संसदीय चुनावका लागि ११६ दल योग्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय चुनावका लागि ११६ दल योग्य

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन आइतबारदेखि साउन ३१ भित्र फेरि दल दर्ता गर्नुपर्ने 
मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । मंसिर ४ मा हुने निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा पुनः दर्ता गर्नुपर्ने हुन्छ । दल दर्ताका लागि आयोगले साउन ३१ सम्मको समय तोकेको छ । आयोगमा बिहीबारसम्म १ सय १६ दल दर्ता भएका छन् ।

स्थानीय तह निर्वाचनपछि चारवटा दल थपिएका छन् । आयोगमा दर्ता भएका सबै दलले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा फेरि नाम दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा २७१ अनुसार निर्वाचनमा मान्यता प्राप्त गर्नका लागि दल दर्ता गर्नुपर्ने प्रावधान छ ।

‘दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । दुई वा त्योभन्दा बढी दलले गठबन्धन गरेर एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिन सक्ने पनि आयोगले स्पष्ट पारेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधान कार्यान्वयन गर्न एकल चिह्नमा निर्वाचनमा भाग लिन सक्ने जानकारी आयोगले दलहरूलाई गराएको हो । ऐनअनुसार कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै नयाँ चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्छन् ।

गठबन्धन गरेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो भन्ने खुलाउनुपर्ने हुन्छ । यसरी निर्वाचनमा सहभागी भएपछि त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूलाई त्यही संसदीय दलको सदस्य मानिने कानुनी प्रावधान छ ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विवरण, उम्मेदवारी दिने जिल्ला, पछिल्लो ५ वर्षभित्र महाधिवेशन भएको मिति र स्थान, दलको दर्ता मिति, महाधिवेशनबाट निर्वाचित र मनोनीत पदाधिकारीको नाम पेस गर्नुपर्ने हुन्छ । त्यस्तै दलको केन्द्रीय कार्यालयको चल–अचल सम्पत्ति विवरण बुझाएको मिति, सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा अभिलेख राखे/नराखेको, दलको कार्यालयले सम्पत्ति विवरण पेस गर्ने र नगर्ने पदाधिकारी, सदस्यको नाम प्रकाशन गरे/नगरेको, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पनि निवेदनमा खुलाउनुपर्ने हुन्छ ।

त्यस्तै दलले ०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७६/७७ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा गाभिनुपूर्वको प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ । ०७७/७८ मा गाभिएर नयाँ कायम भएको दलले ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा पुरानो अलग–अलग पार्टीको लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

दल दर्ताका लागि निवेदन पेस गर्दा दलको विधान र नियमावली लोकतान्त्रिक हुने, कम्तीमा ५ वर्षमा एक पटक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारी निर्वाचन भएको हुने, कार्यकारिणी समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरिने सर्त पूरा गर्ने प्रतिबद्धता जनाएको पत्रसमेत पेस गर्नुपर्ने हुन्छ । दल दर्ता गर्न आयोगले उपलब्ध गराउने रुजुसूची भरेर प्रमुख पदाधिकारीले प्रमाणित गरी पेस गर्नुपर्ने हुन्छ । दल दर्ताको विवरण लिन आयोगमा छुट्टै डेस्कको व्यवस्था मिलाएको छ । निवेदन छानबिन गर्न कम्तीमा १० दिन लाग्ने आयोगले जनाएको छ ।

दल दर्ताको क्रममा दिने निवेदनका आधारमा आयोगले दलको निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गर्छ । समानुपातिकतर्फ पनि दलले बन्दसूचीमा नाम बुझाएको आधारमा आयोगले मतपत्र छाप्ने गरेको छ । यसपालिको निर्वाचनमा ५ सय १३ प्रकारको मतपत्र हुनेछ । प्रत्यक्षतर्फको १ सय ६५ क्षेत्र र ३ सय ३० प्रदेशको मतपत्र फरक हुनेछ । त्यस्तै समानुपातिकतर्फ प्रदेशअनुसार फरक सातवटा मतपत्र हुनेछ ।

७४ मा निर्वाचन प्रयोजनका लागि आयोगमा ९५ दलले निवेदन दिएका थिए । निवेदन दिएकामध्ये समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले माओवादी केन्द्रको चिह्न, राष्ट्रिय नागरिक पार्टीले शिव सेना नेपालको निर्वाचन चिह्न, पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्न लिई निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचनमा भाग लिन ९५ दलले निवेदन पेस गरेकामा आयोगले ९१ राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गरी चिह्न प्रदान गरेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५५ राजनीतिक दलले मात्र भाग लिए । तीन महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६३ दलले मात्रै भाग लिएका थिए ।

