कान्तिपुरकर्मी गंगा बिसीलाई मातृशोक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी गंगा बिसीलाई मातृशोक

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी गंगा बिसीलाई मातृशोक परेको छ । कान्तिपुर दैनिकको राजनीतिक ब्युरो प्रमुख बिसीकी ७९ वर्षीया आमा मौरा बोहोराको शनिबार बिहान रुकुम पश्चिमको चौरजहारीस्थित घरमा निधन भएको हो ।

परिवारले बताए अनुसार बोहोरालाई दमको समस्या थियो । उनका तीन छोरा र तीन छोरी छन् ।


प्रकाशित : श्रावण २१, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लाका भनिने उत्पादन कहाँका हुन् ?

सरकारी निकायले बेच्ने जुम्लाका खाद्यवस्तुमा विश्वस्त हुन सकिए पनि अन्य पसलले बिक्री गरिरहेका अनाज असली हुन्/होइनन्, तथ्यांक कसैसँग छैन
सीमा तामाङ, डीबी बुढा

काठमाडौं, जुम्ला — काठमाडौं उपत्यकामा वर्षैभर जुम्लालगायत कर्णालीका स्थानीय खाद्य सामग्री पाइन्छन् । स्थानीय खाद्यान्न वा लोप हुन लागेको भन्दै संरक्षणका लागि बेचिने खाद्यान्न बाह्रै महिना काठमाडौं उपत्यकामा पाइने गरेका छन् । यी खाद्य सामग्री सम्बद्ध जिल्लाकै भएको भन्दै बिक्रेताहरू बेचिरहेका छन् । उनीहरूका अनुसार जुम्लालगायत जिल्लाका किसानले उत्पादन गरेका बाली काठमाडौं उपत्यकामा जुनसुकै मौसममा किन्न पाइन्छ ।

कर्णाली अर्ग्यानिक सप, हिमाली कृषि उद्योगलगायत विविध पसलदेखि अन्य खाद्यान्न पसल र अनलाइनबाट सजिलै किन्न पाइन्छ । प्याकेटमै जिल्लाको नाम र खाद्य सामग्री नाम लेखेर नै बेच्न राखिएको हुन्छ । वर्षमा एक पटक खाद्यान्न संकलन गरी ल्याई वर्षैभर बेच्ने गरिएको पसल सञ्चालकहरूको दाबी छ । तर के जुम्लाका उत्पादनले वर्षभर उपत्यकाका माग धानिरहेका छन् ?

जुम्लाको स्याउदेखि मार्सी चामल, सिमीलगायत विभिन्न वस्तु उपत्यकामा प्रख्यात छन् । काठमाडौं उपत्यकाका धेरैजसो रेस्टुराँदेखि ठूला होटलसम्मले जुम्लाको मार्सी चामलको भात, सिमीको दाल भनेर बेचिरहेका हुन्छन् । काठमाडौंका चोकचोकमा पाइने गरी जुम्लामा मार्सी चामल, स्याउ, सिमीलगायत वस्तु उत्पादन भएका छन् त ? के ती सबै जुम्लाकै रैथाने नै हुन् ?

आर्थिक वर्ष ०७६/७७ मा जुम्लामा ६ हजार टन धान उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा ६ हजार ३७७ टन उत्पादन भएको थियो । ती उत्पादन कति स्थानीय स्तरमा त कति जिल्ला बाहिर जान्छन् भन्ने तथ्यांक छैन । कृषि विकास कार्यालय जुम्लाले तयार पारेको प्रमुख निर्यातजन्य बाली तथ वस्तुको विवरणमा धान–चामल समावेश छैन । तर काठमाडौंमा भने बाह्रै महिना मार्सी चामल किन्न पाइन्छ । जुम्लाका किसानले प्रतिकिलो १५० रुपैयाँमा बेच्ने मार्सी चामल काठमाडौं उपत्यकामा दुई सयदेखि ३ सय रुपैयाँसम्म पर्छ । कच्चा पदार्थका रूपमा ल्याइएको धानलाई खानयोग्य चामल बनाई बेचिने मार्सी जुम्लाकै हो त ?

