प्रधानमन्त्रीनिकट चिकित्सकको स्वार्थमा स्वास्थ्यमन्त्रीले बढाए उमेर हद

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद ६० बाट बढाएर ६३ वर्ष, विरोधमा हडताल गर्ने कर्मचारीको चेतावनी
प्रशान्त माली

काठमाडौँ — स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले एक चिकित्सकको स्वार्थका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अवकाशको उमेर हद बढाउने निर्णय गरेका छन् । मन्त्री खापुङको अध्यक्षतामा शनिबार बसेको सञ्चालक समितिको बैठकले अस्पताललाई पर्न सक्ने आर्थिक भारलाई बेवास्ता गर्दै अवकाशको उमेर हद ६३ वर्ष पुर्‍याउने निर्णय गरेको हो । 

प्रधानमन्त्रीनिकट चिकित्सकको स्वार्थमा स्वास्थ्यमन्त्रीले बढाए उमेर हद

अस्पताल प्रशासन, आर्थिक महाशाखा, नर्सिङ विभाग, वरिष्ठ कन्सल्ट्यान्ट, कार्डियोलोजिस्ट तथा विभागीय प्रमुखहरूले दुई साताअघि क्लिनिकल अभ्यासका लागि अवकाशको उमेर हद ६० वर्ष नै उपयुक्त हुने राय दिएका थिए । प्रतिष्ठान भएको खण्डमा मात्र विशेषज्ञ, दक्ष प्राध्यापक जनशक्तिको हकमा उमेर हद ६३ वा ६५ गराउन सकिने नत्र अस्पताललाई आर्थिक भार परी उपचार महँगो पर्ने उनीहरूको निष्कर्ष थियो । मुटुको रोगसम्बन्धी स्वायत्त शैक्षिक प्रतिष्ठानका रूपमा विकसित नभईकन उमेर हद मात्र बढाए अस्पतालमा कार्यरत युवा चिकित्सकको समयमा पद बढुवा नहुने र यसले मनोबल गिर्नुका साथै काममा निरुत्साहित हुने वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट तथा विभागीय प्रमुख डा. सुजीव राजभण्डारीले बताए ।

गंगालालका कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ मा कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । नियमावलीको त्यही व्यवस्था संशोधन गर्ने निर्णय शनिबार भएको हो । अस्पतालका कार्डियोलोजिस्ट डा. रवि मल्ल सोमबार ६० वर्ष पुग्दै छन् । हालको व्यवस्थाअनुसार उनी उमेर हदका कारण स्वतः अवकाशमा जानुपर्ने हुन्छ । तर, मन्त्री खापुङले मल्लकै लागि अवकाशको उमेर हद बढाउन विशेष जोडबल लगाएर निर्णय गराएको स्रोतको भनाइ छ । अस्पतालको सञ्चालक समिति अध्यक्ष स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

अवकाशपछि अस्पतालका कार्यकारी निर्देशकले करारमा नियुक्त गर्न सक्ने प्रावधान छ । करारमा काम गर्नुपरे सेवा सुविधा, पदलगायतमा कमी हुने भएकाले डा. मल्लको स्वार्थ पूरा गर्न प्रधानमन्त्रीको ठाडो आदेशमा मन्त्री खापुङले उमेर हद बढाउने निर्णय गरेको स्रोतको भनाइ छ । डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिन्छन् । कार्डियोलोजिस्टहरूको अवकाशको उमेर हद बढाउन अर्का डा. अरुण मास्के पनि सक्रिय रहेको अस्पताल स्रोत बताउँछ ।

मन्त्री खापुङले भने सबैको रायसुझावकै आधारमा विशेषज्ञ चिकित्सकहरूको उमेर हद बढाउने निर्णय गरेको दाबी गरे । ‘सरकारलाई आर्थिक भार नपर्ने गरी अस्पतालको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने कुरा भएको छ,’ उनले भने, ‘प्रतिष्ठान बनाउने कुरा पनि आएको छ । चित्त नबुझ्नेहरूको कुरा सुन्न कार्यदल पनि गठन गरेका छौं ।’ अस्पताललाई प्रतिष्ठान बनाउन पटकपटक समिति बने पनि कामले पूर्णता पाउन सकेको थिएन । अहिले मन्त्री खापुङ प्रतिष्ठान बनाउनेतर्फ भन्दा पनि व्यक्तिविशेषलाई फाइदा पुर्‍याउनतर्फ लागेको आरोप छ ।

अस्पताल कर्मचारी संघले भने निर्णय नसच्याए आइतबारबाट हडताल गर्ने चेतावनी दिएको छ । संघका सचिव विकास खनियाले निर्णयबारे आधिकारिक जानकारी आइसकेपछि संघमा छलफल गरी संघर्षका कार्यक्रम घोषणा गर्ने बताए । ‘बोर्डमा संघका प्रतिनिधि छैनन् । अहिले निर्णय आइनसकेकाले ठोस यही गर्छु भन्न सकिन्न,’ उनले भने । राय/सुझावसहित प्रतिवेदन पेस गर्ने समिति संयोजक विजय राईले भने केही प्रतिक्रिया दिन चाहेनन् । ‘बैठकको निर्णयबारे ७२ घण्टासम्म नबोल्न आदेश छ,’ उनले भने ।

अस्पतालमा मुटुको शल्यचिकित्सक १२ जना र मुटु जाँच गर्ने कार्डियोलोजिस्ट २५ जना छन् । हाल अस्पतालले आर्थिक अभावलगायतका कारण ६ सय ८ दरबन्दीमध्ये रिक्त १ सय ५ पद पूर्ति गर्न सकेको छैन । यहाँ ३ सय ११ जना करारमा कार्यरत छन् । सर्जरी, कार्डियोलोजी, नर्सिङ, प्याथोलोजीलगायत प्रमुख प्राविधिक पदपूर्ति नहुँदा सेवा प्रवाहमा असर पर्ने गरेको महालेखाले समेत औंलाएको थियो । अस्पतालमा दुई सातादेखि ‘अक्सिजेनेटर’ अभावका कारण रोकिएको शल्यक्रिया अझै सुरु हुन सकेको छैन । उक्त मेसिन आउने टुंगो पनि छैन । जसका कारण आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई औषधिको भरमा घर पठाउने गरिएको छ । अस्पतालमा दैनिक ७/८ जनाको शल्यक्रिया हुने गरेको थियो ।

प्रकाशित : श्रावण २२, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?