नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई- समाचार - कान्तिपुर समाचार

नेताको खोल ओढेर ठेकेदारले बेथिति ल्याए, हामी तह लगाउँछौं : मन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई 'तह लगाउने' चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयले त्यस्ता ठेकदारहरूको खोजी गरिरहेको र बिस्तारै 'ठीक लगाउने' बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकदारहरूलाई सरकारले नछोड्ने बताए ।

मन्त्री राईले भने ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । सरकारले कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्तयाउनेलाई छोड्दैन । तर विकास निर्माणमा ठेकदारहरूको बेथिति छ । को कसको को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौं । बिस्तारै ठीक पार्छौं । तपाइँहरू ढुक्क हुनुस् ठिक पार्छौं ।'

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडादरमा बेथिति नभएको जिकिर गरे । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भइरहेको पनि दाबी गरे । मन्त्री राईले कहीँ कतै कार्यान्वयन नभएको भए मन्त्रालय तत्काल कडाइका साथ कार्यान्वयन गर्न तयार रहेको पनि बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् ।

सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । देशका मुख्य सडकहरुमा बाढी पहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि समितिले निर्देशन दिएको छ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न समितिले निर्देशन दिएको छ ।

'सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्कालपहिरो हटाउन समिति भौतिक तथा ऊर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरउन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीव्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ,' समितिको निर्देशनमा भनिएको छ ।

सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानुन ल्याउन सरकारलाई निर्देशन दिइन् ।

प्रकाशित : श्रावण २३, २०७९ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×