१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् : केपी ओली

'अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । '
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरूलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाएका छन् । त्यस्ताबाट सतर्क रहन पनि उनले सबैलाई आग्रह गरे ।

फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् : केपी ओली

ओलीले पार्टीबिना नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले स्वतन्त्रहरूले देश चलाउन नसक्ने दाबीसमेत गरे ।

ओलीले भनेका छन्, ‘बेलायतमा पार्टी चाहिन्छ । फ्रान्समा चाहिन्छ, चीनमा चाहिन्छ । जापानमा चाहिन्छ, भारतमा चाहिन्छ । पाकिस्तानमा पार्टी चाहिन्छ । जहाँ पनि पार्टी चाहिन्छ देश चलाउनका लागि । यहाँ चाहिँ फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाएका छन् । एकाध रुपमा अपवादको रुपमा आउनु एउटा कुरा होला । स्वतन्त्रले मेचीको जनताको भावना, महाकालीका जनताको भावना र आवश्यकता, राष्ट्रिय विचार, राष्ट्रियभाव, राष्ट्रको विकासको अभियान चलाउन सक्छ ? अब एउटा पत्रकार नचाहिने नचाहिने काम गर्‍यो अनि, एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुँदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरूलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने तरिका हो, देश बिगार्ने भँडुवाहरूको तरिका हो । यसबाट सतर्क हुनुपर्छ । ’

यस क्रममा नेता ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिँदै उनीहरूको पछाडि नलाग्न ओलीले आग्रह गरेका थिए ।

'कांग्रेसको बिँड हेर्नुस् त कस्ता छन् ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन् । के–के नामका छन् ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दै सक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिँड नभई हाम्रो पार्टीमा आउन आग्रह गर्दछु । कांग्रेसको बिँड भएर कम्युनिस्ट आन्दोलनलाई ढाल्दै जाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस् । वामपन्थी आन्दोलन सफल पारौं,’ अध्यक्ष ओलीले भने ।

दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्न कांग्रेसको बिँड बनेको अध्यक्ष ओलीले आरोप लगाएका थिए । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस क्रममा उनले २३ सिटमा खुम्चिएको कांग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था हुँदा हुँदै दाहाल–नेपालले मुलुकबाट वामपन्थी शक्ति सिध्याउने गरी कांग्रेसलाई साथ दिएको ओलीले जिकीर गरे ।

ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहोर्‍याएका थिए । मुलुकको शान्ति, समृद्धि र विकास आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्दै उनले त्यसका लागि निर्वाचनमा बहुमत ल्याउने गरी चुनावको तयारी गर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराएका थिए ।

प्रकाशित : श्रावण २१, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?