मोङ्ला र चितगाउँ बन्दरगाह प्रयोग गर्न बंगलादेशी प्रधानमन्त्री हसिनाको प्रस्ताव- समाचार - कान्तिपुर समाचार

मोङ्ला र चितगाउँ बन्दरगाह प्रयोग गर्न बंगलादेशी प्रधानमन्त्री हसिनाको प्रस्ताव

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नेपाली सासदहरूको टोली बंगलादेश भ्रमणमा छ
कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई सैयदपुर विमानस्थलसहित मोङ्ला र चितगाउँ बन्दरगाहलाई पनि आपसी लाभका लागि प्रयोग गर्न फेरि प्रस्ताव गरेकी छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा बंगलादेश भ्रमणमा रहेको नेपाली सासदहरूको टोलीसँग ढाकास्थित आफ्नै कार्यालयमा भेटवार्ता गर्ने क्रममा प्रधानमन्त्री हसिनाले उक्त कुरा बताएकी हुन् ।

नेपालको सांसदहरूको टोलीसँग शुक्रबार बिहान भेटवार्ता गर्दै राष्ट्रपति हसिनाले भनिन्, ‘हाम्रो मोङ्ला र चितगाउँ बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ ।’

बंगलादेशको प्रधानमन्त्री कार्यालयको प्रेस शाखाका अनुसार बंगलादेशको सैयदपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिरहेको हसिनाले बताइन् । ‘नेपाललगायत छिमेकी मुलुकले विमानस्थल प्रयोग गर्न सक्छन्,’ उनले भनिन् । प्रेस शाखाका अनुसार भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी हितका लागि व्यापार तथा व्यापारमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन इच्छुक रहेको प्रधानमन्त्री हसिनाले बताएकी थिइन् ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार उक्त भेटवार्ताका ऊर्जा, व्यापार, शिक्षा र पर्यटनमा केन्द्रित रहेर नेपाल–बंगलादेश सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख छ । बंगलादेशले नेपाललाई यसअघि पनि उक्त दुई बन्दरगाह प्रयोग गर्नको लागि प्रस्ताव गरेको थियो ।

तर नेपाल र बंगलादेश बीचमा भारतीय भूमि भएकोले भारतको पनि सहकार्यमा नेपालले ती बन्दरगाहलाई प्रयोग गर्न सक्छ ।

हसिनाको प्रेस शाखाका अनुसार उक्त भेटवार्तामा नेपाली टोलीले नेपाल र बंगलादेशबीच वर्षौंदेखि सुमधुर सम्बन्ध रहँदै आएकोमा सन्तोष व्यक्त गरेका थिए ।

नेपाली टोलीले दुई मुलुक बीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष मनाउनका लागि यो वर्ष दुवै देशका लागि निकै महत्त्वपूर्ण रहेको बताए ।

भ्रमण गएका नेपाली संसदीय टोलीमा सांसदहरू दीपकप्रकाश भट्ट, चन्दतारा कुमारी, देवप्रसाद तिमिल्सेना, लीलादेवी सिटौला, सांसद सरलाकुमारी यादव र नारदमुनि राणा छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

तल्लो लिखु जलविद्युत् आयोजना अन्तिम चरणमा

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप र ओखलढुंगाबीचको लिखु नदीमा निर्माणाधीन तल्लो लिखु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ ।

आयोजनाका वातावरणविद् रविन्द्र तिमल्सिनाका अनुसार तल्लो लिखु जलविद्युत् आयोजनाबाट २८ दशमलव १ मेघावाट विद्युत् उत्पादन हुनेछ । ‘हामी आउँदो दसैंसम्म आयोजनाको व्यावसायिक उत्पादनका लागि जुटेका छौं ,’ तिमल्सिनाले भने ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुको सिरीसेभन्दा केही उत्तरतर्फ लिखु खोलामा बाँध बाँधेर करिब ५ किलोमिटर सुरुङमार्गबाट बिजुलीकोटको रातामाटा बोक्सेमा निर्माण भएको उत्पादन गृहमा पानी खसालेर उक्त विद्युत् उत्पादन गर्न लागिएको हो । उत्पादन गृहमा २ वटा टर्बाइन जडान गरिएका छन् ।

तिमल्सिनाका अनुसार बोक्सेमा उत्पादन भएको विद्युत्‌लाई २३ किलोमिटर लामो सिंगल सर्किट १ सय ३२ केभी प्रसारण लाइनबाट रामेछापको देवीटारमा रहेको न्यू खिम्ती सब–स्टेसनमा पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । प्रसारण लाइनको काम समेत अन्तिम चरणमा पुगेको छ । झन्डै ८ सय मिटर तार टाँग्न बाँकी रहेको तिमल्सिनाले बताए ।

२०७४ बाट निर्माण कार्य थालिएको उक्त आयोजनाबाट कोरोनाका कारण उत्पादनमा केही समय ढिलाइ भएको छ । लक्ष्मी बैंक र अन्य बैंकको लगानी रहेको उक्त आयोजना निर्माणमा करिब ६ अर्ब ३७ करोड लगानी रहेको छ । आयोजनाको प्रवर्द्धक स्वेतगंगा हाईड्रोपावर हो ।

लिखु नदीमा केही महिनाअघि मात्र लिखु ४ जलविद्युत् आयोजनाले ५२ दशमलव ४ र लिखु ए जलविद्युत् आयोजनाले २९ मेघाबाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिसकेका छन् । लिखु एक र लिखु २ को कामसमेत तीव्र गतिमा भइरहेको छ । दुगड समूहको लगानीमा निर्माणाधीन उक्त दुई आयोजनाबाट १ सय ३२ मेघावाट विद्युत् उप्पादन हुने छ । लिखु नदीमा निर्माण भएका सबै विद्युत्‌को खरिद नेपाल विद्युत् प्राधिकरणले गर्ने गरी पीपीए भएको जनाइएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×