरिकतामा ‘कुकुर कामी’ लेखिएकाले सच्याउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । 

कविराम पुगे सीडीओ कार्यालय

‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि २०४६ सालमा तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो,’ उनले निवेदनमा भनेका छन्, ‘यस्तो नामले हीनता र अपमान भइरहेकाले परिवर्तन गरी कविराम कामीका नाममा प्रतिलिपि पाऊँ ।’

कविरामले वडा र गाउँपलिकाको सिफारिससहित प्रशासनमा निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निवेदन प्राप्त भएकाले सर्जमिन बुझ्न पठाएको बताए ।

‘यो नागरिकतासँगै उक्त नामबाट केके प्रमाणपत्र बनेका छन्, त्यसबारे बुझ्न पठाइएको छ,’ प्याकुरेलले भने, ‘छोराछोरीको नागरिकता बनाएको भए त्यो पनि सच्याउनुपर्छ । फास्ट ट्र्याकबाट कविरामलाई नागरिकता प्रदान गर्छौं ।’

विशेषगरी दलित समुदायका कतिपय व्यक्तिको नागरिकतामा अपमानजनक नाम राखिएको बारे कान्तिपुरले शनिबार विस्तृत समाचार प्रकाशन गरेपछि त्यसबारे संसद्मा समेत आवाज उठेको थियो । गृह मन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै अपमानजनक शब्द भएका नाम सच्याउन र आगामी दिनमा यस्ता शब्द राखी नागरिकता जारी नगर्न निर्देशन दिएको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबार सूचना प्रकाशित गर्दै विगतमा अपमानजनक शब्द प्रयोग गरी समाजमा हीनताबोध महसुस हुने गरी जारी भएका नागरिकता प्रमाणपत्र सच्याउने प्रक्रिया सुरु गरेको जनाएको छ । ‘सम्बन्धित प्रमाणपत्रहरू र वडा कार्यालयको सिफारिससहित प्रक्रिया पुर्‍याई सम्पर्क गर्न’ सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २५, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?