कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हात-हातमा मल्टिप्लेक्स

घरमा छँदा इन्टरनेट कनेक्सनबाट स्मार्ट टीभीमा र बाहिर निस्कँदा जहाँ पुगे पनि हातैपिच्छे स्मार्टफोनमा फिल्म, सिरिज, डकुमेन्ट्री र पडकास्ट हेर्ने सुविधा बढाउन प्रतिस्पर्धा
सजना बराल

काठमाडौँ — अझै पनि कोभिड–१९ का बिरामीको संख्या अलिकति बढ्नासाथ सबैभन्दा पहिला बन्द गरिने ठाउँ भनेको फिल्म हल नै हुन्छ । सन् २०२०/२१ मा विश्वमा महामारी फैलिएर सबैतिर लकडाउन गरिएका बेला फिल्म हल ठप्पै भएका थिए । हलसँगै फिल्म क्षेत्रकै भविष्यलाई लिएर आशंका गरिन्थ्यो । त्यही मेसोमा कतिपय फिल्मकर्मी व्यवसाय नै छोडेर पलायन भए । तर, अवस्था सुध्रिनासाथ हल खचाखच भरिए भने फिल्म क्षेत्र पुनः मौलायो । 

हात-हातमा मल्टिप्लेक्स

तर, फिल्म क्षेत्र जुर्मुराउन कोभिड महामारी मत्थर भइरहनु परेन । लकडाउनकै बेला इन्टरनेटका अनलाइन भिडियो स्ट्रिमिङ सेवाले फिल्म र वेब सिरिजहरूमार्फत दर्शकको मन भुलाउन मद्दत गरे । नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नी प्लस हटस्टार जस्ता ओटीटी प्लाटफर्मको व्यापार र चर्चा विश्वभर फैलियो । नेटफ्लिक्स र डिज्नी प्लसले ग्राहकको घरमा जाने डेटाको खपत २५ प्रतिशत कम गर्न पिक्चर क्वालिटी घटाए । इन्टरनेटमा बाधा नपरोस् र डाउनलोड स्पिड अवरुद्ध नहोस् भनेर त्यसो गरिएको थियो । अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्मको व्यापक सफलताबाट प्रेरित भएर त्यो बेला स्थानीयस्तरमा समेत टन्नै ओटीटी प्लाटफर्महरू निर्माण भएका थिए ।

हामीकहाँ नै नेट टीभी, आइफ्लिक्स, नेपालफ्लिक्स, चलचित्र टीभी, वाउटाइम, फोपी, सिनेमाघर, भिडियो प्लसजस्ता प्लाटफर्म सञ्चालनमा आए । भारतमा अल्टबजाज, सोनीलिभ, जियोसिनेमा, जीफाइभ आदि छन् । यीसँगै होइचोइ, आहा भिडियो, चौपाल, प्लानेट मराठीजस्ता स्थानीय तहमा बनेका साना ओटीटी प्लाटफर्मसमेत भारतमा सक्रिय रूपमा चलिरहेका छन् । तर, यी प्लाटफर्मलाई बजारमा टिक्न मुस्किल परेको सञ्चालकहरू बताउँछन् । हामीकहाँ त लकडाउनकै बेला आइफ्लिक्स, चलचित्र टीभीजस्ता प्लाटफर्म बन्द भए ।

प्रशस्त लगानी प्राप्त गर्ने नेटफ्लिक्स, अमेजन प्राइमजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नु स्थानीय, साना ओटीटीलाई गाह्रो पर्ने होइचोइ नामक बंगाली ओटीटी प्लाटफर्मकी प्रमुख कार्यकारी अधिकृत सौम्या मुखर्जीले ‘द मिन्ट’ पत्रिकासँग भनेकी छन् । ‘उत्पादन लागत बढ्दै गएकाले हामीले अत्यन्तै विचार पुर्‍याएर कन्टेन्ट बनाउने गरेका छौं,’ उनले भनेकी छन्, ‘कन्टेन्ट गज्जब नै छ भन्ने लागेपछि मात्रै त्यसमा हात हाल्छौं ।’ ठूला ओटीटी प्लाटफर्मझैं सानालाई लगानीको कुनै सुनिश्चितता नहुने भएकाले यसमा धेरै जोखिम रहेको उनको भनाइ छ ।

