१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकी सभामुख पुगेसँगै ताइवान वरपर चीनको सैन्य अभ्यास

२५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी
एजेन्सीहरू

ताइपेई सिटी/वासिङ्टन — चीनको कडा चेतावनीबीच अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा पेलोसी मंगलबार साँझ ताइवानको राजधानी ताइपेई सिटीस्थित सोङसान विमानस्थलमा उत्रिएकी हुन् । अमेरिकी उच्च अधिकारीको भ्रमण र चीनको प्रतिक्रियाले दुई शक्ति राष्ट्रबीच तनाव चर्काएको छ । 

अमेरिकी सभामुख पुगेसँगै ताइवान वरपर चीनको सैन्य अभ्यास

सिंगापुर भ्रमण सकेर मंगलबार मलेसिया पुगेकी पेलोसी स्थानीय समयअनुसार साँझ १०.४५ मा ताइपेई सिटीमा उत्रँदा ताइवानका विदेशमन्त्री जोसेफ ऊ र अमेरिकी प्रतिनिधि सन्द्रा ओउडकिर्कले स्वागत गरे । ताइवान पुगेलगत्तै विज्ञप्ति जारी गर्दै पेलोसीले भनेकी छन्, ‘यो भ्रमण जीवन्त लोकतन्त्रप्रति ताइवानको अविचलित प्रतिबद्धतालाई अमेरिकी समर्थन र सम्मान हो । ताइवानका २ करोड ३० लाख जनतासँगको ऐक्यबद्धता आज र सधैंका लागि महत्त्वपूर्ण छ ।’ भ्रमण इन्डो प्यासिफिक पारस्परिक सुरक्षा, आर्थिक साझेदारी एवं लोकतान्त्रिक सुशासनमा केन्द्रित रहेको पेलोसीको विज्ञप्तिमा उल्लेख छ ।

पेलोसीले बुधबार बिहान ताइवानकी राष्ट्रपति साई इंग–वेनसँग भेटवार्ता गर्दै छिन् । चीनको मानवअधिकारका विषयमा कडा आवाज उठाउने अधिकारकर्मीहरूको समूहसँग पनि उनले भेट गर्ने कार्यक्रम छ ।

२५ वर्षयता ताइवान भ्रमण गर्ने पेलोसी पहिलो अमेरिकी उच्च अधिकारी हुन् । सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्युट गिंगरिचले ताइवान भ्रमण गरेका थिए । पेलोसीको कार्यालयले भने यसअघि ताइवान भ्रमणबारे औपचारिक जानकारी दिएको थिएन । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले अमेरिका चीनसँग द्वन्द्व बढाउने पक्षमा नरहेको उल्लेख गर्दै ताइवान भ्रमणबारे पेलोसी आफैंले निर्णय गर्ने बताएका थिए । ‘पेलोसी अमेरिकी संसद्की सभामुख हुन्, उनको भ्रमणको कार्यतालिका सरकारले बनाउँदैन,’ अमेरिकी अधिकारीहरूको भनाइ छ ।

ताइवानलाई आफ्नो अभिन्न भूभाग भन्दै आएको चीनले त्यहाँ अमेरिकी अधिकारीलाई बोलाएको विषयमा शृंखलाबद्ध रूपमा आक्रामक अभिव्यक्ति दिइरहेको छ । पेलोसी ताइवान पुग्नुअघि चीनका विदेशमन्त्री वाङ यीले ताइवान मामिलामा अमेरिकी राजनीतिज्ञले आगोसँग खेलेको भन्दै त्यसको परिणाम सुखद नहुने प्रतिक्रिया दिए । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पनि यस्तै अभिव्यक्ति दिएका थिए । ‘पेलोसीले ताइवान भ्रमण गरे आफ्नो सम्प्रभुता तथा क्षेत्रीय अखण्डता रक्षाका लागि चीनले कडा कदम चाल्नेछ । तर, आगोसँग खेल्न खोज्नेहरू जलेर खरानी हुनेछन् । हामी जुनसुकै घटनाको प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार छौं । पीएलए (चिनियाँ सेना) मूकदर्शक भएर बस्नेवाला छैन ।’

