नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । 

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमति गरेका छन् । उनले प्राविधिहरुले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थापन गर्नुपर्ने बताए ।

मेयर शाहले नियम सबैलाई बराबर हुनुपर्ने बताए । उनले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए । उनले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए । अस्पताललाई मन्त्रिपरिषद्‍ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने मेयर शाहले बताए ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताए । उनले अझै अस्पतालसँग सम्झौताअनुसार ८ वर्ष बाँकी रहेको बताए । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने बताए ।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिसअनुसार अघि बढ्ने सहमति भएको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

प्रकाशित : श्रावण २४, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कुनै समस्या छैन : राजेन्द्र महतो

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् ।मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए ।

उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नका लागि कुनै कठिनाइ नरहेको बताए ।

‘हामी चुनावको तयारीमा लागिसकेका छौँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ । छैटौं दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ,’ उनले भने । नागरिकताका मुद्दा सम्बोधन गरेकाले सरकारलाई सहयोग गर्न लागेको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २४, २०७९ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×