साना प्लाटफर्मलाई लिएर सौम्याको जुन अनुभव छ, त्यो ठूलामा पनि अहिले लागू हुन थालेको छ । पछिल्लो समय नेटफ्लिक्सजस्तो विशाल ओटीटी कम्पनीको व्यवसाय गिर्दो अवस्थामा पुगेको छ । सन् २०२२ को पहिलो तीन महिनामा यसको ग्राहक संख्या २ लाखले घटेका थिए । यो तथ्यांक बाहिर आउँदा ठूलै तरंग सिर्जना भएको थियो । हालै सार्वजनिक गरिएको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (अप्रिल–जुन) को आम्दानी विवरणमा नेटफ्लिक्सले ९ लाख ७० हजार सब्स्क्राइबर (ग्राहक) गुमाएको देखिन्छ । कम्पनीले २० लाख गुमाउने अपेक्षा गरेको थियो । त्यसको आधा मात्रै सब्स्क्राइबर घटेको तथ्यांक आउँदा लगानीकर्ताले केही राहत महसुस गरेका छन् । रोयटर्सका अनुसार पछिल्लो एक वर्षमा नेटफ्लिक्सको सेयर करिब ७० प्रतिशतले घटेको छ ।

अमेरिका र क्यानडाजस्ता ठूला बजारबाट नेटफ्लिक्सले आफ्ना पेड सब्स्क्राइबर (पैसा तिरेर सेवा लिने) गुमाइरहेको छ । कम्पनी स्थापनाको २५ वर्षपछि एकसाथ यत्तिको संख्यामा ग्राहक घटेको यो पहिलो घटना भएको हो । यो स्थितिका कारण कम्पनीले सयौं कर्मचारी कटौती गरेको थियो । विश्वकै ठूलो र प्रियमध्येको एक, नेटफ्लिक्सको यो अवस्थाले के संकेत गर्छ ? वा, यसले यति चाँडै किन ग्राहक गुमाइरहेको छ ? अबको भविष्य ओटीटीकै हो भनिएका बेला ओटीटीकै प्रमुख कम्पनीले ग्राहक टिकाउन नसक्नुको अर्थ के हो ? नेटफ्लिक्सको यो स्थितिले समग्र स्ट्रिमिङ व्यवसायकै भविष्यमाथि शंका उत्पन्न गराइदिएको छ ।

कारण के होला ?

द वासिङ्टन पोस्टमा नेटफ्लिक्ससम्बन्धी १९ जुलाईमा प्रकाशित लेखअनुसार कम्पनीले विशेषतः अमेरिका र युरोपमा ग्राहक संख्या गुमाउनुको प्रमुख कारण भनेको विश्व अर्थतन्त्रमा देखिएको मन्दी, मूल्य वृद्धि र अर्थतन्त्रसम्बन्धीका अन्य भयहरू हुन् । युक्रेनमा जारी युद्धले निम्त्याएको आर्थिक अनिश्चितताका कारण संसारका विभिन्न देशहरूको अर्थतन्त्र संकटतर्फ अघि बढेको छ ।

कतिपय देश ऋणमा डुबिसकेका छन् भने केही आफ्ना नागरिकका आधारभूत आवश्यकता पूर्तिका लागि संघर्षरत छन् । यस्तोमा मानिसहरूले मनोरञ्जनका गतिविधिमा गर्ने खर्च कटौती गर्नु स्वाभाविक भयो । यसले ओटीटी प्लाटफर्मको बजारलाई धक्का दिएको छ । अतः सुस्त आर्थिक वृद्धि, बढ्दो मुद्रास्फीति र भू–राजनीतिक घटनाहरूलाई ओटीटीको बजार खुम्चिनुको एक कारण मानिएको छ ।

