२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

०७४ को समीकरण उल्टिँदा दबाबमा एमाले

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलले गठबन्धन गरेर जाने निर्णय गरेसँगै संसद्को ठूलो दल एमाले दबाबमा, अर्कोतिर कांग्रेसबाट धोका हुन सक्ने आकलनसहित गठबन्धनमै रहेका चार दल पनि छुट्टै वाम–समाजवादी मोर्चाको गृहकार्यमा
बबिता शर्मा

काठमाडौँ — संविधान जारीपछि पहिलो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बनेको चुनावी गठबन्धन दोस्रो निर्वाचनमा पूर्णरूपमा उल्टिएको छ । ०७४ मा एमाले नेतृत्वमा कांग्रेसविरुद्ध वाम गठबन्धन बने पनि दोस्रो निर्वाचनमा कांग्रेस नेतृत्वमा एमालेविरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनेको छ । 

०७४ को समीकरण उल्टिँदा दबाबमा एमाले

पाँच दलले गठबन्धन गरेर जाने निर्णय गरेसँगै संसद्को ठूलो दल एमाले दबाबमा परेको छ । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा आंशिकबाहेक एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । अहिले एमालेका विकल्प साँघुरा भएका छन् । सरकारबाहिर रहेका राप्रपा र लोसपासँग गठबन्धन गर्ने विकल्प बाँकी छ तर एमाले नेताहरू एक्लै चुनाव लड्ने बताइरहेका छन् ।

चुनावी समीकरण उल्टिँदा ०७४ को तुलनामा शक्ति सन्तुलनमा के फेरबदल होला भन्ने राजनीतिक वृत्तमा प्रश्न र चासो छ । फरक राजनीतिक–वैचारिक पृष्ठभूमिका दलबीच तालमेल, पाँचदलीय गठबन्धनभित्र पनि कांग्रेसबाहेक चार दलको उपगठबन्धन बनाउने प्रयास, दलहरूका आन्तरिक असन्तुष्टि, सीमित सिटमै खुम्चिनुपर्ने बाध्यता, गत वैशाखको स्थानीय निर्वाचनमा तालमेलमै देखिएका समस्या र संगठनात्मक रूपमा बलियो विपक्षीका कारण गठबन्धनलाई आगामी चुनाव अपेक्षा गरेजस्तो हुन नसक्ने विश्लेषकको ठम्याइ छ । दलका नेता भने अनुकूलता हुने दाबी गर्छन् ।

‘०७४ को एमाले–माओवादी गठबन्धन र अहिलेको गठबन्धन फरक हो, अहिले पाँच दलले गठबन्धन गर्ने भने पनि भोलि चुनाव लड्दा देशभरिमा कति ठाउँमा अन्तर्घात हुन्छ, कसले कसलाई हराउने, जिताउने भन्ने हुन्छ, यस्तो स्थानीय तहको निर्वाचनमा पनि भयो,’ राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले भने, ‘तर पनि एउटा पार्टी एकातिर र पाँच पार्टी अर्कोतिर हुँदा स्वाभाविक रूपमा शक्ति सन्तुलनमा फरक पर्ने भइहाल्यो । त्यसकारण अहिले एमालेलाई अलि अप्ठ्यारो पर्ला ।’

पाँचदलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ । बैठकपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा ‘पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको’ उल्लेख छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा पाँच दलबीच तालमेल हुँदा एमालेको ०७४ को शक्ति क्षयीकरण हुनेछ तर पाँच दलबीचको तालमेल पनि त्यति सहज हुने छैन । ‘अहिले एमालेविरुद्ध मोर्चाबन्दी अगाडि आयो, यसले एमालेको हिजोको शक्ति क्षय हुने देखियो,’ आचार्यले भने, ‘यद्यपि ०७४ मा विचारधाराको पनि गठबन्धन थियो, अहिले फरक विचारधारा भएकाहरूका बीचमा गठबन्धन भएको छ । त्यसकारण यसको सफलतालाई लिएर शंका गर्ने ठाउँ प्रशस्तै छ । अहिले शेरबहादुर देउवा, उहाँका एक–दुई जना मान्छे र प्रचण्डको गठजोडजस्तो छ, गठबन्धनजस्तो छैन । यसको उद्देश्य सत्ता निर्माण गर्ने र ओलीलाई एक्ल्याउने भन्ने छ ।’

