१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस सांसद मुसलमानको प्रश्न- एम. अधिकारी गभर्नर हुन् कि कृषक ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम. अधिकारी को हुन् भन्नेबारे संसदले कार्यकालको अन्तिम समयमा भए पनि खोजी गर्नुपर्ने बताएका छन् । उनले एम. अधिकारी गभर्नर हुन् कि कृषक भनेर जनतालाई जवाफ दिनुपर्ने बताए । 

कांग्रेस सांसद मुसलमानको प्रश्न- एम. अधिकारी गभर्नर हुन् कि कृषक ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मुसलमानले संसद्‌मा पटकपटक उठेको एम. अधिकारीको विषय उठेको तर पहिचान हुन नसकेको बताए । यस विषयमा जनतालाई के जवाफ दिने हो भन्ने उनको प्रश्न थियो । 'यो सदनभित्र पटकपटक उठेको एम. अधिकारी पहिचान गर्न सकिएन । के हामी घर जाँदाजाँदै एम. अधिकारी पहिचान गर्न सक्छौं ? किनभने सदनमा पटकपटक उठेको विषयमा हामीले गएर जनताका बीचमा के जवाफ दिने ? एम. अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन् ?,' उनले प्रश्न गरे, 'एम. अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् या कुनै कृषक हुन् ?'

एम अधिकारी को हुन् भन्ने जानकारी पाएमा कम्तीमा एक व्यक्तिको पहिचान त हुन सक्यो भनेर जनतालाई जवाफ दिन सकिने मुसलमानको भनाइ थियो । 'यसको जानकारी प्राप्त भयो भने जनतामाझ जाँदा सदनमा कमसेकम एउटा व्यक्तिको पहिचान गर्न सक्यौं भन्ने थियौं,' उनले भने ।

प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम. अधिकारीलाई राखिएको छ । खोटाङका भनिएका ती व्यक्ति को हुन् भन्ने एमालेले देखाउन सकेको छैन । २०७३ सालमा महाप्रसाद अधिकारी सदस्यका रूपमा थिए । खोटाङका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर छन् । उनी नै एम. अधिकारी भएको भनेर सांसदहरूले यसअघि पनि संसद्‌मा आवाज उठाएका थिए । कांग्रेस सांसद मुसलमानले ती सांसदहरूले उठाएका विषय के भए भनेर प्रश्न गरेका हुन् ।

प्रकाशित : श्रावण २४, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?