समग्र ओटीटी नभई नेटफ्लिक्सका मात्रै ग्राहक घट्नुको मूल कारणचाहिँ बढ्दो प्रतिस्पर्धा हो । बजारमा अन्य ओटीटी प्लाटफर्मको आगमनपछि ग्राहक छरिएका छन् । विशेषतः एप्पल टीभी, डिज्ने प्लस, अमेजन प्राइम, एचबीओ म्याक्सजस्ता प्लाटफर्मले गर्दा मानिसहरू नेटफ्लिक्समा मात्र सीमित छैनन् । पछिल्लो तीन वर्षमा परम्परागत इन्टरटेन्मेन्ट कम्पनीहरूले आ–आफ्ना स्ट्रिमिङ प्लाटफर्म सुरु गरेका छन् । डिज्ने, वार्नर ब्रोज, डिस्कभरी, पारामाउन्टजस्ता कम्पनीका आफ्नै ओटीटी प्लाटफर्म छन् । फ्रेन्ड्स, द अफिसजस्ता पुराना ऐतिहासिक शृंखलाहरू पहिले नेटफ्लिक्सले राख्ने गर्थ्यो । अब त्यस्ता कटेन्ट अन्य ओटीटीबाट आउँछन् । यसले नेटफ्लिक्सका ग्राहक भड्काइदिएको छ ।

त्यसमाथि, स्थानीय तहमै बनेका कतिपय प्लाटफर्मले त्यहाँका दर्शकको मन जितिरहेका छन् । यस्ता प्लाटफर्मले मौलिक र ठेट भाषा, संस्कृतिमा विषयवस्तु पस्किने गर्छन् । ‘नेटफ्लिक्स र अमेजनजस्ता ठूला कम्पनीले नदेखेका वा नभेटेका कन्टेन्ट हामी दिन्छौं,’ भारतको प्लानेट मराठी नामक ओटीटी प्लाटफर्मका संस्थापक अक्षय बर्दापुर्करले भनेका छन्, ‘यसका साथै दूरसञ्चार र एग्रिगेटर कम्पनीसँग मिलेर हामीले मार्केटिङ र प्रमोसनका काममा पनि ध्यान दिन थालेका छौं ।’ लोकल ओटीटीले सस्तो दरमा स्ट्रिमिङ सेवा दिने गरेका छन् । नेटफ्लिक्स यसै पनि महँगो मानिन्छ । यसले जुन स्तरको सेवा दिन्छ, त्यसको तुलनामा शुल्क भने असाध्यै महँगो भएको गुनासो मानिसहरूले गर्ने गरेका छन् । गत मार्चमा नेटफ्लिक्सले अमेरिका र युरोपमा सब्स्क्रिप्सन प्राइस (ग्राहक सदस्यता शुल्क) लगभग १० प्रतिशतले बढाएको पनि थियो । यसले ग्राहकलाई बेस्सरी चिढ्यायो । तर, आम्दानीका अन्य स्रोत नभएकाले शुल्क बढाउनु नेटफ्लिक्सको बाध्यता थियो ।

