‘हनी ट्य्राप’ को सञ्जाल

सामाजिक सञ्जालका माध्यमबाट चिनजान, अश्लील शब्दमा कुराकानी वा भेटपछि धम्क्याउँदै रकम असुल्ने प्रवृत्ति बढ्दो
लिला श्रेष्ठ

काठमाडौँ — सोलुखुम्बु नेचासल्यानका शेखर बाँस्तोलाले महिलाका नाममा भारतीय अभिनेत्रीको फोटो राखेर फेसबुकमा खाता खोले । फेसबुकमा क्यानडा ठेगाना उल्लेख गरेका उनले अपरिचित व्यक्तिहरूलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउन थाले । त्यही क्रममा भेटिए ७२ वर्षीय एकल पुरुष । फेसबुकमा जोडिएपछि उनीहरूबीच म्यासेन्जरमा हाइहेलो चल्यो । कुराकानी बाक्लिँदै जाँदा शारीरिक सम्बन्धसम्मको प्रसंग निस्कन थाल्यो ।

‘हनी ट्य्राप’ को सञ्जाल

शेखरले नक्कली फेसबुक खाताबाट जहाज भाडा ५० हजार रुपैयाँ तिरिदिए क्यानडाबाट भेट्न नेपाल आउने बताए । उनले आमाबुबा अमेरिका, एउटी बहिनी अस्ट्रेलिया र अर्की बहिनी काठमाडौंमा रहेको झूटो जानकारी दिएका थिए । उनले आफू भने क्यानडामा काम गर्दै पढिरहेको बताएका थिए । युवतीका नाममा उताबाट आएका सबै कुरा ती एकल पुरुषले पत्याए । उनी काठमाडौंको काँडाघारीमा बस्ने बहिनीको हातमा ५० हजार रुपैयाँ दिन तयार भए ।

शेखरले आफ्नी पत्नी रोजिना राउतलाई काठमाडौं बस्ने बहिनी भनेर ती पुरुषसँग कुराकानी गराए । त्यसपछि रोजिना पैसा लिन आइन् । ती पुरुषले ५० हजार रुपैयाँ बुझाए । त्यसपछि जहाज भाडा महँगिएको भन्दै शेखरले थप ५० हजार रुपैयाँ मागे । ती पुरुषले थपक्क माने । शेखरले अर्को बहाना बनाए । अमेरिकामा रहेका बुबा दुर्घटना परेको भन्दै म्यासेन्जरमा सख्त घाइतेको फोटो पठाए अनि उपचारका लागि ३ लाख रुपैयाँ सहयोग गर्न आग्रह गरे । ती पुरुषले आफूसँग ६५ हजार रुपैयाँ मात्र भएको भन्दै त्यो पनि रोजिनालाई बुझाए । नक्कली फेसबुक प्रयोगकर्ता शेखरले थप रकम नपाउने भएपछि धम्क्याउन थाले । गोप्य कुराकानी सार्वजनिक गरिदिने र साइबर ब्युरोमा उजुरी दिने धम्की दिन थाले । साइबर ब्युरोमा दिएको उजुरी भन्दै किर्ते कागज पनि ती पुरुषलाई म्यासेन्जरमा पठाउन भ्याए ।

साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक हुँ भन्दै शेखरले फोन गरेर धम्क्याउन पनि भ्याए । त्यसपछि पीडित पुरुषले बाध्य भएर उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । त्यही उजुरीका आधारमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ बतासे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका बालकोट बस्ने २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत बिहीबार पक्राउ परेका छन् ।

‘हनी ट्र्याप’ (शारीरिक आकर्षणमार्फत फन्दा) मा पारेर ठगी गरिएको यो प्रतिनिधि घटना मात्र हो । प्रहरीका अनुसार आपराधिक लाभ लिने उद्देश्यले सामाजिक सञ्जालमार्फत महिला वा पुरुषसँग सम्पर्क बढाउने र नजिकिएपछि ठगी गरिएका घटना थुप्रै छन् । यस्तो धन्दामा संलग्नले सामाजिक सञ्जालबाट नजिकिएका व्यक्तिसँग अश्लील संवाद गर्न उकास्ने, खाजा खाने बहानामा बोलाउने र त्यसपछि झूटा मुद्दा लगाएर धम्क्याउँदै रकम माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइराला बताउँछन् ।

शेखर र रोजिना दुवै कोभिड–१९ महामारीका कारण बेरोजगार भएपछि कमाउने सजिलो धन्दाका रूपमा हनी ट्र्यापमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । ती ७२ वर्षीय पुरुष भने १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि एकल थिए । दुवै जनाविरुद्ध प्रहरीले अनुसन्धान जारी राखेको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता–२०७४ अनुसार आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा मुद्दा चलाउने तयारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीमा उजुरी परेको हनी ट्र्यापकै अर्को केस न्युरोड, काठमाडौंका होलसेल व्यापारीको छ । उपत्यकाका पसलहरूलाई जुत्ता बेच्ने उनको व्यापारकै सिलसिलामा कल्पना बस्नेतसँग भेट भयो । जुत्ता किन्न आएकी कल्पना र ती व्यापारी सामान्य कुराकानीमै नजिकिए । कल्पनाले कहिल्यै ठमेल नगएको बताउँदै आफूलाई घुमाउन अनुरोध गरिन् । ती व्यापारीले असहमति जनाएनन् । त्यसपछि उनीहरू ठमेलको एक होटलमा गए, सँगै कफी खाए, सेल्फी खिचे, मोबाइल नम्बर साटासाट गरे । फेसबुकमा पनि साथी बनेपछि छुट्टिए ।

