२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सत्ता गठबन्धनमा जान लोसपा सकारात्मक

मधु शाही

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार छलफल गरेका लोसपाका नेताहरू राजनीतिक आधार टेकेर गठबन्धनमा जाने मनस्थितिमा पुगेका हुन् । 

सत्ता गठबन्धनमा जान लोसपा सकारात्मक

बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका थिए । ‘प्रधानमन्त्री देउवाले गठबन्धन सरकारमा सामेल हुन प्रस्ताव राख्नुभयो । यसलाई हाम्रो पार्टीले सकारात्मक मानेको छ । हाम्रा माग पूरा भए गठबन्धनमा बस्न सकारात्मक छौं,’ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कान्तिपुरसित भने ।

लोसपा सत्ता गठबन्धनमा जाने विषयमा दस महिनादेखि छलफल भइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग लोसपा नेताको टकरावले सत्तारोहण सहज देखिएको छैन । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ल भने गठबन्धनमा सहभागी हुँदा यादवसँगको सम्बन्धले असर नगर्ने बताउँछन् । ‘जसपामा हुँदा उपेन्द्रजीसँग पार्टीभित्रै बसेर संघर्ष गरेका हौं । सरकारमा पनि हामी आ–आफ्नै ढंगमा काम गर्छौं’, उनले भने, ‘उपेन्द्रजीसँग हामीलाई कुनै आपत्ति छैन ।’

लोसपाका नेताहरूले मधेसको हितमा पार्टीले उठाउँदै आएका माग पूरा भए र राजनीतिक ‘स्वार्थ’ मेल खाएमात्रै सरकारमा जान सकिने बताउँदै आएका छन् । प्रधानमन्त्री देउवाले नागरिकता विधेयक संसद्मा पारित गराएपछि लोसपा नेतृत्व देउवा सरकारप्रति सकारात्मक बनेको छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन भने बाँकी छ । प्रमाणीकरण भएपछि मात्र नागरिकताको मुद्दा सम्बोधन भएको भन्न मिल्ने लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य शुक्ल बताउँछन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा सहभागी शुक्लले सत्ता गठबन्धनमा सम्मानजनक सहभागिता हुने भए सामेल हुने बताए । ‘हामी सरकारमा जाने विषयमा सकारात्मक नै छौं,’ उनले भने, ‘तर त्यहाँ कस्तो स्थान र भूमिका हुनेछ भन्नेमा पाँचदलीय गठबन्धनले पहिला छलफल गर्न जरुरी छ ।’

लोसपाले नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झूट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । यी सबै माग प्रधानमन्त्री देउवाले समाधान गर्ने प्रक्रियामा रहेको आश्वासन लोसपाका नेतालाई दिएका छन् । ‘तर सरकारमा जाने प्रक्रिया लामो छ । तुरुन्तै भइहाल्छ भन्ने होइन,’ उनले भने ।

प्रकाशित : श्रावण २३, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?