१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रपतिलाई पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव-'कूटनीतिक मामिलामा नेपालको होसियारी आवश्यक'

जगदीश्वर पाण्डे

काठमाडौँ — विश्वमा दोस्रो शीतयुद्ध सुरुआत भइसकेकोले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा होसियारी अपनाउनुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् । अहिलेको भूराजनीति, नेपालको विदेश सम्बन्ध र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा छलफल राष्ट्रपति भण्डारीले आइतबार पूर्वपरराष्ट्रमन्त्रीहरुलाई शीतल निवासमा बोलाएकी थिइन् ।

राष्ट्रपतिलाई पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव-'कूटनीतिक मामिलामा नेपालको होसियारी आवश्यक'

त्यस अवसरमा पूर्वपरराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रकाशशरण महत र प्रदीप ज्ञवाली छलफलमा सहभागी भएका थिए । सहभागी एक प्रतिनिधिका अनुसार छलफलमा पाँचै जना पूर्वपरराष्ट्रमन्त्रीहरुले अहिलेको विश्व भूराजनीतिलाई नेपालले आफूलाई ध्यान दिएर प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

पूर्वपरराष्ट्र मन्त्रीहरुले नेपालको कुनै पनि दल वा व्यक्ति विशेषभन्दा पनि राष्ट्रको स्वार्थको आधारमा परराष्ट्र नीतिलाई सञ्चालन गर्नु पर्ने सुझाव दिए । ‘दोस्रो शीतयुद्धको सुरुआत भइसकेकोले नेपालले विदेश नीतिका सम्बन्धमा सजकता अपनाउनु पर्छ,’ पूर्वपरराष्ट्रमन्त्रीहरुको सुझाव थियो ।

राष्ट्रपति भण्डारीले विश्वको भूराजनीतिक मामिलामा आइरहेको परिवर्तनबारे चासो साथ सुन्दै नेपालले कस्तो भूमिका खेल्नु पर्छ भन्ने जिज्ञासा राखेकी थिइन् । राष्ट्रपतिले अमेरिका–चीनको टकरावका साथै अन्य भूराजनीतिक उतारचढाब बारेमा खुलेर प्रश्न गरेका थिइन् ।

रुस–युक्रेन संकट, त्यसपछि ताइवान मामिलालाई लिएर अमेरिका र चीन बीचको तनाव र अन्य भूराजनीतिक घटनाक्रमले अबको संकट के हुन्छ भन्ने चासो बढिरहेको छ । राष्ट्रपतिलाई पूर्वपरराष्ट्रमन्त्रीहरुले पनि आ–आफ्ना धारणा खुलेर राखेका थिए ।

छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री लोहनीले विश्वमा दोस्रो शीतयुद्ध आइरहेको बेला नेपालमा महाशक्ति मुलुकहरु भारत, चीन र अमेरिकाको चासो बढेको उल्लेख गरेका थिए । ‘महाशक्ति राष्ट्रहरुको नेपालको परराष्ट्र नीतिमाथि विश्वास कम भइरहेको छ । त्यसलाई सुधार गर्नुपर्छ । नेपालले आफ्नो देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वार्थलाई केन्द्रमा राखेर महाशक्ति राष्ट्रहरुलाई विश्वासमा लिन आवश्यक छ,’ लोहनीको सुझाव थियो ।

लोहनीले आफूले तीन ठूला शक्ति राष्ट्रहरुले नेपालको परराष्ट्र मामिलामा नीतिगत स्थायित्वमा कम विश्वास गर्दै आइरहेको पनि बताएका थिए । लोहनीले कान्तिपुरसँग भने,‘मैले नेपालको परराष्ट्र सम्बन्धमा नीतिगत स्थायित्व कमजोर भएको कारण खतरा भएको सुझाव दिए ।’

अर्का पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले देशलाई केन्द्रमा राखेर परराष्ट्र नीतिलाई सञ्चालन गर्नु पर्ने सुझाव दिएको बताए । ‘हाम्रो संस्थागत कमजोरी छ । त्यसलाई पार्टी विशेषभन्दा पनि संस्थागतरुपमा सुधार गर्न आवश्यक छ,’ राष्ट्रपतिलाई आफूले दिएको सुझावबारे महतले भने,‘देशको आवश्यकता र स्वार्थलाई केन्द्रविन्दुमा राखेर हामीले परराष्ट्र नीतिलाई सञ्चालन गर्नु पर्छ । एकले अर्कालाई दोष दिनेभन्दा पनि परराष्ट्र मामिलामा समान धारणा हुनु पर्छ ।’

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले राष्ट्रपतिले विभिन्न समयमा देशका प्रबुद्ध व्यक्ति र सम्बन्धित क्षेत्रका बुद्धिजीवी तथा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरुसँग छलफल गर्दै आएको र यो पनि त्यसैको निरन्तरता भएको बताए ।

राष्ट्रपति भण्डारीले दिउँसो ३ देखि ५ बजेसम्म २ घण्टा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेकी थिइन् ।

प्रकाशित : श्रावण २२, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?