कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
काभ्रेस्थली घटना

'तीन जनाको टाउकोमा प्रहार, शरीरमा चोटैचोट, दिनेशको मृत्यु झुण्डिएर'

मातृका दाहाल

काठमाडौँ — परिवारै सखाप हुने गरी भएको तारकेश्वर नगरपालिकाको काभ्रेस्थली घटनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एक जनाको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

'तीन जनाको टाउकोमा प्रहार, शरीरमा चोटैचोट, दिनेशको मृत्यु झुण्डिएर'

भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका २, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए । त्यसपछि प्रहरीले शव र घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने उल्लेख गरिएको थियो । शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि तीन जनाको हत्या गरेर दिनेशले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने देखाउँछ । पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार दिनेशको मृत्यु ‘हृयांगिङ’बाट भएको देखिन्छ । ती चिकित्सकले सुनिता, आशिका र आशिकको मृत्युको कारण टाउकोमा बोधो वस्तुले हानेर अनि शरीरका विभिन्न भागमा धारिलो वस्तु घोपेर भएको देखिन्छ ।

‘सुनिता, आशिका र आशिकको मृत्यु शरीरका विभिन्न भागमा ‘मल्टिपल स्ट्याविङ’ (विभिन्न भागमा घोपेर) र टाउकोमा ‘ब्लन्ट हन्ट’ (बोधो वस्तुले प्रहार) बाट भएको देखिन्छ,’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरसँग भने, ‘दिनेशको देब्रे हात र पेटमा चोट लागेको तथा घाँटीमा डोरीले बेरिएरको देखिन्छ । यसलाई हामीले ‘पार्सियल हृयांगिङ’बाट डेथ भएको उल्लेख गरेका छौं ।’

पोस्टमार्टम रिपोर्टलाई आधार मानेर घटनाको विश्लेषण गर्दा दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको पहिला हत्या गरेर उनले आत्महत्या गरेको देखिन्छ । पोस्टमार्टम रिपोर्टमा तीन जानमाथि छाती र पेटसहित शरीरका भित्रि भागसम्म धारिलो वस्तुले घोपेको चोट देखिन्छ । त्यस्तै टाउकोमा बोधो वस्तुले प्रहार (ब्लन्ट हन्ट) गरिएको देखिएको छ ।

पोस्टमार्टममा संलग्न चिकित्सक र अनुसन्धानमा खटिएका प्रहरी अधिकारी दिनेशले तीन जनालाई बेहोस बनाउन पहिले टाउकोमा हानेर त्यसपछि धारिलो वस्तुले घोपेको हुन सक्ने बताउँछन् । उनका अनुसार परिवारका सदस्यको हत्या गरेर विछिप्त बनेपछि आफ्नै शरीरका विभिन्न भागमा धारिलो वस्तु प्रहार गरेको र त्यसको पीडा खप्न नसकेर घाँटीमा डोरीले बेरेर मृत्यु रोजेको हुनसक्ने देखिन्छ ।

शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले घटना विश्लेषण, प्रकृति, स्थलगत अवलोकन र पोस्टमार्टम रिपोर्ट केलाउँदा दिनेशले तीन जनाको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताए । ‘पोस्टमार्टम रिपोर्टको नतिजा अनि घटनाको स्थलगत अवलोकन/विश्लेषण गर्दा घटना दिनेशबाटै भएको हुनसक्ने देखिन्छ, हामीले रिपोर्ट प्रहरीलाई पठाइसकेका छौं, यस बारेको बाँकी विषय प्रहरीबाटै आउला ।’ प्रहरीले घटनास्थलमा फेला पारेको मृतक दिनेशको सुसाइड नोटमा पनि ‘श्रीमती र छोरा/छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख छ ।

१२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र उनकी श्रीमती सुनिताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवाद हत्याको रुपमा पुगेको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइतीपक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेका छन् । सुसाइड नोटमा दिनेशले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लग्नु (मार्नु) परेको उल्लेख गरेका छन् ।

दिनेश र सुनिताबीचको पारिवारिक विवाद प्रहरीसम्मै पुग्ने गरेको र मिलापत्र टुंगिने गरेको देखिएको छ । तर, यस पटक श्रीमती र सन्तानको हत्या गरेर उनले आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमै खुलाएका छन् ।

प्रकाशित : श्रावण २०, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?