एप्पल टीभीका सिरिज र डिज्नेका पारिवारिक शृंखलाले मनग्गे आकर्षण बटुलिरहेका बेला नेटफ्लिक्सका अधिकांश कटेन्ट अब्बल हुन छाडेको भन्ने गुनासो सुनिन्छन् । कन्टेन्टमा दर्शकले मनग्गे विकल्प पाएकाले नेटफ्लिक्सले ग्राहक टिकाउन नसकेको पनि विश्लेषण छन् । यसका साथै, नेटफ्लिक्सको पासवर्ड सेयरिङ मोडलले पनि यसलाई मर्का पारिरहेको छ । सन् २०२१ मा नेटफ्लिक्सका आधिकारिक ग्राहक २२ करोड २० लाख थिए । तर, थप १० करोडले नेटफ्लिक्सको सेवा लिइरहेको कम्पनीको अनुमान थियो । यीमध्ये २ करोड त अमेरिका र क्यानडामा मात्रै रहेको नेटफ्लिक्सको भनाइ थियो । यी यस्ता ग्राहक हुन्, जो अरूसँग पासवर्ड लिएर सित्तकै नेटफ्लिक्सका भिडियो हेर्छन् । पछिल्लो समय कम्पनीले पासवर्ड सेयरिङमा केही कडाइ गरेको हुनाले पनि ग्राहक घटेको हुन सक्छ ।

कोभिड–१९ महामारी रोकथामका लागि लागू गरिएको लकडाउन अवधिमा नेटफ्लिक्सको बजार व्यापक मात्रामा वृद्धि भएको थियो । त्यो बेला मानिसहरू घरभित्रै बस्न बाध्य थिए, गर्ने काम केही थिएन । फिल्म, वेब सिरिजहरू समय काट्ने गतिलो मेलो बने । त्यही बेला नै सब्स्क्राइबर संख्या बढ्नुपर्ने जति ह्वात्तै बढेर उच्चतम बिन्दुमा पुगेको द क्विन्ट अनलाइनको ‘नो चिल फर नेटफ्लिक्स’ रिपोर्टमा भनिएको छ । महामारी घट्दै गएपछि लकडाउन पनि खुकुलो भयो, मानिसहरू घरबाहिर निस्के । र, बिस्तारै फिल्म हल, रंगमञ्च पनि खुले । यसले गर्दा नेटफ्लिक्सको भर पर्नुपर्ने अवस्था रहेन, ग्राहक घटे ।

अब नेटफ्लिक्समा विज्ञापन

‘हाम्रा लागि चुनौती र अवसर भनेको हामीले विगत २५ वर्षदेखि गर्दै आएको प्रोडक्ट (उत्पादन), कन्टेन्ट (सामग्री) र मार्केटिङ (बजार प्रवर्द्धन) को सुधारलाई निरन्तरता दिँदै आम्दानी र सदस्यता बढाउँदै लग्नु हो,’ दोस्रो त्रैमासिकको आर्थिक विवरण पेस गर्दै नेटफ्लिक्सले हालै आफ्ना लगानीकर्तामाझ भनेको थियो, ‘हामीले हाम्रा ठूला दर्शकहरूलाई अझै राम्रोसँग मनिटाइजेसन (मुद्रीकरण) मा जोड्नुपर्नेछ ।’ कम्पनीको वार्षिक आम्दानी ३० अर्ब डलरभन्दा बढी छ ।

कम्पनीले मनिटाइजेसनको ढाँचामा सुधार ल्याउनेबारे आफ्ना सेयरहोल्डरलाई पत्रमार्फत जानकारी दिएको सीएनएनको समाचार ‘नेटफ्लिक्स लुजेज सब्स्क्राइबर्स बट स्टप्स द ब्लिडिङ’ मा उल्लेख छ । स्ट्रिमिङ सेवा सुरु गर्दाताका कम्पनीले एकै प्रकारको साधारण सदस्यता शुल्क तोकेको थियो । सन् २०१४ मा यसले विभिन्न प्रकारका सदस्यता शुल्क सार्वजनिक गर्‍यो । अबका दिनमा नेटफ्लिक्सले कम–शुल्कमै उपलब्ध हुने सेवा प्रदान गर्ने योजना बनाएको छ । तर, यसमा विज्ञापनसहितको सेवा पाइनेछ । अहिलेको विज्ञापनरहित सेवा लिनलाई अलि बढी शुल्क तिर्नुपर्ने हुन सक्छ । कम्पनीले सन् २०२३ को सुरुतिर नयाँ सेवा सार्वजनिक गर्ने भनिएको छ ।