प्रकाशित : श्रावण २१, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा प्रो बक्सिङको सम्भावना

राजनविक्रम प्रजापति

विश्वव्यापी मान्यताअनुरुप एमेच्योर बक्सिङमा आफूलाई प्रमाणित गरिसकेका खेलाडीहरू जो शारीरिक र मानसिक रूपमा स्वस्थ र सबल छन् अनि प्राविधिक र रणनीतिक रूपमा अब्बल छन् भने ती खेलाडीहरू मात्र प्रोफेसनल बक्सिङका लागि योग्य मानिन्छन् ।

गत मार्चमा काठमाडौंमा भएको पहिलो प्रथम एसियन प्रो बक्सिङमा नेपालका महेन्द्र ठकुरी (बायाँ) भारतका सुमित सिंहविरुद्ध भिड्दै। तस्बिर सौजन्य : क्लब फरेनहाइट

वर्तमान परिप्रेक्ष्यमा खेलकुद होस् या कला क्षेत्र हरेक विधामा व्यावसायिकता अपरिहार्य भइसकेको छ । व्यावसायिकता भएन भने त्यो क्षेत्रसँग जोडिने सम्पूर्ण व्यक्तित्वले अन्य वैकल्पिक पेसा, व्यवसाय खोज्न बाध्य हुन्छन् । विश्वमा खेलकुदलाई व्यावसायिक बनाएका देशहरूले खेलक्षेत्रमा ठूलो फड्को मार्न सफल भएका उदाहरण प्रशस्त पाइन्छ ।

हामीले हेर्ने चर्चित फुटबल लिगहरू, क्रिकेट लिगहरू, प्रो बक्सिङहरू, टेनिस खेलहरू व्यावसायिक भएकै कारण दिनप्रतिदिन उक्त खेलप्रति क्रेज बढ्नुका साथै विश्वका कुनाकुनामा विस्तार भएको पाइएको छ । खेलक्षेत्र व्यावसायिक हुन सकेको खण्डमा खेलाडी स्वयंको प्रदर्शनमा उच्चतम ढंगले निखार आउनुका साथै रेफ्री, जज, अफिसियललगायत उक्त खेलसँग सम्बन्धित सबै व्यक्तिको काममा निखारता आउने गर्दछ ।

नेपालको खेलकुदजगतमा पनि अत्यन्तै सक्षम, सफल र करियरको उच्चतम विन्दुमा रहेका खेलाडीहरूले समेत खेलकुदमा आफ्नो भविष्य सुनिश्चत नदेखेर अरू पेसा, व्यवसाय अंगाल्ने वा विदेश नै पलायन भएका घटना बेलाबेलामा अखबारको खेलकुद पृष्ठको हेडलाइन बन्ने गरेको कारुणिक अवस्था छ ।

प्रो बक्सरहरू आफ्नो बक्सिङ करियरको माथिल्लो श्रेणीमा हुने गर्दछन्, जहाँबाट उनीहरूले बक्सरका रूपमा ख्याति पाउनुका साथै राम्रो आम्दानी गर्न सक्छन् । यसनिम्ति खेलाडीले धरैभन्दा धरै खेलको अनुभव लिइसकेको हुनुपर्दछ किनभने यो एमेच्योर बक्सिङभन्दा कठिन हुने गर्छ । सामान्यतया एमेच्योर र प्रो बक्सिङ उस्तै लागे तापनि यसका नियमहरू फरक छन् । एमेच्योर बक्सिङमा बक्सरको सुरक्षालाई बढी प्राथमिकतामा राखिएको हुन्छ भने प्रो बक्सिङनिम्ति धेरै शक्ति, सहनशीलता र रोमाञ्चकता आवश्यक हुन्छ । जसले गर्दा दर्शकमा एक किसिमको उत्सुकता र कौतुहलता उत्पन्न हुँदा खेल निकै आकर्षक बन्न पुग्छ । त्यसै कारण हजारौं दर्शक महँगो टिकट किनेर भए पनि खेलस्थलसम्म बक्सिङ हेर्न पुग्छन् ।

प्रायः खेलाडीहरू एमेच्योर बक्सिङमा एक किसिमको सफलता प्राप्त गरेपछि नाम, दाम र इज्जतका लागि प्रो बक्सिङ सुरु गर्ने गर्दछन् । विश्व बक्सिङमा आममानिसले चिन्ने र बुझ्ने नाम भनेको नै प्रो बक्सिङका खेलाडी हुन् । मोहम्मद अली, माइक टाइसन, इभान्डर होलिफिल्ड, सुगर रे रबिन्सन, फ्लोइड मे वेदर, लेनोक्स लुइस, जो फ्रेजर, म्यानी प्याकियो आदि सबै चर्चित बक्सर प्रो बक्सिङसँग आबद्ध थिए । प्रो बक्सिङकै माध्यमबाट विश्व खेलजगतमा उनीहरू स्वर्णिम अक्षरले आफ्नो इतिहास लेखाउन सफल भए ।

