कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दिल्लीमा निधिको राजनीतिक भेटघाट

कान्तिपुर संवाददाता

नयाँदिल्ली — धार्मिक यात्राका क्रममा अयोध्या आएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दिल्ली आएर राजनीतिक भेटवार्ता थालेका छन् । बुधबार अपराह्न  भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटेका निधिले भारतका सडक परिवहनमन्त्री नितिन गडकरीसँग भेटघाट गरेका छन् ।

दिल्लीमा निधिको राजनीतिक भेटघाट

मन्त्रीसँगको भेटमा उनले दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालाई पनि सहभागी गराएका छन् । पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिले सरकारी भेटघाटको क्रममा राजदूतको सहभागिता गराएका हुन् ।

केही समयअघि मात्र दिल्ली आएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कुनै पनि भेटमा राजदूतलाई सहभागी गराएका थिएनन् । निधि र गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।

सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या-भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन्।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएको निधिका प्रेस संयोजक रामजी दाहालले बताए । जटही-जनकपुर-ढल्केवर ६ लेनको सडक निर्माण सम्पन्न भइरहेका बेला त्यसको कनेक्टिभिटी थप बढाउन निधिले आग्रह गरेका हुन् ।

यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावतसँग पनि भेटघाट भएको छ । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायत विषयमा छलफल भएको दाहालले जानकारी दिए ।

प्रकाशित : श्रावण १९, २०७९ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?