पहिचान आन्दोलन सफल बनाउन चलचित्रको भूमिका प्रभावकारी हुनसक्छ : मन्त्री श्रेष्ठ - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचान आन्दोलन सफल बनाउन चलचित्रको भूमिका प्रभावकारी हुनसक्छ : मन्त्री श्रेष्ठ 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्रले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)ले शुक्रबार काठमाडौंमा संयुक्तरूपमा आयोजना गरेको आदिवासी चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् । 

एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नामसमेत परिवर्तन भएका उदाहरणहरू भेटिएको उल्लेख गर्दै उनले आदिवासी जनजातिको पहिचान, अस्तित्व र आन्दोलनलाई सशक्त बनाउन सावधानीपूर्वक चलचित्र निर्माण गर्न आदिवासी चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

कार्यक्रमका आदिवासी जनजाति महासंघ, संघीय परिषद्‌का अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिवासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताए । उनले सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै नहुने भन्दै अब चलचित्रकर्मी, सांस्कृतिककर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई अधिकार स्थापित गराउन सक्रिय बनाउने महासंघको रणनीति रहेको बताए ।

आयोजक आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालागयतले आदिवासी जनजाति समुदायको भाषा र विषय वस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा नेवारी, तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र 'मि न्होर्वे ट' प्रदर्शन गरिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा मंकीपक्सको जोखिम न्यूनीकरणमा ध्यान दिएका छौं : विश्व स्वास्थ्य संगठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन नेपालले मंकीपक्सको अवस्थालाई नियालिरहेको बताउँदै जोखिम न्यूनीकरणमा जोड दिइरहेको बताएको छ । काठमाडौंमा शुक्रबार विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा राजेश संभाजीराव पाण्डवले नेपालमा हालसम्म मंकीपक्स नदेखिए पनि रोकथाम तथा नियन्त्रणका लागि निरन्तर काम भइरहेको बताए । 

उनले भने,‘विभिन्न जिल्लामा यसका फोकल पर्सनहरु छन् उनीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । गत हप्तामात्र हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्सको परीक्षणका लागि किट पनि उपलब्ध गराएका छौं । उनले कोभिड संक्रमण बढ्दै गएकाले छुटेकालाई बुस्टर डोज दिनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा विनोद बुराले खोपको प्रभावकारिताबारेमा बोल्दै समय–समयमा भाइरस उत्परिवर्तित भइराख्ने हुनाले खोपको आवश्यकता रहेको बताए । उनले भने–‘भाइरस म्युटेट भइरहेको हुन्छ । खोप लगाएन भने संक्रमण रोकिँदैन । विभिन्न तथ्यांकले पनि खोप नलगाएका नै बढी मृत्यु भएको पाइएको छ ।’

त्यसैगरी ईपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा खगेश्वर गेलालले नेपालमा हालसम्म शंकास्पद चार जनाको मंकीपक्सको परीक्षण गरिँदा नेगेटिभ आएको बताए ।

भारतमा मंकीपक्स पुष्टि भएर एकको मृत्यु भएपछि नेपालमा पनि सतर्कता अपनाएको बताउँदै उनले र्‍यापिड एक्सन प्लान बनिरहेको जनाए । साथै सीमानाकामा पनि निगरानी बढाएको उनले जानकारी गराए ।

प्रकाशित : श्रावण २०, २०७९ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×