चिकित्सा क्षेत्रमा ‘नग्न नृत्य’ : डा. केसी- समाचार - कान्तिपुर समाचार

चिकित्सा क्षेत्रमा ‘नग्न नृत्य’ : डा. केसी

भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने
कान्तिपुर संवाददाता

सुनसरी — चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले जनताको स्वास्थ्य अधिकारप्रति राजनीतिक दल र सरकार निरन्तर असंवेदनशील हुँदै आपराधिक काम मात्र गरेको आरोप लगाएका छन् । शनिबार धरान आइपुगेका उनले आफूहरूसँग पटक–पटक गरेको सम्झौतालाई सरकारले पूर्ण रूपमा कार्यान्वयन नगरेकाले आउँदो भदौ १२ देखि २० औं पटक सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन् ।

धरानमा शनिबार सञ्चारकर्मीसँग धारणा राख्ने क्रममा प्रा.डा. गोविन्द केसी । तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

६ बुँदे माग राख्ने क्रममा सरकारले स्वास्थ्य क्षेत्रमा आपराधिक काम गरेको आरोप उनले लगाए । उनले भने, ‘धैर्य गरेर पर्खियौं, ५ वर्ष बित्यो तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा गरेनन् ।’

कार्यकर्ता भर्ती गराउन भागबन्डा गरेर सार्वजनिक संस्थानका सम्पत्ति दोहन गर्ने, दोहन गरेको कालोधनको बलमा चुनाव जित्ने र फेरि उही लुटतन्त्र दोहोर्‍याउने प्रयत्नमा दलहरू तल्लीन रहेको उनले आरोप लगाए । उनले भने, ‘नागरिकको स्वास्थ्य अधिकार संविधानमा सुरक्षित हुँदाहुँदै पनि नेताहरूले लुटिखाने धन्दा मात्र बनाए ।’

उनले नेपालका शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार तथा दलका नेता–मन्त्रीहरूले ‘नग्न नृत्य’ प्रदर्शन गरिरहेको आरोप लगाए । संविधानमा जिल्ला अस्पतालमा ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५० र स्वास्थ्य चौकीमा ३५ प्रकारका विभिन्न औषधि निःशुल्क दिने भने पनि सर्वसाधारणले पाउन नसकेको र एक्सरे, रगत जाँज निःशुल्क जाँच गर्ने व्यवस्था भए पनि निजी अस्पतालले लिने शुल्क जति नै लिएर मात्र गर्ने बेथिति ७७ वटै जिल्लामा रहेको पनि बताए ।

प्रकाशित : श्रावण २१, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

कोसीमा पानीको बहाव घट्दै, ३३ ढोका खुला [अपडेट]

अवधेशकुमार झा

राजविराज — कोसी नदीमा पानीको बहाव केही घटेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार शनिबार साँझ ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २९ हजार ५५ क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । यो मापनपछि ब्यारेजका ३३ वटा ढोका खुल्ला छ । 

कोसीले कटान गरेको सप्तरीको हनुमाननगर कंकालिनी–१३ गोबरगाढास्थित बस्ती । तस्बिर : अवधेश/कान्तिपुर

यसअघि साँझ ७ बजेको मापनमा २ लाख ३१ हजार ९ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको थियो । त्यतिबेला ३४ वटा ढोका खोलिएको थियो ।

...........

सप्तकोसी नदीमा पानीको बहाव झन् बढ्दै गइरहेको छ । शनिबार साँझ ६ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख ३१ हृजार ९ सय २० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड र मध्याह्न १२ बजे २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको थियो । यसै साता कोसीको बहाव २ लाख ४३ हजार क्युसेकसम्म पुगेको थियो । पानीको बहाव बढेसँगै ५६ मध्ये अहिले ३४ ढोका खुला गरिएको छ ।

सन् १९६२ मा कोसी ब्यारेज निर्माण सम्पन्न भएपछि हालसम्म सबभन्दा बढी पानीको बहाव सन् १९६८ को ५ अक्टुबारका दिन भएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । नियन्त्रण कक्षका भारतीय अधिकारीहरुका अनुसार सो दिन कोसी ब्यारेज भएर ७ लाख ८८ हजार २ सय क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भएको थियो । त्यो दिन ब्यारेजभन्दा माथि चतरामा भने ९ लाख १३ हजार क्युसेक बहाव मापन गरिएको थियो ।

कोसी ब्यारेज निर्माणपछि यसको क्षमता साढे ९ लाख क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव हुन सक्ने भनिएको थियो । तर नदीमा बालुवा थुप्रिएकाले पूर्ण क्षमतामा ब्यारेज पानीको बहाव हुन सक्ने अवस्था नरहेको प्राविधिकहरुले बताउँदै आएका छन् । विज्ञहरुका अनुसार कोसीमा अत्यधिक पानीको बहाव हुनेबित्तिकै तटबन्ध होचो रहेको स्थानमा ओभरफलो हुने खतरा हुने गरेको छ भने अत्यधिक बहाव पनि बहाव घटदै गए कटान तीव्र हुने गरेको छ ।

सन् १९८७ को ११ अगस्टका दिन कोसी ब्यारेज हुँदै ५ लाख २३ हजार ७ सय ७१ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भएको थियो । यस्तै सन् १९८४ को १७ सेप्टेम्बरमा ५ लाख १ हजार ७ सय ८७ क्युसेक पानीको बहाव भएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

नियन्त्रण कक्षका अधिकारीहरुका अनुसार गत वर्ष अगस्टमै कोसी ब्यारेज हुँदै २ लाख ७४ हजार क्युसेक पानीको बहाव भएको थियो ।

तटिय क्षेत्रमा सतर्क रहन समेत आग्रह गरिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७९ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×