जुम्लाका मार्सी चामललगायत खाद्यवस्तु काठमाडौंका केही ठाउँमा मात्रै पाइने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए । ‘धेरै ठाउँमा जुम्लाको उत्पादन भनेर नक्कली सामग्री बेच्ने गरेको सुन्ने गरिएको छ । समयसमयमा यस्ता गुनासो आइरहेका छन्,’ उनले भने । काठमाडौंमा मार्सी चामललगायत धेरै वस्तुको माग बढेकाले जुम्लाको मात्र उत्पादनले काठमाडौंको वर्षभरको माग धान्न नसक्ने उनको भनाइ छ । ‘मार्सी चामलले समेत शून्य दशमलव ५ प्रतिशत पनि माग धान्दैन,’ उनले भने । त्यसैले काठमाडौंमा वर्षभर बेचिने जुम्लाको मार्सी चामल नक्कली पनि हुन सक्ने उनले बताए ।

जिल्ला बाहिर पठाइने बाली तथा वस्तु ५ प्रकारका रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी जौ, स्याउ, आलु र प्याजपछि सिमी बाहिरी जिल्लामा जाने गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा २ हजार ७ सय टन सिमी उत्पादन भएको कार्यालयको तथ्यांक छ । त्यसमध्ये ४ करोड २५ लाख रुपैयाँ बराबरको ५ सय टन मात्रै जिल्ला बाहिर गएको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा २९ सय टन सिमी उत्पादन भएको थियो । तर कति जिल्ला बाहिर गयो भन्ने तथ्यांक कार्यालयले राखेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा संरक्षण विभागमा हालसम्म उपभोक्ताले गुनासो तथा उजुरी नगरेको जनाएका छन् । वाणिज्य आपूर्ति तथा संरक्षण विभागले प्रत्येक दिनजसो काठमाडौंका विभिन्न खाद्यान्न पसलको अनुगमन गर्छ । जुम्लालगायत कर्णालीका सामग्रीबारे अहिलेसम्म कसैले पनि गुनासो नगरेको प्रवक्ता हरि पंगेनीले बताए । ‘उपभोक्ताले अहिलेसम्म गुनासो तथा उजुरी गरेका छैनन्, हामीले त दर्ता गरे/नगरको र बिलबिजक भए/नभएकोलगायत हेर्ने हो,’ उनले भने, ‘वस्तु सक्कली हो या नक्कली भनेर हेर्ने निकाय भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो ।’ गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले समेत यस्ता उजुरी नपरेको प्रस्ट्याए ।


जुम्लाको खलंगास्थित खेतमा झुलिरहेको कालीमार्सी धान र टिला–६ रिपिचौ र मा लगाइएको चिनो। फाइल तस्बिर : कान्तिपुर

जुम्लाको ओखर पनि काठमाडौंमा पाइन्छ । प्रतिकिलो एक हजार रुपैयाँमा जुनसुकै समयमा काठमाडौंमा जुम्लाको ओखर किन्न पाइन्छ । तर जुम्लाकै किसानले भने ओखर प्रतिकिलो १२५० रुपैयाँमा ओखर बेचेको बताउँछन् । जुम्लाको १९० हेक्टर जग्गामा ओखर खेती हुने गरेको कार्यालयको तथ्यांक छ । त्यहाँबाट वार्षिक ७ सय टन मात्रै ओखर उत्पादन हुन्छ । आर्थिक वर्ष ०७७/७८ मा ८ सय टन ओखर उत्पादन भएको थियो ।

काठमाडौंका केही पसलले जुम्लाका नाममा अन्य सामग्री बेचिरहेको जुम्ला बजारमै कोसेली घर चलाइरहेका गोविन्द आचार्यले दाबी गरे । ‘जुम्लाको सिमी नटल्कने कालो हुन्छ । तर काठमाडौंमा पाइने सिमी कालो र टल्किने हुन्छ,’ उनले भने, ‘मार्सी चामल पनि काठमाडौंमा रातै पाइन्छ । तर जुम्लाको चामल रातो मात्रै हुँदैन, सेतो पनि हुन्छ ।’