सीएनएनका अनुसार विज्ञापनसहितको सेवाका लागि नेटफ्लिक्सले माइक्रोसफ्टसँग सहकार्य गर्दै छ । ‘माइक्रोसफ्टले आफ्नो अर्बौं डलरको विज्ञापन व्यवसायलाई प्रिमियम टेलिभिजन भिडियोमा विस्तार गर्न खोजिरहेका छन्,’ नेटफ्लिक्सलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘हामी त्यस्तो बलियो विश्वव्यापी साझेदारसँग काम गर्न पाउँदा हर्षित छौं । हाम्रो विज्ञापन व्यवसाय पनि केही वर्षमा सुरुवाती दिनको भन्दा केही फरक देखिनेछ ।’

कम्पनीले विज्ञापन मोडलमा कहिले पनि नजाने बताएको थियो । तर, आफूले विज्ञापनरहितको सेवा दिइरहेका बेला अन्य प्रतिस्पर्धीले भने विज्ञापनबाटै मनग्गे आम्दानी गरेपछि नेटफ्लिक्स त्यसतर्फ लाग्न उत्सुक भएको देखिन्छ ।

नेटफ्लिक्सले पासवर्ड सेयरिङमा पनि थप कडाइ गर्ने अनुमान गरिएको छ । यसमा पेड सेयरिङ सर्भिस (साथीभाइ वा आफन्तसँग पासवर्ड मागेर निःशुल्क नेटफ्लिक्स चलाउनेले पनि शुल्क तिर्नुपर्ने) ढाँचा अवलम्बन गर्न लागेको जानकारी कम्पनीले दिएको छ । यसले सदस्यता संख्या तलमाथि बनाए पनि अब त्यसतर्फ जानैपर्ने कम्पनीको भनाइ छ । आम्दानी र ग्राहक संख्या बढाउन नेटफ्लिक्सले आफ्ना कार्यक्रम र सुझावहरू (कन्टेन्ट) मा मनग्गे सुधार गर्ने बताएको छ । कन्टेन्टमा स्थानीयपन दिने भनिएको छ ।

रोयटर्समा आएको १९ जुलाईको लेखअनुसार कम्पनीले अगाडि बढ्न पछाडि फर्किने नीति लिएको छ । यो भनेको फ्रेन्चाइजी नीति हो । जसरी स्टार वार्स, ह्यारी पोर्टरजस्ता शृंखलाले फिल्म र टेलिभिजन शृंखलाको मिश्रित अनुभूति दिँदै आफ्ना बफादार प्रशंसक कमाउन सके, नेटफ्लिक्सले ‘स्ट्रेन्जर थिंग्स’, ‘ला कासा डे पापेल’ (मनी हाइस्ट), ‘स्विड गेम’ जस्ता शृंखलामार्फत त्यस्तै प्रशंसक कमाउन खोजिरहेको छ । डिज्नीले आफ्ना कन्टेन्ट र क्यारेक्टरहरू (जस्तै स्टार वार्स, मिकी माउस आदि) ब्रान्ड बनाएर तीमार्फत मर्चन्डाइज बिजनेस (सामग्री बेच्ने) सञ्चालन गरेझैं नेटफ्लिक्सले पनि सोही बाटो समाउन खोजेको छ ।

स्टार वार्सका टि–सर्ट, ट्राउजर, खेलाउन, जुत्तालगायत सामग्री किन्न पाइन्छन् । यी सामान किन्न मानिसहरू लाइन लाग्छन् । यसमा अर्बौंको व्यापार हुने गरेको छ । नेटफ्लिक्सले पनि ‘स्ट्रेन्जर थिंग्स’ मार्फत फ्रेन्चाइजी नीति आत्मसात् गरिसकेको छ । यसका नाममा बनेका उत्पादन, कार्यक्रम र थिम पार्क वा डिजिटल अभतारको खुद्रा बिक्रीबाट कम्पनीले वार्षिक १ अर्ब डलरको आम्दानी गर्ने अनुमान गरिएको छ । सन् २०२५ बाट यो योजना लागू हुने भनिएको छ । कम्पनीले ‘इनोला होम्स’, ‘नाइभ्स आउट’, ‘ओल्ड गार्ड’, ‘एक्स्ट्र्याक्सन’, ‘आर्मी अफ डेड’ जस्ता शृंखलालाई फ्रेन्चाइजी मोडलमा लग्ने योजना बनाएको छ ।

