कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिलो पुस्ताका नेताको बहिर्गमन र नयाँ पुस्ताको दाबी स्वभाविक : गगन थापा 

‘नेतृत्व लिनेबारे पार्टीभित्र एकतहसम्म छलफल पनि गरिसकेको छु ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पहिलो पुस्ताका नेतालाई राजनीतिबाट सम्मानजनक बहिर्गमन गराएर पछिल्लो पुस्ताले नेतृत्वमा दाबी गर्नु स्वभाविक रहेको बताएका छन् । आगामी निर्वाचन पछि नेपाली कांग्रेस सरकारमा रहेको अवस्थामा आफूले त्यसको नेतृत्व लिनेबारे पार्टीभित्र छलफल चलाइरहेको पनि उनले बताए । 

पहिलो पुस्ताका नेताको बहिर्गमन र नयाँ पुस्ताको दाबी स्वभाविक : गगन थापा 

इकोनोमिक डिस्कसन फोरमले शनीबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको आर्थिक भविष्य र समुन्नत नेपालको खाका’ विषयक कार्यक्रममा बोल्दै थापाले आफुले प्रतिनिधि सभा सदस्य र मन्त्रीका रुपमा अनुभव लिइसकेकाले सरकारको नै नेतृत्व लिन चाहेको बताए ।

‘मैले प्रतिनिधि सभा सदस्य र मन्त्रीका रुपमा अनुभव लिए । यो अनुभवले मलाई नेतृत्व लिन सघाउँछ भन्ने लागेको छ,’ थापाले भने, ‘ अब पहिलो तहका नेतालाई सम्मानजनक बहिर्गमन खोज्नुपर्छ भनेर पार्टीभित्र बहस पनि सुरु भएको छ । पछिल्लो पुस्ताले नेतृत्व लिनेबारे पार्टीभित्र एकतहसम्म छलफल पनि गरिसकेको छु ।’

आफूले मात्र नभई दोस्रो पुस्ताका जुनसुकै नेताले नेतृत्व लिन चाहेको खण्डमा त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ । ‘हामी बीचमै पनि प्रतिस्पर्धा हुनसक्ने अवस्था रहला । तर दोस्रो पुस्तालाई नेतृत्व दिलाउन प्रयास गर्छु,’ उनले भने ।

नेपालमा राजनीतिक दलको सदस्यता प्रणाली ठिक नरहेका कारण क्षमता भएका व्यक्तिहरु पनि नेतृत्व तहसम्म पुग्न नसकेको पनि थापाले बताए । ‘बाहिर अलोकप्रिय देखिएको मान्छे दलभित्र शक्तिशाली हुनुको कारण भनेको हामीले अपनाएको सदस्यता प्रणाली हो,’ उनले भने, ‘विगतमा पार्टी खुल्ला गर्नुहुन्न र जोसुकैलाई सदस्यता दिन हुन्न भन्ने मानसिकता थियो । जसकारण सीमित व्यक्ति र एउटै अनुहार दलभित्र हाबी भइरहे । अब पार्टीको सदस्यता सबैका लागि खुल्ला गरिनपर्छ ।’

वर्तमान राजनीतिक व्यवस्थाभित्र चुनाव जित्ने मानसकिता हाबी रहेको तर सरकार सञ्चालन र नेतृत्वको स्पष्ट कार्यदिशाको अभाव रहेको पनि उनले बताए । ‘सरकार चलाउन सबैभन्दा ठूलो तयारी चाहिन्छ । तर हामीले त्यहि तयारी गरिरहेका हुँदैनौं । दलले निर्वाचन जितिसकेपछि के गर्ने भन्ने कार्ययोजना नै बताउँदैनन्, जित्ने कसरी भन्ने मात्रै भयो,’ थापाले भने ।

नेपालले पछिल्लो तीन दशकयता उदारवाद र खुला बजार अर्थतन्त्र अंगालिरहेकोमा त्यसलाई थप परिस्कृत र समय सापेक्ष बनाउन नीतिगत सुधारका लागि आफूले काम गरिरहेको पनि थापाको भनाइ छ । ‘निकै कम समय र स्रोतबाट हामीले उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । आर्थिक नीति परिवर्तनका लागि टीमले काम गरिरहेको छ । केही बोल्ड रिफर्मको तयारी गरिरहेका छौं ।’

प्रकाशित : श्रावण २१, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?