१६ वर्षे किशोर ९ महिनादेखि कारागारमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ वर्षे किशोर ९ महिनादेखि कारागारमा

बालसुधार गृह पठाउनुपर्नेमा उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि चलान 
प्रकाश बराल

बागलुङ — ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती एक वर्षअघि चोरी आरोपमा पक्राउ पर्दा १६ वर्षका मात्रै थिए । कानुनअनुसार उनी बालबालिकामा पर्छन् । मुद्दा चलेपछि उनलाई बालसुधार गृहमा पठाउनुपर्ने थियो । तर जिल्ला अदालतले उनको उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनको मुद्दाले भने ९ महिना बित्दा पनि सुनुवाइको मौका पाएको छैन । 

अदालतले गत कात्तिक ११ मा विशाललाई पुर्पक्षमा पठाउँदै ढोरपाटन–९ को वडा कार्यालय र उनले अध्ययन गरेको सरस्वती आधारभूत विद्यालयलाई जन्मदर्ता उपलब्ध गराइदिन पत्र लेखेको थियो । पत्रको उत्तर नआएको भन्दै अदालतले उनको मुद्दामा सुनुवाइ गरेको छैन । ‘जन्मदर्ताको कागजात नभेटेकाले उनको मुद्दा पेसी चढ्न नसकेको हो,’ तहसिलदार अधिकृत जगतबहादुर भण्डारीले भने, ‘एकपटक फेरि विद्यालय र वडामा ताकेता गर्छौं ।’

विशालको घरमा केही वर्षअघि आगलागी भएको थियो । सरस्वती आधारभूत विद्यालय तीन वर्षअघिको भुजी खोलाको पहिरोले बगायो । उक्त विद्यालयमा पुराना कागजात छैनन् । विशालपछि जन्मेका उनका भाइ ११ वर्षका मात्र छन् । बाबु बेगबहादुरले भने प्रहरी चौकीमा छोरा ३६ वर्ष भएको कागजमा हस्ताक्षर गरेका थिए । ४६ वर्षीय उनी पढ्न–लेख्न जान्दैनन् । ‘छोरा चकचके र चोरी गर्दै हिँड्ने भएपछि केही समय जेल बसोस् भनेर सही गरिदिएको हुँ,’ उनले भने, ‘अरू कुरा थाहा भएन ।’ बेगबहादुरका अनुसार विशालले कक्षा ६ सम्म मात्रै पढेका छन् र उनी पक्राउ पर्दा १६ वर्षका मात्र थिए । अदालतले कारागारमा पठाएको पुर्जीमा विशालको उमेर ३६ वर्ष लेखिएको छ । सोही पत्रको अदालतको फाइलमा भने ३६ वर्ष काटेर १८ वर्ष लेखिएको छ । काटेको स्थानमा कसैको हस्ताक्षर छैन । ‘यो कागज मैले नै लेखेको हो, काटेको पनि मैले हो, त्यसैले हस्ताक्षर गरिनँ,’ तहसिलदार अधिकृत भण्डारीले भने । तत्कालीन वैतनिक कानुन व्यवसायी हरिप्रसाद गौतमले अदालतमा बहस गर्दै विशाल बालक भएकाले सुधार गृह पठाउनुपर्ने बताएका थिए । ‘तर कागजमा भएको उमेरका कारण उनी जेल पुगे,’ उनले भने ।

पक्राउपछि स्वास्थ्य परीक्षण गरिएको रिपोर्टमा धौलागिरि अस्पतालले विशालको उमेर १३ देखि १९ वर्ष लेखेको छ । कारागारका प्रमुख डिलबहादुर केसीले विशाल बानी व्यवहारले बालक नै भएको बताए । ‘हामीलाई ३६ वर्षको भन्ने लेखिएको पत्र पठाइएको छ तर उनको बानी बालककै जस्तो छ,’ उनले भने, ‘हामीले बहस गर्न मिलेन, कागजमा जे लेख्यो, त्यही भन्ने हो ।’

ढोरपाटन–९ का तुलबहादुर विकले आफ्नो पसलबाट ४ लाख रुपैयाँ चोरेको आरोप लगाउँदै उजुरी दिएपछि विशाल पक्राउ परेका थिए । विशालले भने आफूले पैसा नचोरेको दाबी गर्दै आएका छन् । उनले आफ्नो बचाउमा बाबुआमाले नबोलेको गुनासो पनि गरे । ‘बाबुआमा अहिलेसम्म भेट्न पनि आउनुभएको छैन, चौकीमा पनि मेरोबारेमा केही बोलिदिनु भएन,’ विशालले भने, ‘तर मैले पैसा चोरेको होइन । बेला–बेला खाने कुरा चोर्दा यति ठूलो मुद्दा पर्‍यो ।’ विशालकी आमा उजेलीले भने जेलबाट छुटाउन धेरै पैसा तिर्नुपर्छ भन्ने सुनेपछि छोरा भेट्न नगएको बताइन् ।