काठमाडौंमा जुम्लाका सामग्री बेच्ने पसल धेरै खुले पनि गुणस्तरीय सामान भने नपाइएको उनले सुनाए । ‘झन्डै एक साताअघि चार दिनका लागि काठमाडौं गएको थिएँ, मार्टदेखि धेरै पसलमा जुम्लाको सामान भनेर बेचेको देखें । तर वास्तवमा त्यो जुम्लाको थिएन । जुम्लाको सामान यस्तो हुन्छ भनेर नमुना देखाएर आएँ ।’ जुम्लाको स्याउ पनि बेमौसममा काठमाडौंमा किन्न पाइन्छ । गएको जेठमा प्रतिकिलो २५० रुपैयाँमा हिमाली कृषि उद्योगले स्याउ बेचिरहेको थियो । जिल्लामा ११ हजार ६ सय टन स्याउ उत्पादन हुँदा ४ हजार टन मात्रै जिल्ला बाहिर गएको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा १२ हजार टन स्याउ उत्पादन भएको थियो ।

भदौ दोस्रो सातादेखि स्याउ टिप्न योग्य हुन्छ । तर जुम्लाका किसानले साउनमै टिपेका स्याउ भने सुर्खेत, नेपालगन्जलगायत बजारमा पुगिसकेका छन् । जिल्लामा उत्पादित वस्तु ७५ प्रतिशतभन्दा बढी जिल्ला बाहिर जाने गरेको कार्यालयका प्रमुख गणेश अधिकारीको भनाइ छ । ‘पहिला कुन–कुन सामान, केकति बाहिर जान्छ भन्ने तथ्यांक राखिएको रहेछ, अहिले हामी त्यसरी नै राख्न खोज्दै छौं,’ उनले भने । आर्थिक वर्ष ०७७/७८ मा भने केकति वस्तु जिल्ला बाहिर गयो भन्ने तथ्यांक आइनसकेको उनले जनाए । गत आर्थिक वर्षको तथ्यांक पनि संकलन गरिरहेको उनले सुनाए ।

उपत्यकामा हुम्ला, जुम्लालगायत जिल्लाका खाद्यान्न बेच्ने एउटा पसल हो, हिमाली कृषि उद्योग । १८ वर्षदेखि विभिन्न जिल्लाका स्थानीय उत्पादनहरू बेचिरहेको उद्योगकी सञ्चालक गंगादेवी रावतले बताइन् । ‘हरेक वर्ष मंसिरदेखि माघसम्म हिमाली जिल्लाका खाद्यन्नका सामाग्री काठमाडौं ल्याइसक्छौं,’ उनले भनिन्, ‘सुरुवातको तुलनामा व्यापार एकदम राम्रो हुँदै गएको छ ।’ हुम्ला, जुम्ला, डोल्पालगायत विभिन्न जिल्लाबाट कच्चा पदार्थका रूपमा खाद्यान्न ल्याउने उनले जनाइन् । कच्चा पदार्थलाई लाजिम्पाटमा रहेको कारखानामा सफा गर्ने र प्याकेजिङ गरेर अनामनगर, पेप्सीकोलामा रहेका आफ्नै पसलमार्फत बेच्ने गरिएको उनको भनाइ छ । विभिन्न पसलको मागअनुसार अन्य ठाउँमा पनि सामग्री पुर्‍याउने गरिएको उनले सुनाइन् ।

कर्णाली अर्ग्यानिक सपले पनि जुम्लालगायत विभिन्न जिल्लाका सामग्री बेच्ने गरेको छ । स्थानीय स्तरबाटै सामग्री ल्याएर आफूहरूले ती जिल्लाको सामान बेचिरहेको पसलका सञ्चालक लालबहादुर सिंह ठकुरीको दाबी छ । जुम्लालगायत जिल्लाबाट आउने हुँदा सामग्री अलि महँगो हुने गरेको समेत उनी बताउँछन् । ‘जोकोहीले किन्न सक्दैनन्, कहिलेकाहीं किन्न सके पनि दैनिक किन्न गाह्रो पर्छ,’ उनले भने, ‘यस वर्ष सबै सामान मगाएर बेच्यौं, अर्को वर्षदेखि आफैं संकलन गरी ल्याएर बेच्छौं ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि जुम्लाका खाद्यान्न खरिद गरी बेच्ने गरेको छ । आफ्नो कार्यालयले भने जुम्लाको सामान अन्तिम पटक आर्थिक वर्ष ०७६/७७ मा मात्र किनेको कम्पनीका शाखा कार्यालय जुम्लाका प्रमुख तिलक सुनारले जनाए । ‘आर्थिक वर्ष ०७६/७७ मा सिमी मात्रै किनेका थियौं, त्यसयता किन्न सकेका छैनौं,’ उनले भने, ‘तर प्रादेशिक कार्यालय सुर्खेतले भने मार्सी चामललगायत खाद्यवस्तु किनेर काठमाडौंमा समेत बेचिरहेको छ ।’

