सजाय भुक्तान गरेर फर्किएकैको योजनामा चिनियाँको अपहरण

कान्तिपुर संवाददाता

काठमाडौँ — अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा सजाय भुक्तान गरेर फर्किएका लक्ष्मण गुरुङको योजनामा बुधबार साँझ चिनियाँ नागरिक याङ याङ र उनका दोभासे सूर्यबहादुर राईलाई अपहरण गरेको खुलेको छ ।

काठमाडौं महानगरपालिका-२ लाजिम्पाट खरेलटोलमा फ्ल्याट लिएर बसेका चिनियाँ नागरिक याङ याङ र ओखलढुङ्गा चिशखुगढी गाउँपालिका-५ चिसापानी घर भई वनस्थली बस्ने चिनियाँ भाषा दोभासे २६ वर्षीय सूर्यबहादुर राईलाई अपहरण गरी अपहरणकारीले १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

साउन १८ (बुधबार) साँझ उनीहरूलाई अपहरण गरेको अरोपमा प्रहरीले मुख्य योजनाकार गोरखाको सिरानचोक गाउँपालिका-५ घर भई धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङसहित ६ जनालाई पक्राउ गरेको थियो । लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पक्राउ परेर सजाय भुक्तान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

प्रहरीको आपराधिक अभिलेखअनुसार गुरुङ २०७१ भदौ २९ गते मुद्दा नम्बर १३७ तथा २०७३ चैत्र १६ गते मुद्दा नम्बर २४७ मा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ परेका थिए । उक्त मुद्दामा ३ वर्ष कैद सजाय भुक्तान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त फैसलाको प्रतिलिपी अदालतबाट माग गरेको र आवश्यक अनुसन्धान भइरहेको एसपी मैनालीले बताए । हिमालराज गिरीलाई लक्ष्मणसहितको समूहले पटक-पटक फोन गरी धम्क्याएर फिरौती असुलेका थिए । ‘जेल बसेर निस्किका आरोपी मुख्य योजनाकार भएको खुलेको छ,’ एसपी मैनालीले भने, ‘अपहरण उद्योगमा जेल बसेर निस्केका गुरुङले नै प्रहरीलाई समेत संलग्न गरी योजना बनाएको पाइएको छ ।’

प्रहरीले अपहरणका योजनाकार लक्ष्मण गुरुङ, पाटन उच्च अदालतका एक न्यायाधीशका पीएसओ हवल्दार गोरखा आरुघाट गाउँपालिका-७ घर भई रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत घुमुवा प्रहरी जवान बर्दिया राजापुर नगरपालिका-१० घर भई बालाजु बस्ने २८ वर्षीय शिव सुनार, सर्लाही लालबन्दी नगरपालिका-११ घर भई मित्रनगरस्थित सिन्धुली गेस्टहाउस बस्ने २९ वर्षीय रोहित मगर, प्यूठान नगरपालिका-८ बागदुला घर भई मित्रनगर बस्ने २८ विशाल मगर, नुवाकोट शिवपुरी गाउँपालिका-६ पालथोक घर भई बानियाँटार बस्ने २७ वर्षीय विनोद केसीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

चिनियाँ नागरिक याङ याङ कल सेन्टर सञ्चालक भएको र पछिल्लो समय प्रहरीले कल सेन्टरमा छापा मार्न थालेपछि दरबारमार्गस्थित उत्तर ढोकाको कल सेन्टर छाडेर फ्ल्याटमा बस्न थालेको सुइँको पाएका प्रहरीको सूचनाको आधारमा लक्ष्मणले अपहरणको योजना बनाएको पाइएको छ ।

ती चिनियाँ कल सेन्टर छाडेर भाग्न लागेको र अवैधानिक कल सेन्टरबाट प्रशस्त रकम कमाएको सुइँको पाएको प्रहरी हवल्दार गुरुङ र घुमुवा प्रहरी जवान सुनारले लक्ष्मणलाई सघाएका थिए । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-१७ को अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?