खेलाडीहरूले प्रो बक्सिङमा योग्य हुनका निम्ति थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । उनीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिनुका साथै अन्तर्राष्ट्रिय नियमनकारी निकायहरूबाट जारी गरिएको प्रो बक्सिङ लाइसेन्स लिनुपर्ने हुन्छ, जसको अभिलेख नेपालमा डब्लुबिसी र डब्लुबिओको आधिकारिक संस्था नेपाल प्रोफेसनल बक्सिङ कमिसनले राख्ने गर्दछ । ती खेलाडीले कति खेल खेल्यो, कुन आधारमा जित्यो वा हार्‍यो लगायतका सम्पूर्ण विवरण अभिलेखीकरण गरिन्छ । उक्त अभिलेखलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनका निम्ति आवश्यक प्रक्रिया अपनाएर नेपाल प्रोफेसनल बक्सिङ कमिसनले संयोजनकारी भूमिका निभाउने कार्य गर्दै आएको छ ।

यसका साथै नेपालमा प्रोफेसनल बक्सिङको विकासनिम्ति विभिन्न कार्यहरू हुँदै आइरहेको छ । एलएसटी सुपर कप, नेपाल/भारत च्याम्पियनसिप, प्रथम दक्षिण एसियाली प्रो. बक्सिङ च्यापियनसिपलगायतका प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराइसकेको छ । साथै नेपाली प्रो बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्य पनि गरिरहेको छ । नेपाल प्रोफेसनल बक्सिङ कमिसन नेपालमा प्रो बक्सिङ खेलको नियमन गर्ननिम्ति अन्तराष्ट्रिय मान्यताप्राप्त निकाय हो भने यसअन्तर्गत प्रवर्द्धन गर्ने संस्थाहरू रहने गर्दछ । यी प्रो बक्सिङ प्रवर्द्धन गर्ने संस्थाले प्रतियोगिताहरू आयोजना गर्ने, स्पोन्सरहरू खोज्ने, खेलाडीहरूलाई पारिश्रमिक दिने लगायतका कामहरू गर्ने गर्दछन् । प्रो बक्सिङ खेल पूर्ण रूपमा व्यावसायिक हुँदाहुँदै पनि यसको मुख्य उद्देश्य भनेको बक्सिङ खेल र बक्सिङ खेलसँग सम्बन्धित टेक्निसियन, रेफ्री जजलगायतका सबै अफिसियलको समग्र उत्थान गर्नु पनि हो ।

यति हुँदाहुँदै पनि प्रो बक्सिङमा प्रसिद्धि कमाउनु वा प्रख्यात हुनु सोचे जस्तो सजिलो पक्कै छैन । एउटा बक्सरले त्यसका लागि कठोर मिहिनेत गर्नैपर्छ । विश्व परिवेशमा हेर्ने हो भने प्रो बक्सरको आम्दानी निकै आकर्षक देखिन्छ ।

फ्लोइड मे वेदर र म्यानी प्याकियोबीच सन् २०१५ मा भएको प्रो बक्सिङ खेल करिब २५० मिलियन डलरको भएको थियो । यस्ता खेलहरू अत्यन्तै दुर्लभ हुने भए तापनि संसारभरि नै प्रो बक्सरको आम्दानी आकर्षक मानिन्छ । खेलाडीले पाउने मोटो पारिश्रमिकबाट नै उसका कोच, व्यवस्थापकलगायत ऊसँग रहने पुरै टिमको पनि आर्थिक निर्भरता रहने हुँदा खेलाडीले पाउने वास्तविक रकम भने केही कम हुने गर्छ ।

नेपालको अवस्था

कोभिड–१९ महामारीको कारण खेलकुद क्षेत्रमात्र नभई विश्वका प्रायजसो सबै क्षेत्र धराशायी भएको अवस्थामा नेपाल र यसको खेलक्षेत्र पनि अछुतो रहन सकेन । पछिल्लो दुई वर्ष नेपालको खेलक्षेत्र करिब ठप्प प्रायः नै रहन पुग्यो भन्दा फरक पर्दैन । नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमा नै प्रो बक्सिङले भर्खरमात्र गति लिन थालेको छ । विभिन्न समयमा भएका निर्णायक सेमिनारहरू, प्रो बक्सिङ अफिसियल सेमिनार २०१८, एनपिबिसि कन्भेन्सन २०२२ का साथै सन् २०१७ मा भएको च्याम्प अफ द च्यापियन्स, एलएसटी सुपर कप २०२१, प्रथम दक्षिण एसियाली प्रो. बक्सिङ च्याम्पियनसिप २०२२ लगायतका प्रतियोगिताहरू हालैका बर्षहरूमा नेपालमा हुन थालेको छ ।