उत्साहित किसान

उपत्यकामा पाइने जुम्लाकै खाद्यान्न हो कि होइन भनेर प्रश्न गरिरहँदा जुम्लाका किसान भने थप खेती गर्न उत्साहित छन् । व्यापारीले घरमै आएर खाद्यान्न खरिद गर्ने भएपछि जुम्लास्थित सिँजाका किसान हर्षित छन् । स्थानीय बजारमै आफ्नो उत्पादन बेच्न पाइने भएपछि किसानले मार्सी धान, सिमी र मकैलाई प्राथमिकतामा राखेका छन् । सिंजा–२ बिष्टबाडाकी अम्बिका तिवारीले गत वर्ष प्रतिकिलो १५० रुपैयाँमा ९ क्विन्टल मार्सी धान बेचिन् । उत्पादित धान लैजान गाडी घरमै पुगेपछि दंग हुँदै उनले भनिन्, ‘सुन त माटोमै फल्छ । आफ्नो माटोमा मिहिनेत गर्दा पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने प्रमाणित गरेर देखाउँदै छु ।’

सिमी र मकै टन्न उत्पादन गरेकी उनले बेच्नकै लागि बजार धाउनुपर्ने अवस्था अब नरहेको तिवारीले सुनाइन् । ‘व्यापारीहरू गाउँमै राम्रै मूल्यमा किन्न आउँछन्,’ उनले भनिन्, ‘सिमी प्रतिकिलो १५० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ मकै पनि जुम्ली बजारमा निकै माग भइरहेको अन्न हो । गत वर्ष मार्सी धान बेचेर पहिलो पटक १ लाख ३५ हजार रुपैयाँ कमाएकी तिवारीलाई अहिले धान, सिमी र मकै खेतीमा व्यावसायिक रूपमा लाग्न मन भएको छ । जुम्ली किसानले आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बेच्छन् । सिमीको दाना प्रतिकिलो १५० देखि २ सय, ओखर प्रतिकिलो १२५०, मार्सी चामल प्रतिकिलो १५०, गहत प्रतिकिलो २२० र मकैको च्याँख्ला एक सय रुपैयाँमा बेच्ने गरिएको छ । कर्णालीको खाद्यान्नको माग काठमाडौंमा बढी भएको जुम्लाका किसान कार्मा बुढाले बताए । ‘कर्णालीको खाद्यान्न खोजीखोजी लगिन्छ । तर कर्णालीबाट खाद्यान्न लैजाने सहज वातावरण बनिसकेको छैन,’ उनले भने, ‘बिचौलियाका कारण किसान मारमा छन् ।’

झन्डै दुई दशकअघिसम्म जुम्ली किसानले उत्पादन गरेको अन्न घरमै थन्किन्थ्यो । ढुवानी नहुँदा वर्षौं पुरानो अन्न माटोमा खाडल बनाएर भण्डारण गरिन्थ्यो । ०६१ सालसम्म ढुवानीको एक मात्र साधन हवाईजहाज थियो । त्यो पनि सबै किसानको पहुँचसम्म पुग्दैनथ्यो । ०६१ सालमा कर्णाली राजमार्गको ट्र्याक खुलेपछि मात्रै जुम्लालगायत कर्णालीका उत्पादन नेपालका मुख्य बजारसम्म पुग्न थालेका हुन् ।

प्रकाशित : श्रावण २१, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×