वडासचिव थमप्रसाद घर्तीले अदालतको पत्र आएको बारे आफूलाई थाहा नभएको बताए । ‘अब खोजी गरेर पठाउनुपर्ला,’ उनले भने, ‘रेकर्ड हेरेर यकिन उमेर पठाउँछु । उनी बढीमा १८ वर्षका हुन सक्छन् ।’ अधिकारकर्मी राम शर्माले यस्ता विषयमा सरकारी वकिल र वैतनिक वकिल सचेत र संयम बन्नुपर्ने बताए । ‘सानो उमेरमा जेल सजाय दिँदा बालमनोविज्ञान असर पर्छ,’ उनले भने, ‘सुधार गृहमा पठाउनुपर्थ्यो ।’

प्रकाशित : श्रावण १९, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

‘ताइवानको साथ छाड्दैनौं’

कान्तिपुर संवाददाता

बेइजिङ/ताइपेई सिटी — चीनको चेतावनीबीच ताइवान पुगेकी अमेरिकी सभामुख नान्सी पेलोसीले ‘आफ्नो देशले तोकतान्त्रिक टापु ताइवानको साथ नछाड्ने’ बताएकी छन् । ताइवानकी राष्ट्रपति साई इंग–वेनसँगको ऐतिहासिक भेटवार्ताका क्रममा पेलोसीले ‘लोकतन्त्रको विश्वव्यापी प्रवर्द्धनका लागि अमेरिका दृढ रहेको’ बताएकी छन् । 

बुधबारको पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले ‘आफ्नो भ्रमणबारे कडा प्रतिक्रिया जनाएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको नियतबारे प्रश्न गरिन् । ‘यो प्रस्ट हुनका लागि निकै महत्त्वपूर्ण सन्देश हो । ताइवानको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध छ । यो सबै लोकतन्त्र र स्वतन्त्रताका पक्षमा हाम्रो समान मूल्यमान्यता हो र ताइवान विश्वका लागि एक उदाहरण हो,’ उनले भनिन्, ‘आफ्नो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति सीलाई कुनै असुरक्षा छ भने त्यो मलाई थाहा छैन ।’

वर्तमान विश्वले लोकतन्त्र र निरंकुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको पेलोसीको भनाइ छ । विगतमा पुरुष सांसदहरूले ताइवानको भ्रमण गर्दा चीनले केही नबोलेको तर आफू आउँदा अनावश्यक रूपमा ठूलो विवाद गरेको पेलोसीको गुनासो छ ।

ताइवानले अमेरिकी सभामुख पेलोसीलाई उच्च नागरिक सम्मान ‘अर्डर अफ पर्पसियस क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन’ समेत प्रदान गरेको छ । राजधानी ताइपेई सिटीमा बुधबार भएको कार्यक्रममा ताइवानी राष्ट्रपति साईले पेलोसीलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

ताइवान भ्रमण गरेकोमा सभामुख पेलोसीलाई राष्ट्रपति साईले धन्यवाद दिएकी छन् । उनले पेलोसी ताइपेईमा अवतरण गरेपछि चीनले अनावश्यक सैन्य अभ्यास गरेको बताएकी छन् । पेलोसी ताइपेईमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि नै सैन्य अभ्यास सुरु गरेको थियो । उनको भ्रमण सकिएसँगै चिनियाँ सेनाले ताइवानको स्वशासित टापु क्षेत्रमा थप सैन्य अभ्यास गर्ने जनाएको छ । सेनाले बिहीबारदेखि आइतबारसम्म टापुका ६ वटा क्षेत्रमा ‘लाइभ फायरिङ’ सहितको अभ्यास गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने भन्दै विरोध जनाएको छ ।

पेलोसीको भ्रमणले ‘एक चीन’ नीति उल्लंघन गरेको चीनको आरोप छ । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको भन्दै आलोचना गरेका छन् । विदेशमन्त्री वाङले पेलोसीको भ्रमणलाई लिएर २४ घण्टाभित्र दोस्रो पटक वक्तव्य जारी गरेका हुन् । ताइवानलाई आफ्नो अभिन्न भूभाग बताउँदै आएको चीनले अमेरिकी अधिकारीलाई बोलाइएको विषयमा शृंखलाबद्ध आक्रामक अभिव्यक्ति दिइरहेको छ । पेलोसी ताइवान उत्रेपछि क्रुद्ध चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर भ्रमणबारे आधिकारिक रूपमा विरोध जनाइसकेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×