यसका साथै दक्षिण एसियाली मुलुकका खेलाडीहरू एक अर्को देशमा गई प्रो बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन थालेका छन् । यसबाट के बुझ्न सकिन्छ भने दक्षिण एसियाली क्षेत्रमा पनि प्रो बक्सिङको भविष्य राम्रो देखिएको छ । विस्तारै यसमा जनमानसको रुचि पनि बढ्न थालेको छ । बक्सिङमा रुचि राख्ने सरोकारवालाहरू र निजी क्षेत्रबाट केही चासो राखेको खण्डमा विश्व बक्सिङमा नेपाली मुक्केवाजहरूले ठूलो चमत्कार गर्नसक्ने सम्भावना रहेको छ । बक्सिङ खेल, खेलाडी, र खेलसँग जोडिने सम्पूर्ण प्राविधिकहरूको जीवनस्तर उकास्नका निम्ति प्रो बक्सिङलाई विकास गर्न जरुरी छ, जसका लागि पर्याप्त मात्रमा लगानी जुटाउनु आवश्यक छ ।

यसका साथै राज्यबाट आर्थिक, प्राविधिक र प्रशासनिक स्रोत प्राप्त गर्ने खेल संघहरूले पनि खेलाडीलाई व्यावसायिक बनाउन पहल गर्नुपर्दछ । यस विपरीत कतिपय अवस्थामा खेलाडीलाई कुनै अमूक प्रतियोगिता खेल्न रोकतोक लगाउने, निर्णायकलाई सहभागी हुनबाट वञ्चित गराउनेलगायतका व्यक्तिगत दुश्मनी खेलाडीको वृत्तिविकास माथि साँधेर गरिने यस्ता आपराधिक कार्य रोकिनुपर्दछ । खेलाडी राष्ट्रका गहना हुन्, सबैका साझा हुन्, उनीहरू जात, लिंग, धर्म, सम्प्रदायभन्दा माथि हुन्छन् । खेलाडीहरू राष्ट्रिय एकताका प्रतीक पनि हुन् । जब अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन्छ, सारा जनता आपसी मनमुटाव बिर्सेर एक हुन्छन् र आफ्नो देशको खेलाडीलाई समर्थन गर्न पुग्छन् ।

फुटबल विश्वकप २००६ का लागि जब आइभोरी कोस्टले सुडानलाई ३–१ ले पराजित गरेर पहिलोपल्ट विश्वकपमा छनोट हुन सफल हुँदा आइभोरी कोस्टको गृहयुद्ध रोकिएको थियो । विश्व चर्चित नेता नेल्सन मण्डेलाको ‘खेलकुदले सबै निराशालाई जितेर आशा जगाउने गर्दछ र यो जातीय भेदभावहरू तोड्न विश्वभरका सरकारहरूभन्दा बढी शक्तिशाली छ’ भन्ने भनाइबाट खेलकुदको महत्त्वबारे बुझ्न सकिन्छ ।

विश्व शान्ति कायम गर्न, विभिन्न भूगोल, भाषा, धर्म, संस्कृति जातजातिबीच एकता कायम गर्न तथा सम्पूर्ण विश्वलाई नजिक ल्याएर भाइचारा स्थापित गर्नका निम्ति खेलकुदले महत्त्वपूर्ण भूमिका निभाउँदै आएको सर्वविदितै छ । नेपाली खेलकुदले गर्दै आएको प्रगतिमा खेलक्षेत्रका अग्रज व्यक्तित्व, खेलाडी, प्रशिक्षक, निर्णायक, खेललाई माया गर्ने दर्शक, पदाधिकारीहरूमात्र नभई सरकारी तथा गैरसरकारी क्षेत्र, मिडियाकर्मीका साथ व्यापारिक क्षेत्रको समेत उत्तिकै योगदान छ । खेलक्षेत्रलाई व्यावसायिक बाटोमा डोर्‍याउन सके नेपाली खेलकुद थप उचाइमा पुग्ने निश्चित छ ।

(प्रजापति पूर्वबक्सिङ खेलाडी तथा आइबाका रेफ्री/जज पनि हुन्)

प्रकाशित : श्रावण २१, २०७९ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×