कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
सिट बाँडफाँडमा माओवादी रणनीति

चुनावपछि पनि 'सत्ताको चाबी' नफुत्कियोस्

‘माओवादी तेस्रो पार्टी भएको हुनाले उनीहरूलाई खेल्नका लागि राम्रो अवसर छ । यो गणितबाट उत्पत्ति भएको अवसर हो । गणितले दिएको अवसरलाई उसले प्रयोग गरेको छ । ’ - खगेन्द्र प्रसाईं, राजनीतिक विश्लेषक
मणि दाहाल

काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धन मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तय गर्न जुटेको छ । साउन मसान्तभित्रै बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदलले सोमबारबाट काम थालेको छ ।

चुनावपछि पनि 'सत्ताको चाबी' नफुत्कियोस्

गठबन्धनभित्र रहेका सबै दल सकेसम्म आफू बढी सिट लिने ध्याउन्नमा छन् । त्यसैले सिट बाँडफाँड गठबन्धनका लागि पेचिलो बन्ने अवस्था छ । कांग्रेसले स्वाभाविक रूपमा ठूलो दलको हैसियतमा धेरै सिट दाबी गर्ने नै भयो । तर अहिले माओवादी केन्द्रसमेत अधिक सिट लिने ध्याउन्नमा छ । माओवादी अहिले प्रतिनिधिसभामा तेस्रो ठूलो दल हो । माओवादी नेताहरूका अनुसार आउँदो चुनावबाट माओवादी आफ्नो हैसियत विस्तार गर्न चाहन्छ त्यसैले सकेसम्म धेरै सिट कांग्रेसको पोल्टाबाट आफ्नोमा ल्याउन चाहन्छ ।

सिट बाँडफाँडको विषय कसरी सहमति जुट्छ त्यसले गठबन्धन र आगामी सरकारको भविष्यसमेत निर्धारण गर्ने हुने भएकाले माओवादी अहिले नै बढ्ता चनाखो रहेको नेताहरु बताउँछन् ।

माओवादी केन्द्रले स्थानीय तह जस्तै पहिले जितेको स्थानमा सम्बन्धित दलले लिने गरी बाँडफाँडको मोडललाई पहिलो प्राथमिकता दिएको छ ।माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादव २०७४ सालमा दलहरूले जितेको स्थान पाउनु पर्ने बताउँछन् । ‘अहिलेको राजनीतिक एजेन्डा हाम्रो हो । जसको एजेन्डा हुन्छ उसकै नेतृत्व नहुने हो भने देश अघि बढ्न सक्दैन । त्यसैअनुसार हाम्रो दाबी हुन्छ,’ यादवले इकान्तिपुरसँग भने, ‘जहाँ-जहाँ हामीले जितेका थियौँ त्यहाँ हामीले पाउनु पर्‍यो । गठबन्धनका अन्य दलले जितेको ठाउँमा पनि त्यसैगरी बाँड्नुपर्छ । एमालेले जितेको ठाउँमा भागबन्डा हुनुपर्छ ।’

उनका अनुसार स्थानीय चुनावमा पनि सिट बाँडफाँडमा सैद्धान्तिक निर्णय भएको थियो । 'त्यो महानगरपालिका र उपमहानगरपालिका कार्यान्वयन भए पनि अन्य स्थानमा भएन,’ यादवले भने, ‘त्यसलाई अहिले अपनाउनु पर्छ ।’ राष्ट्रिय सभाको चुनावमा पनि जो जहाँबाट जितेको थियो त्यसले त्यही पाउने मोडालिटी तय गरिएको थियो ।

एमालेले गत आमनिर्वाचनमा प्रत्यक्षतर्फ ८० स्थानमा जित हासिल गरेको थियो । त्यसमध्ये एमाले विभाजनमा प्रत्यक्ष चुनाव जितेका १३ सांसद एकीकृत समाजवादीतर्फ लागेका थिए । सो निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ २३, माओवादी केन्द्रका ३६ स्थानमा जित हासिल गरेको थियो । ‘गत निर्वाचनको प्रत्यक्षतर्फको परिणामअनुसार गठनबन्धनभित्र हामी पहिलो दल हो,’ यादवले भने ।

माओवादी अध्यक्ष दाहालले धेरै पटक सार्वजनिक भाषणमा कम्तीमा दोस्रो स्थानमा पुग्नैपर्ने बताइरहेका छन् । ‘पहिलो दल हुने लक्ष्य हो । जनतामा पनि आकर्षण बढेको कारण पहिलो दल हुने राख्नु पर्छ,’ यादवले भने, ‘पहिलो दल हुने लक्ष्य राख्नु पर्छ भनेर हामी लागेका छौं ।'