अहिले नेपालको कम्युनिस्ट आन्दोलन विभाजित भएको र यही गठबन्धनकै कारण कांग्रेसमा पनि विभाजनको सम्भावना रहेको आचार्य बताउँछन् । ‘त्यसले चुनावपछिको शक्ति सन्तुलन हेरफेर हुन सक्छ, भोलिको दिनमा निश्चित रूपमा नेपाली कांग्रेसभित्र विस्फोट आउँछ, उम्मेदवारी स्वीकार नगर्ने ठूलो समूह देखापर्छ, बागी–विद्रोही अगाडि आउँछन् र यो गठबन्धनलाई चुनौती दिन्छन्,’ उनले भने, ‘यसले कांग्रेसको आन्तरिक जीवनमा पनि विभाजन र ठूलो चुनौती आउने सम्भावना छ । त्यसकारण गठबन्धन धेरै सहज छैन ।’

गठबन्धनका नेता भने पूर्ण वा आंशिक तालमेल र आपसी विश्वासमा नतिजा भर पर्ने बताउँछन् । ‘नतिजा कहिल्यै पनि अनुमान गरेजस्तो हुँदैन, स्वभावैले ०७४ को भन्दा अहिले परिणाम फरक हुन सक्ला,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘दुई विपरीत विचार बोकेका पार्टीहरूको प्रतिबद्ध खालको मत ट्रान्सफर हुन्छ कि हुँदैन भन्ने अनुमान गर्न सकिन्छ तर आधारभूत रूपमा त्यसले परिणामलाई त्यति क्षति नगर्ला ।’

चुनावी परिणामअनुकूल बनाउन गठबन्धनका दलहरू गृहकार्यमा लागिसकेका छन् । सिट बाँडफाँटका लागि शीर्ष नेताहरूले गठबन्धनमा आबद्ध दलका प्रतिनिधि रहेको ९ सदस्यीय कार्यदलसमेत बनाएका छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादीबाट अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र वर्षमान पुन छन् । जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, एकीकृत समाजवादीबाट महासचिव भुसाल र उपाध्यक्ष प्रमेश हमाल छन् । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य छन् ।

गत वैशाखमा मुख्यतः पाँचदलीय गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धाले ०७४ को स्थानीय निर्वाचनको शक्ति सन्तुलनमा फेरबदल आएको छ । सोही कारण गठबन्धनका नेताहरू प्रदेश र संघीय निर्वाचनमा पनि यस्तै नतिजाको अपेक्षामा छन् । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा एकै चरणमा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन् । ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्ने सहमति भइसकेको छैन । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने बताएका छन् । ०७४ को र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँटको मुख्य आधार हुन सक्ने नेताहरूको बुझाइ छ ।

०७४ मा एमाले र माओवादीबीच ६०–४० का आधारमा सिट भागबन्डा भएको थियो । प्रतिनिधिसभाका १ सय ६५ प्रत्यक्षतर्फको सिटमा एमाले ८०, कांग्रेस २३, माओवादी ३६, राजपा ११, संघीय समाजवादी फोरम १०, नयाँ शक्ति, नेमकिपा, राप्रपा र जनमोर्चा १–१ तथा स्वतन्त्र १ विजयी भएका थिए । समानुपातिक १ सय १० सिटमा एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा ६ र संघीय समाजवादी फोरमले ६ सिट पाएका थिए । समानुपातिकसमेत गरी एमाले १ सय २१ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको थियो ।

०७९ को स्थानीय निर्वाचनमा भने समीकरण बदलिएपछि एमाले दोस्रो शक्ति भएको छ, कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ३ सय २९ र एमालेले २ सय ६ पालिका प्रमुख जितेका छन् । त्यसैगरी माओवादीले १ सय २१, जसपाले ३० र एकीकृत समाजवादीले २० पालिका प्रमुख जितेका छन् ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न पार्टी सक्षम रहेको दाबी गर्छन् । ‘परिस्थिति कसरी विकास हुन्छ, त्यो हेर्दै जाऊँ, अहिले हामीले गरेको तयारी भनेको एक्लै प्रतिस्पर्धाको हो,’ गुरुङले भने ।