एसियामा राम्रै, भारतमा खस्किँदो

एसियाली देशहरूमा नेटफ्लिक्सले राम्रै प्रगति गरिरहेको देखिन्छ । सशुल्क सदस्यता लिनेको संख्या एसिया प्यासिफिक क्षेत्रमा बढिरहेको द बिजनेस स्ट्यान्डर्ड अनलाइनले जनाएको छ । सन् २०२१ को डिसेम्बरमा नेटफ्लिक्सले भारतमा मोबाइलबाट नेटफ्लिक्स चलाउनेलाई सदस्यता शुल्क २५ प्रतिशत घटाएर मासिक १ सय ४९ भारु बनाइदिएको थियो । यसले गर्दा एसिया प्यासिफिक क्षेत्रबाट प्राप्त हुने आम्दानीमा २ प्रतिशत कम भएको नेटफ्लिक्सको तथ्यांक छ । जापान, फिलिपिन्स, ताइवानमा

नेटफ्लिक्स चलाउनेको संख्या सन्तोषजनक रहे पनि भारत खस्किँदो अवस्थामा पुगेको छ । भारतमा हाल ५५ लाख रहेको बताइन्छ । त्यहाँ डिज्ने हटस्टारका सब्स्क्राइबर ५ करोड र अमेजन प्राइम भिडियोका सब्स्क्राइबर २ करोड अनुमान गरिएको छ ।

हामीकहाँ ओटीटीका ग्राहकको संख्या कति छ भन्ने तथ्यांक छैन । तर, यहाँ क्यास सर्भर भएका प्लाटफर्मको ब्यान्डविथ खपतबारे नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले नेटफ्लिक्स, अमेजन, युट्युबका ग्राहक प्रशस्तै रहेको औंल्याउँछन् । २०७६/७७ मा ओटीटीको बजार उत्कर्षमा रहेका बेला हामीकहाँ अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत औसतको भन्दा दोब्बर बढी थियो । गुगल, अमेजन, नेटफ्लिक्सजस्ता कम्पनीले दिने सेवाका लागि ब्यान्डविथ खपत धेरै भइरहेको तथ्यांकले देखाएको थियो । त्यो बेला गुगलमा ३३.३ प्रतिशत, नेटफ्लिक्समा २.६ प्रतिशत, अमेजनमा ०.७ प्रतिशत ब्यान्डविथ खपत भएको प्राधिकरणको तथ्यांक थियो ।

अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद र ग्राहक सदस्यताका लागि हाम्रोबाट राम्रै रकम बाहिरने गरेको छ । तसर्थ, सरकारले नेपालमा सेवा दिएर आम्दानी गरेबापत ओटीटी प्लाटफर्मलाई पनि करको दायरमा ल्याउन खोजिरहेको छ । आन्तरिक राजस्व विभागले २२ असारमा विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ र गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि, २०७९ जारी गरेको थियो ।

त्यसमा विदेशी सेवा प्रदायक (युट्युब, टिकटक आदि) वा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवा (विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप, गेमिङ आदि) को कारोबार मूल्यमा २ प्रतिशतका दरले सेवा कर लगाउने व्यवस्था छ । तर, यसको कार्यान्वयन कसरी गरिन्छ भन्नेमा सरकारले जवाफ दिएको छैन ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : श्रावण १८, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?