१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

देउवा सरकार बनेपछि पहिलो चीन भ्रमण हुँदै

चीनबाट दुई उच्च भ्रमण भइसके पनि नेपालबाट सरकारी भ्रमण हुन सकेको थिएन

काठमाडौं, बेइजिङ — शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्षपछि उत्तरी छिमेक चीनतर्फ पहिलो भ्रमण हुन लागेको छ । परराष्ट्रमन्त्री नारायण खड्का साउन २४ देखि २६ सम्म चीन भ्रमणमा जान लागेका हुन् । काठमाडौं र बेइजिङ दुवैले यसबारे जानकारी दिएका छन् । 

देउवा सरकार बनेपछि पहिलो चीन भ्रमण हुँदै

परराष्ट्र मन्त्रालयले मन्त्री खड्काको भ्रमणबारे विज्ञप्तिमार्फत र चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले बेइजिङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि चीनबाट दुई उच्च भ्रमण भइसके पनि नेपालबाट सरकारी भ्रमण हुन सकेको थिएन । खड्काको यो भ्रमणलाई गठबन्धन सरकार र चीनबीच सम्बन्ध अघि बढ्न लागेको रूपमा हेरिएको छ । खड्काले सरकारको प्रतिनिधिका रूपमा चीन भ्रमण गरी दुई देशको सम्बन्ध विस्तारलगायतका विषयमा समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारत भ्रमण गरिसकेको र अमेरिका भ्रमणको गृहकार्य भइरहेको अवस्थामा मन्त्री खड्कालाई चीन पठाउन लागेका हुन् ।

चीनका परराष्ट्रमन्त्री वाङ यीको निम्तोलाई स्वीकार गर्दै मन्त्री खड्का भ्रमणमा जान लागेका हुन् । चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको उल्लेख गर्दै नेपाली परराष्ट्रमन्त्री खड्काको भ्रमण वाङको पछिल्लोपटक भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन् ।

देउवा सरकार गठन भएपछि २०७८ चैत ११–१३ मा पहिलोपटक चीनका विदेशमन्त्री वाङ नेपाल आएका थिए । त्यस अवसरमा दुई मुलुकबीच १२ बुँदे सम्झौता भएको थियो । उक्त अवसरमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को विषयमा छलफल भए पनि नेपालले अनुदान वा सहुलियत ऋणमा मात्र उक्त परियोजनालाई अघि बढाउने जनाएको थियो । नेपालले सन् २०१७ मा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्झौता र बीआरआईको सदस्य बनेको थियो । नेपाल सरकारले एमसीसीलाई संसद्बाट अनुमोदन गरे पनि हालसम्म बीआरआई अन्तर्गतका कुनै पनि परियोजनालाई निचोडमा पुर्‍याएर अघि बढाउन सकेको छैन ।

वाङले आफ्नो भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौता अघि बढाउन भने पनि नेपाल सरकारले त्यसलाई स्वीकार नगरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

बेइजिङमा प्रवक्ता ह्वाले एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाउने बताइन् । ‘दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गर्दै छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ,’ उनले भनिन् । प्रवक्ता ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँगको रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढतासाथ सहयोग गर्ने र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ ।

यता, परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले मन्त्री खड्काको भ्रमणको गृहकार्य भइरहेको बताइन् । ‘यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय हुनुपर्छ, नेपाल–चीन सम्बन्धका यावत् पक्षमा छलफल हुन्छ,’ उनले भनिन् ।

यस्तै नेपालमा पछिल्लो समय चीनविरोधी गतिविधि बढेको भन्ने आशय व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओले यही वर्ष असार २६–२९ मा भ्रमण गरेका थिए । पार्टीगत रूपमा भ्रमण गरेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गरेका थिए । भ्रमणका दौरान उनले नेपालमा चीनविरोधी कुनै गतिविधि नहोस् भन्नेमा आश्वत हुन चाहेका थिए । नेपालका सम्पूर्ण नेताले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालले कुनै पनि मित्रराष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रस्ट पारेका थिए ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने राजकीय भ्रमण गरेपछि दुई मुलुकबीचको सम्बन्ध प्रगाढ भएको थियो तर त्यसयता नेपालमा राजनीतिक घटनाक्रम परिवर्तन भएसँगै कम्युनिस्ट सरकारको ठाउँ देउवाको नेतृत्वमा गठबन्धन सरकारले लियो । त्यसपछि दुई मुलुकको सम्बन्ध पहिलेजस्तो सुमधुर हुन सकेको छैन । सन् २०१९ मै अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अघि सारेपछि चीनले आफ्नो छिमेकीसँग उच्चस्तरीय भेटवार्तामा जोड दिँदै आइरहेको छ ।

चीनमा कोभिड–१९ संक्रमण र त्यसको प्रभावका कारण मन्त्री खड्का बेइजिङ भने जाने छैनन् । चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ सान्तोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ । चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने तालिका छैन । विश्व चर्चित छिङ्ताओ बियर महोत्सवको ३२ औं संस्करण समापन भएको भोलिपल्ट छिङ्ताओमा यो भेटघाट तय भएको हो । त्यसअघि वाङले बंगलादेश र मंगोलिया भ्रमण गर्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपाल सधैं एक चीन नीतिको समर्थनमा : परराष्ट्र

अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं एक चीन नीतिको समर्थन गरेको बताइन् ।

‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं, नेपालले एक चीन नीतिको समर्थन गर्दै आएको छ, दुवै देशले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतालाई समर्थन गर्दै आएका छन्,’ प्रवक्ता लम्सालले भनिन्, ‘नेपाल अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको जानकारी गराउन चाहन्छौं ।’

प्रकाशित : श्रावण २१, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?