२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कम्युनिष्ट विचारधारा संसारभरि नै असफल भइसक्यो : प्रवक्ता महत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कम्युनिष्ट विचारधारा संसारभरि नै असफल भइसकेको बताएका छन् । उनले कम्युनिष्ट विचारधाराबाट कुनै पनि देशका नागरिकको समृद्धि स्थायी नभएको र अस्थिरता नै कम्युनिष्टहरूको पर्यायजस्तो बनेर रहेको बताए ।

कम्युनिष्ट विचारधारा संसारभरि नै असफल भइसक्यो : प्रवक्ता महत

शनिबार ललितलपुरमा वाग्मती प्रदेश कार्यसमितिले गरेको कार्यक्रममा बोल्दै प्रवक्ता महतले समाजवादी लोकतान्त्रिक विचारधाराबाट मात्रै आमनागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए ।

‘कम्युनिष्ट विचारधाराबाट, कम्युनिष्ट पद्धतिबाट हामीले देशको सर्वाङ्गीण विकास गर्न सक्दैनौँ, त्यो सम्भव छैन । हाम्रै देशमा ०७४ को निर्वाचनमा कम्युनिष्टले बहुमत पाएकै हुन्, आज देश यो हालतमा हुनुमा को दोषी छ ? सबैलाई बिदितै छ,’ उनले भने, ‘त्यसैले आगामी निर्वाचनबाट हामीले मुलुकलाई कतातिर लैजाने भन्ने निणर्य गर्नुपर्ने छ । आमनागरिकको जीवनस्तरमा सुधार ल्याउन, आर्थिक र सामाजिकरुपमा परिवर्तन ल्याउन नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य छ ।’

उनले सरकारले चुनावको मिति घोषणा गरिसकेकाले अब कांग्रेसजन्ले घर घर पुगेर जनतालाई मताधिकार प्रयोग गर्न उत्साहित गर्नुपर्ने बताए ।

‘पार्टीले निणर्य गरिसकेको छ । जनताको घरघरमा पुग्न पार्टीले देशव्यापी अभियान चलाउँदैछ,’ उनले भने, ‘हामी सकेसम्म बहुमत, नभए पनि फराकिलो अन्तरले ठूलो पार्टी बन्ने गरी चुनावमा होमिएका छौँ ।’

उनले आगामी पाँच वर्षसम्म मुलुकलाई कुन दिशामा मार्गदर्शन गर्ने भन्ने कुरा जनताले आगामी मंसिर ४ मा गर्नुपर्ने बताए । प्रवक्ता महतले अहिलेकै अवस्थामा कसैले पनि एकल बहुमत ल्याउने अवस्था नरहेकाले सत्तारुढ दलहरूबीच गठबन्धन भएको बताए ।

‘अहिलेकै अवस्थामा हाम्रो पार्टी एक्लैले बहुमत ल्याउने अवस्था छैन । हामीले गठबन्धन नगरे अरु दलहरूबीच गठबन्धन हुन्छ, त्यो विगतमै हामीले अनुभव गरिसकेका छौँ,’ उनले भने, ‘विगतबाट हामीले सिक्नुपर्छ भन्ने लाग्छ । त्यसैले विगतको तितो अनुभव नदोहोर्‍याउन अब ठीक निणर्य लिनु आवश्यक हुन्छ । त्यो निणर्य लिने बेला आएको छ ।’

प्रकाशित : श्रावण २१, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?