१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५९ जिल्लामा डेंगु, ६०४ बिरामी भेटिए

बुनु थारु

काठमाडौँ — बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् ।

५९ जिल्लामा डेंगु, ६०४ बिरामी भेटिए

जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् । गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा काठमाडौँमा ६१ र ललितपुरमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ३ जना मात्र डेंगुका बिरामी भेटिएको ईडीसीडीले जानकारी दिएको छ । बर्खायाममा किटजन्य रोगहरु डेंगु, मलेरिया, स्क्रब टाइफस आदिको बढी जोखिम हुने गर्दछ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतीष विष्टले ललितपुरमा असार ९ गते पहिलो केस देखिएको बताउँदै श्रावणसम्म आउँदा संक्रमणदर बढिरहेको बताए । उनका अनुसार धेरैजसो बिरामी महालक्ष्मीस्थान र थसिखेलमा देखिएको छ । उनले डेंगु संक्रमणको रोकथामका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम गरिएको जनाए ।

उनले भने‚ ‘हामीले स्थानीय तहमा स्वास्थ्य संयोजक, महामारी नियन्त्रणका लागि फोकल पर्सन, स्वंयसेविकाहरूसित मिलेर छलफलपश्चात यही साउन १६ र १७ गते बढी संक्रमित देखिएको वडा नं. १४ र ५ मा लार्भा खोज्ने र नष्ट गर्ने काम भयो । नियन्त्रणमा आउला भन्ने आशा गरेका छौँ ।’ उनले डेंगुको संक्रमण हुन नदिन घर वरिपरि फोहोरमैलाको उचित व्यवस्थापन गर्न, पानी जम्न सक्ने भाँडाहरु सफा राख्न र गमलाको प्लेटमा जम्ने पानी हप्तामा कम्तीमा दुईपल्ट सफा गर्न आग्रह गरे ।

ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा. गोकर्ण दाहालले अझै ३ महिना लामखुट्टे बढी मात्रामा सक्रिय हुने भएकाले सजगता अपनाउन आग्रह गरे । ‘लामखुट्टेको लार्भा खोज्ने अनि नष्ट गर्ने तथा जनचेतनाको अभियान चलिरहेको नै छ । बढी संक्रमण पुष्टि भएको ठाउँमा हामीले निगरानी पनि बढाएका छौँ,’ उनले भने ।

वि. सं. २०७६ मा डेंगुले प्रकोपको रुप लिएको थियो‚ जसमा ६ जनाले ज्यान गुमाएका थिए भने १६ हजारभन्दा बढी अस्पताल भर्ना भएका थिए ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगुको लक्षण फ्लु, कोभिड तथा अरु संक्रामक रोगसँग मिल्दोजुल्दो हुने भएकाले चनाखो रहनुपर्ने बताउँछन् । उनले कोभिडलाई मात्र प्राथमिकतामा राख्दा डेंगुलाई नजरअन्दाज गरिएको बताए । डा. पुन भन्छन्‚ ‘यो लामखुट्टे सक्रिय हुने मौसम हो । आफ्नो घरवरिपरि मात्र होइन; सफा मात्र गरेर पुग्दैन । कार्यस्थलमा पनि लामखुट्टेले टोक्न सक्छन्; त्यसैले ध्यान दिनुपर्छ । यो लामखु्ट्टे बिहानपख र सूर्यास्त हुनुभन्दा केही घण्टाअघि सक्रिय हुने भएकाले घरमात्र होइन आफ्नो कार्यस्थलमा पनि सजगता अपनाउनुपर्ने हुन्छ ।’

उनले एउटै ठाउँमा पटक-पटक डेंगु देखिए त्यो घातक हुन सक्ने र अस्पताल भर्ना हुने जोखिम बढाउने बताए । ‘डेंगुका ४ वटा सिरोटाइप हुन्छन् । यदि यो वर्ष डेंगु १ ले संक्रमण गरेको छ भने अर्को वर्ष २, ३ वा ४ ले संक्रमण गराउँदा त्यो कडा लक्षण हुन सक्छ । डेंगुको कुन सिरोटाइप देखिइरहेको छ भनेर जाँच गरिराख्नुपर्छ ।’

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासि ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुाडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ ।

प्रकाशित : श्रावण १९, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?