सीडीओको कार्यसम्पादन प्रतिवेदन : गुल्मी सर्वोत्कृष्ट, ४६ जिल्लाले पाए ९० प्रतिशत अंक- समाचार - कान्तिपुर समाचार

सीडीओको कार्यसम्पादन प्रतिवेदन : गुल्मी सर्वोत्कृष्ट, ४६ जिल्लाले पाए ९० प्रतिशत अंक

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेको हो ।

बिहीबार मूल्यांकन समितिका स‌ंयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार कार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो बनेको हो ।

समितिकाअनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूमा मुल्यांकन गरी प्रतिवेदन तयार गरिएको छ ।

प्रतिवेदनअनुसार अर्घाखाँची प्रशासन ९७ प्रतिशतसहित दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो, रूकुम पश्चिम प्रशासन ९६% सहित चौंथो बनेका छन् । दलित समुदायकी सीता परियार प्रमुख जिल्ला अधिकारी रहेको हुम्ला प्रशासन पाँचौं बनेको छ । दलित महिलाले नेतृत्व गरेको देशकै पहिलो र एकमात्र हुम्ला प्रशासन कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट पाँचमा परेको हो । हुम्लासँगै समान ९५ प्रतिशत नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा छ ।

हाल गुल्मीमा पुण्यविक्रम पौडेल प्रमुख जिल्ला अधिकारी छन् भने अर्घाखाँचीमा शशीधर घिमिरे, नवलपरासी पूर्वमा सुमन घिमिरे, रुकुम पश्चिममा परमानन्द घिमिरे र डडेलधुरामा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारी छन् ।

प्रतिवेदनअनुसार ७७ वटै प्रशासन कार्यालयहरुले औषतमा ९० प्रतिशत अंक पाएका छन् । ४६ जिल्लाहरुले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । २९ जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् । दुई जिल्लाले भने ७७ प्रतिशत अंक पाएका छन् । औषतमा ९० प्रतिशत अंक प्राप्त गरेको र यो विगतकोभन्दा सुधारोन्मुख नतिजा भएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयकाअनुसार कार्यसम्पादनमा चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी (पश्चिम), पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, संखुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुंगा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्यूठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगु प्रशासनहरुले पनि ९० प्रतिशत भन्दा बढी अंक ल्याई उत्कृष्ट स्थान हासिल गरेका छन्।

त्यस्तै, डोटी, धादिङ, नुवाकोट, बझाङ, बागलुङ, रोल्पा, गोरखा, रौतहट, कन्चनपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रूपन्देही, महोत्तरी, जुम्ला, रूकुम(पुर्व), काठमाडौँ, सर्लाही, सिन्धुपाल्चोक, सिरहा, खोटांग, म्याग्दी, पाँचथर, ताप्लेजुङ, बाजुरा, दोलखा, कालिकोट, धनकुटा, धनुषा, कैलाली प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्यांकनको स्तर ८० देखि ९० प्रतिशतको बीचमा रहेको छ भने सप्तरी र डोल्पा जिल्लाले ७७.५ अंक प्राप्त गरेका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्

२८ औं विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले '२८औं विश्व आदिवासी दिवस' संयुक्तरुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि विगतका वर्षहरु जस्तै विभिन्न कार्यक्रम गरेको विश्व आदिवासी दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब दिइने बताए । ‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौं । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौं, देखाउन चाहन्छौं,' उनले भने ।

दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले साउन २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ । महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाहरुको अगुवाइमा विभिन्न कार्यक्रम हुने भएको छ । मूल समारोहले पत्रकार सम्मेलनमार्फत ती संस्थाहरुको नेतृत्वमा हुने कार्यक्रमहरुको विषय, स्थान र समयसमेत सार्वजनिक गरेको छ ।

दिवसकै सन्दर्भमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघले साउन २० गते नेपाल पर्यटन बोर्डमा ‘चलचित्र प्रदर्शनी तथा विशेष सांस्कृतिक कार्यक्रम’ गर्ने भएको छ भने राष्ट्रिय आदिवासी जनजति महिला महासंघले साउन २१ गते काठमाडौंमै ‘आदिवासी जनजाति ज्ञानको संरक्षण र पुुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

दिवसको अवसर पारेर नेपाल मगर संघले काठमाडौंमा साउन २१ गते ‘मगरात सभ्यतामा पहिचानको आधारहरु विषयक’ विचारगोष्टी गर्दैछ भने किरात राई यायोख्याले साउन २२ गते ‘३५औं स्थापना दिवस तथा प्रदेश नं. १ किरात प्रदेश’ विषयमा बहस गर्दैछ ।

२८औं विश्व आदिवासी दिवस र आफ्नो २३औं स्थापना दिवसलाई सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले काठमाडौंमा साउन २३ गते ‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ विषयक अन्तरक्रिया गर्ने भएको छ ।

दिवसकै सन्दर्भ पारेर आदिवासी जनजाति युुवा महासंघ नेपालले प्रदेश १ को इलाममा साउन २८ गते ‘आदिवासी जनजातिको मुुद्धाहरुमा आधारित नेतृत्व निर्माण’ विषयक प्रशिक्षण कार्यक्रम गर्ने तालिका महासंघले सार्वजनिक गरेको छ ।

विश्व आदिवासी दिवसलाई नै सन्दर्भ पारेर इण्डिजिनियस टेलिभिजनले साउन २० देखि २७ गतेसम्म ‘आदिवासी जनजातिहरुको सवाल एक हप्ते टेलिभिजन बहस कार्यक्रम’ संचालन गर्ने भएको छ ।विश्वका आदिवासीहरुले हरेक वर्षको ९ अगष्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउँदै आएको छन् ।

प्रकाशित : श्रावण १९, २०७९ २२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×