एकैछिनपछि ती व्यापारीको फेसबुक म्यासेन्जरमा खबर आयो– ‘कल्पना बिरामी भएर आईसीयूमा उपचार भइरहेको छ, भेट्न आउनुपर्‍यो, मेरी श्रीमतीमाथि यौन दुर्व्यवहार भएछ, तिमीविरुद्ध बलात्कार मुद्दा हाल्छु ।’ कल्पनाका पति कृष्णहरि खड्काले प्रहरी वृत्त बौद्धमा बलात्कारको उजुरी दर्ता गरेको भन्दै किर्ते कागजसमेत म्यासेन्जरमा पठाए । त्यसपछि मिलापत्र गर्न ५० लाख रुपैयाँ माग्न थाले । ती व्यापारीले ५० हजार रुपैयाँ पठाइदिए । कल्पना र उनका पति कृष्णहरिले चिनजानका सञ्जय कार्कीलाई नक्कली प्रहरी निरीक्षक बनाएर धम्क्याउन थाले । त्यसपछि शंका लागेर व्यापारीले प्रहरीमा उजुरी दिए । सिन्धुली कमलामाई नगरपालिका–६ घर भई काठमाडौंको बौद्ध बस्ने ३१ वर्षीया कल्पना, उनका पति ३१ वर्षीय कृष्णहरि, सिन्धुली कमलामाईकै २८ वर्षीय सञ्जयलाई साउन १ मा पक्राउ गरेको छ । उनीहरूविरुद्ध आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंको नक्सालस्थित बुटिककी सञ्चालक देवी थापाविरुद्ध गत कात्तिकमा प्रहरीमा चेक बाउन्सको उजुरी पर्‍यो । ओखलढुंगा सुनकोशी गाउँपालिका–१ बल्खुकी २८ वर्षीया थापाले ओखलढुंगाकै एक युवकलाई रित्तो खाताको ११ लाख ५० हजार रुपैयाँको चेक दिएकी थिइन् । नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा थापाले ६ जनालाई ‘हनी ट्र्यापिङ’ मा पारेर ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्यो । प्रहरीका अनुसार थापाले व्यवसाय र धनाढ्य पुरुषलाई सामाजिक सञ्जालमार्फत साथी बनाउने, कफी खाने बहानामा होटल पुर्‍याउने र एक/दुईपल्टको भेटघाट तथा घुमघामपछि यौन दुर्व्यवहार भएको भन्दै धम्क्याएर रकम असुली गर्थिन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनीविरुद्ध सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख रुपैयाँ, नेपाल प्रहरीका सईसँग १७ लाख रुपैयाँ, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख रुपैयाँ, जन्मजात अशक्त एक युवकसँग २ लाख २१ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । थापा हाल पुर्पक्षका लागि थुनामा छिन् ।

काठमाडौं उपत्यकामा युवती प्रयोग गरेर ‘हनी ट्र्यापिङ’ मा सक्रिय रहेको आरोपमा प्रहरीले गत असार २ मा ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने १९ वर्षीया निकिता केसी, १८ वर्षीया मनीषा परियार, ३२ वर्षीय डिकबहादुर शर्मा, ३० वर्षीय सञ्जीव दर्जी, २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेका छन् । समूहमा ‘हनी ट्र्याप’ का मुख्य योजनाकार निमा लामा र पासाङ लामा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरूविरुद्ध पनि आपराधिक षड्यन्त्रबमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढेको छ ।

हनी ट्र्यापमा महिलालाई प्रयोग गर्ने गिरोह नै सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हनी ट्र्यापका उजुरी आउने क्रम बढेको छ । कतिपय पीडितले भने आफ्नै ‘इज्जत’ गुम्ने डरले प्रहरीमा उजुरी दिँदैनन् । नेपाल प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई सामाजिक सञ्जालको दुरुपयोगबाट आफूमाथि अपराध भइरहेको छ भन्ने सुइँको नपाउँदा कतिपय व्यक्ति ‘हनी ट्र्याप’ मा पर्ने गरेको बताउँछन् । ‘नचिनेको मान्छेलाई साथी बनाउने, व्यवसाय र परिवारप्रति इमानदार नभएका व्यक्तिहरू हनी ट्र्यापिङमा फसेका छन्,’ उनले भने, ‘नैतिक आचरणमा बस्ने र लोभमा नफस्ने व्यक्ति आपराधिक गतिविधिमा फस्दैनन् ।’

प्रकाशित : श्रावण २१, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?