सप्तकोसीमा पानीको बहावमा उतारचढाव- समाचार - कान्तिपुर समाचार

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

रासस

इनरुवा — सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । बुधबार राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो ।

आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।

कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताए ।

सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ ।

स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्

कोसी ब्यारेज निरीक्षण गर्न बिहारका सिँचाइमन्त्री सुनसरीमा

अवधेश झा

सप्तरी — भारतको बिहारका जल संसाधन (सिँचाइ) मन्त्री सन्जयकुमार झा कोसी ब्यारेजको निरीक्षण गर्न सुनसरीमा आएका छन् । यस क्रममा उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।

कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा छिमेकी देश भारतको बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् ।

सप्तरीका प्रजिअ जनार्दन गौतमका अनुसार उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा क‍ेही दिनदेखि नै अविरल वर्षासँगै कोसीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । कोसीको बाढी बस्तीमा प्रवेश गर्न थालेपछि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।

हरेक वर्ष कोसीमा आएको बाढीका कारण भारतको बिहारका बासिन्दाहरू पनि प्रभावित हुने गरेका छन् । नेपालमा भने पछिल्लो केही दिनयता कोसीको बहाब बढेपछि ब्यारेजमा रहेका ५६ मध्ये ४६ वटा गेट खुला गरिएको छ ।

गत वर्ष पनि कोसीको बाँध भत्किँदा भारतको बिहारका हजारौं मानिस विस्थापित भएका थिए । यस्तै २०६५ सालको भदौमा कोसीको तटबन्ध भत्किएपछि नेपाल र भारतका कतिपय जिल्लाहरू जलमग्न हुनुका साथै ठूलो जनधनको क्षति भएको थियो । त्यसबेला हजारौं मानिस विस्थापित भएका थिए ।

प्रकाशित : श्रावण १९, २०७९ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×