यादवले पहिलो दलको दाबी गरे पनि २०६४ सालको पहिलो संविधानसभाको चुनाव यता भएका चुनावमा माओवादीको मत घटेको छ । २०६४ मा करिब साढे २९ प्रतिशत मत ल्याएको मा‌ओवादी केन्द्रको त्यसपछिको निर्वाचनमा मतपरिणाम घट्दै छ तर प्रत्येक चुनावपछि सत्ता समीकरणमा भने निर्णायक रहँदै आएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा १३ प्रतिशतमा खुम्चिएको माओवादी केन्द्र अहिले पनि सत्ताको चाबी लिएर बसेको छ । अब चुनावपछि पनि आफूसँग भएको सत्ताको चाबी झन् बलियो बनाउन चाहन्छ ।

२०७२ मा संविधान जारी भएपछि हरेक सत्ता समीकरण माओवादीबिना पूरा भएको छैन । माओवादी पार्टी आगामी सरकारमा निर्माणमा पनि निर्णायक भूमिका हुने गरी गठबन्धनभित्रबाट सिट लिन चाहन्छ । आफ्नो जसका लागि माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसबाहेक अन्य दलहरूको 'उपगठबन्धन' समेत बनाउने कसरतमा रहेका छन् ।

२०७२ मा संविधान जारी भएयता ५ वटा सरकार बने । ती सबै सत्ता समीकरणमा माओवादी प्रमुख सहयोगीका रूपमा रह्यो । केपी शर्मा ओली प्रधानमन्त्रीको उत्तरार्द्धमा एमाले र लोसपाबीच गठबन्धन निर्माण भएको थियो । दोस्रो पटक प्रनिनिधिसभा पुन:स्थापनासँग त्यो छोटो समयमा लागि भएको गठबन्धन भंग भएको थियो ।

प्रधानमन्त्री परिवर्तन भए पनि ती सबैमा माओवादी केन्द्रको उपस्थित देखिएको छ । संविधान जारी भएपछि नेकपा एमालेका केपी शर्मा ओली प र कांग्रेस सभापति शेरबहादुर देउवा २-२ पटक तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल १ पटक प्रधानमन्त्री बने ।

राजनीतिशास्त्री खगेन्द्र प्रसाईं माओवादीले चुनावमा गणितको खेललाई प्रयोग गरिरहेको बताउँछन् । ‘नेपालमा एउटै राजनीतिक दलले बहुमत ल्याउन नसक्ने भएका कारणले यस्तो भएको हो । नेपालमा पपुलर मतको आधारमा कांग्रेस र एमाले बराबरीको पार्टी हो । यस्तो अवस्थामा उनीहरूभन्दा निकै सानो पार्टीले पनि हैसियतभन्दा राम्रो दाबी गर्छन्,’ प्रसाईंले भने, ‘माओवादी तेस्रो पार्टी भएको हुनाले उनीहरूलाई खेल्नका लागि राम्रो अवसर छ । यो गणितबाट उत्पत्ति भएको अवसर हो । गणितले दिएको अवसरलाई उसले प्रयोग गरेको छ । ’ प्रसाईंले वैचारिक नभई गणितको राजनीतिक हुँदा अहिले जस्तो अवस्था हुने बताउँछन् । सिद्धान्त निष्ठतालाई राम्रोसँग नसमातेपछि त्यो गणित नै प्राथमिकता हुन्छ ।

‘सिद्धान्त निष्ठतालाई राम्रोसँग नसमातेपछि त्यो गणित नै प्राथमिकता हुन्छ,’ प्रसाईंले भने, ‘यो वा त्यो पार्टीसँग बार्गेनिङ गर्न अहिलेका राजनीतिक दलहरुलाई सैद्धान्तिक रूपमा समस्या छैन ।’

वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा वडाध्यक्षहरूले प्राप्त गरेको मतको विश्लेषण गर्दा माओवादी केन्द्र प्रमुख दुई दल जतातर्फ लाग्छ त्यसैको प्रत्यक्ष निर्वाचनतर्फका धेरै संख्या जित्ने सम्भावना रहन्छ ।

कान्तिपुरले केही दिनअघि गरेको स्थानीय तह चुनावको तथ्याकं विश्लेषणमा प्रतिनिधिसभामा चुनावमा एक्ला एक्लै लड्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमश: ७६, ७१ र ८ स्थानमा जित्ने देखिएको थियो। तर जब माओवादी केन्द्रको मत कांग्रेस र एमालेसँग जोडिन्छ त्यसको प्रत्यक्षतर्फ जित्ने संख्या सिटको संख्या नाटकीय रूपमा बढ्न सक्ने तथ्यांकले बोलेको थियो । जस्तै कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन हुँदा एमाले १६ स्थानमा खुम्चिन आइपुग्ने तस्बिर पनि पनि देखिएको थियो ।

२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा कांग्रेस प्रत्यक्षतर्फ २३ स्थानमा खुम्चिएको थियो । जबकि गठबन्धन रहेको एमालेले ८० र मा‌‌‌ओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको थियो । जबकि समानुपातिकतर्फ भने एमालेले ४१ र कांग्रेसले ४० स्थानमा जित हासिल गरेको थियो । एमालेसँग चुनावमा माओवादीले ४० प्रतिशत हिस्सा प्राप्त गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?