राजनीतिशास्त्री बराल पाँचदलीय गठबन्धन बन्ने भएपछि एमाले अध्यक्ष ओली दबाबमा परेको बताउँछन् । दबाबकै कारण ओलीले चुनावी मुद्दा खोज्न थालेको बरालको बुझाइ छ । ‘ओलीले चुनावी एजेन्डा खोज्दै छन्, कहिले धर्मको कुरा उठाउँछन्, कहिले पशुपतिनाथमा दर्शन गर्न जान्छन्, कहिले चुच्चे नक्सा जारी गरेको हुँदा भारतले मलाई प्रधानमन्त्रीबाट हटायो भन्छन्, यी सबै लक्षणले हतोत्साहित भएजस्तो देखिन्छ,’ बरालले भने ।

असार १९ को केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी अन्तरपार्टी निर्देशन–४ मा अध्यक्ष ओलीले आसन्न निर्वाचनमा बहुमतलाई गन्तव्य मान्दै त्यसलाई हासिल गर्ने गरी राजनीतिक ध्रुवीकरणमा जोड दिएका थिए तर ध्रुवीकरणको प्रक्रियामा पनि एमाले सफल हुने देखिएको छैन । एमालेले सत्ताबाहिर रहेका स–साना दलसँग चुनावी तालमेल गर्न सक्ने सम्भावना भने छ । एमाले प्रचार विभाग प्रमुख गुरुङका अनुसार अन्य दलसँग पनि अनौपचारिक रूपमा कुराकानी भइरहेका छन् ।

उता, शुक्रबार बिहान बालुवाटारमा सत्तारूढ पाँच दलको बैठक बसेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि साँझ कांग्रेसबाहेक चार दलका शीर्ष नेतासहितको छुट्टै बैठक बस्यो । बैठकको एजेन्डा थियो– वाम–समाजवादी मोर्चा निर्माण । बैठकमा माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता सहभागी थिए ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार चार पार्टीको बीचमा मोर्चा बनाएर जाने र त्यसका लागि मोडालिटी तयार गर्ने सहमति भएको छ । ‘एक किसिमले चार दलबीच मोर्चा बन्ने पक्कापक्की जस्तै हो, मोडालिटी बनाएपछि छलफल गर्ने र अन्तिम निर्णय गर्ने सहमति छ,’ ज्वालाले भने ।

उनका अनुसार पाँच दलको गठबन्धनभित्रै बन्ने वाम–समाजवादी मोर्चा चुनावकेन्द्रित मात्रै छैन, अन्य वाम–समाजवादी शक्तिलाई एकीकृत पनि गर्नेछ । ‘पाँच दलबीच चुनावी तालमेलको आधार र सिट बाँडफाँट गर्ने कामको निम्ति कार्यदल बनेको छ । त्यो कार्यदलले आफ्नो काम गर्छ । यता चार दलको बीचमा मोर्चा बनाउने काम हुन्छ । यो मोर्चा बनाउने कुराले कांग्रेससँगको गठबन्धनलाई मद्दत गर्छ । यसले वाम–समाजवादी शक्तिलाई एकीकृत गर्ने मोर्चा बलियो बनाउने काम पनि गर्छ ।’ ज्वालाका अनुसार यसमा कांग्रेस पनि सकारात्मक छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबारमात्रै पाँचदलीय गठबन्धन कायम रहने र त्यसभित्र तेस्रो शक्ति बनाउन पनि पार्टीहरू एकजुट भइरहेको उल्लेख गरेका थिए । नेपालले कांग्रेसलाई दबाबमा राख्न यस्तो मोर्चा आवश्यक रहेको संकेत गरेका थिए । ‘गठबन्धन गरेर जाने निर्णय त हुन्छ तर अन्तिम बेलामा यति लिने भए लेऊ, नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने ?’ नेपालले भने, ‘त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो । शक्ति निर्माण गरेर अगाडि बढ्दा सम्भावना निकै राम्रो देखेको छु ।’

माओवादीका एक नेताका अनुसार मोर्चामा सहभागी दलका तर्फबाट ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी भएको छ । कांग्रेस सहमत नभए देशभर वाममोर्चाबाट उम्मेदवार उठाउने र एमालेलाई हराउन मत नपुग्ने क्षेत्रमा मात्रै कांग्रेससँग तालमेल गरेर अगाडि बढ्ने छलफल भएको छ । ‘एमाले बलियो भएको ठाउँमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार उठाउने, केही ठाउँमा कांग्रेसविरुद्ध चारदलीय मोर्चाका उम्मेदवार पनि हुन सक्छन्, त्यस्तो अवस्थामा मित्रवत् प्रतिस्पर्धा हुन्छ,’ माओवादीका ती नेताले भने ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?