आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : ओली

शिव पुरी

रौतहट — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम गौरमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारको आलोचना गरेका हुन् ।  

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो,’ उनले भने,‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनौट गरिएका धेरै योजनाहरु गठबन्धनको सरकारले हटाएको आरोप लगाए । ‘माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रौतहटको विकासका लागि सिन्कासमेत भाँचेनन्,’ उनले भने,‘अहिले आएर ठूला कुरा गर्न थालेका छन् ।’ अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरेर देखाएका दाबी गरे । ‘यही जिल्लाका नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासका नाममा सिन्को पनि भाँचेनन्,’ उनले थपे ।

अध्यक्ष ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको सुनाए । उनले सभामा आफू मधेसविरोधी नभएको भन्दै मधेशका जनतालाई फकाएका थिए ।

‘म प्रधानमन्त्री हुँदा मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम भयो,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस् कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाए, धेरै काम भए ।’ उनले तराई मधेसको विकास र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।

खराब मौसमका कारण अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा अवतरण भएको थियो । त्यहाँ केहीबेर कुरेर ओली रौतहट आएका थिए । कडा सुरक्षाबीच ओलीले सभालाई सम्बोधन गरेका थिए ।

लोसपाबाट अघिल्लो स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाबाट नगरप्रमुखमा चुनाव जितेका अजय गुप्तालाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका थिए ।

प्रकाशित : श्रावण २३, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडावासीलाई नि:शुल्क खानेपानी वितरण गरिने

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क रुपमा उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच आइतबार सम्झौता भएको छ ।

उक्त सम्झौता आगामी भदौ महिनादेखि कार्यान्वयनमा आउने भएको छ । नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क रुपमा उपलब्ध गराउने यो मुलुककै पहिलो उपमहानगरपालिका हो ।

साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइतबार भएको सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।

सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५, सामुदायिक विद्यालयलाई प्रतिधारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महशुल रकम उपलब्ध गराउने सहमति भएको मेयर मीना लामाले बताइन् ।

सहमति अनुसार खानेपानीको बिलिङ भएको महिनाको १० गतेभित्र महशुल रकम बुझाउनु पर्नेछ । सहमतिपत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईं, प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका थिए ।

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गठबन्धनबाट निर्वाचित भएको तीन महिनाभित्रै उपमहानगरकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्रअनुसार प्रतिबद्धता पूरा गरेका हुन् ।

उपमहानगरको उक्त निर्णय भदौ महिनादेखि २३ हजार ५ सय धारामा लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ ।

खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने उपमेयर बानियाँले बताए ।

उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिरहेका नगरका उपभोक्ताहरुले खानेपानी बोर्डमा आवद्ध भएपछि उक्त सुविधा पाउने उपमहानगरपालिकाले जनाएको छ । उक्त सुविधा पाउनका लागि खानेपानी बोर्डमा आवद्ध हुन मेयर लामाले आह्वान गरेकी छन् ।

प्रकाशित : श्रावण २३, २०७९ १९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×