पेलोसी ताइवान उत्रिसकेपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘पेलोसीको भ्रमणले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको र यसले चीन–अमेरिका सम्बन्धको राजनीतिक जगमा गहिरो असर पुग्ने’ प्रतिक्रिया दिएको छ । विज्ञप्तिमा चीनले ‘ताइवान कार्ड नखेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा गलत र खतरनाक बाटोमा अघि नबढ्न’ अमेरिकालाई चेतावनी दिएको छ । चीनले सोमबारदेखि नै ताइवानी सीमा क्षेत्रमा हवाई तथा समुद्री युद्ध अभ्यास गरिरहेको छ ।

यही मौकामा तैनाथ चिनियाँ सेनाले ताइवानमाथि सैनिक दबाब बढाउने रणनीतिक विश्लेषकहरूको अनुमान छ । अमेरिकाले पनि एसिया–प्रशान्त क्षेत्रमा गतिविधि बढाउने अनुमान गरिएको छ । जसका कारण उक्त क्षेत्रको तनाव थप जटिल बन्नेछ । यो वाकयुद्ध वास्तविक द्वन्द्वमा परिणत भए ताइवानमा नयाँ संकट निम्तिने र त्यसले विश्वव्यापी बजार र आपूर्ति शृंखला ध्वस्त पार्न सक्ने विज्ञहरू बताउँछन् । ताइवानले भने आफ्नो भूमि रक्षा गर्न सक्षम र प्रतिबद्ध भएको जनाएको छ । ‘चिनियाँ धम्कीको प्रतिक्रिया दिन ताइवान सक्षम छ । आफ्नो भूमि रक्षा गर्न ताइवानी सेना प्रतिबद्ध, सक्षम र विश्वस्त छ । हामीले विभिन्न तयारी गरिरहेका छौं,’ ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई उपयुक्त समयमा चीनमा एकीकृत गर्ने बताउँदै आएका छन् । ‘मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । र, यो अवश्य पूरा हुनेछ,’ चीनबाट राजशाही अन्त्य भएको ११० औं वर्षगाँठका अवसरमा राष्ट्रपति सीले भनेका थिए । राष्ट्रपति सीले ‘एक देश : दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा ताइवानसँग एकीकरण गर्न चाहेको बताएका थिए । ताइवानले भने बेइजिङका क्रियाकलाप ‘घुसपैठ, उत्पीडन र उत्तेजक’ भएको जनाउँदै त्यस्ता कदम रोक्न आह्वान गर्दै आएको छ ।

सन् १९४० को दशकमा चर्किएको गृहयुद्धले चीन र ताइवान अलग भएका हुन् । माओ त्सेतुङका कम्युनिस्ट सेना र चियाङ काई सेकका कोमिङ्ताङ सेना मिलेर देशलाई जापानी उपनिवेशबाट मुक्त गराएपछि राज्यशक्तिमा पुग्न आपसमा लडेका थिए । भीषण लडाइँपछि चियाङ र उनको कुमिङ्ताङ सरकारका अधिकारी सन् १९४९ मा भागेर ताइवान पुगेका थिए । धेरै समयसम्म ताइवानमा यही समूहको दबदबा थियो । स्थानीय नागरिकले सरकार तानाशाही भएको भन्दै व्यापक विरोध गरेपछि चियाङका छोरा चियाङ चिङ कुओले प्रजातान्त्रीकरणको अभ्यास गरेका थिए । पछि राष्ट्रपति ली तेङ हुईले संवैधानिक परिवर्तन गर्दै प्रजातान्त्रिक राजनीतिक व्यवस्थातर्फ मुलुकलाई लगे । उनलाई ताइवानको ‘प्रजातन्त्रका पिता’ पनि भनिन्छ ।

आफ्नो छुट्टै संविधान रहेको ताइवानमा नेताहरू लोकतान्त्रिक प्रक्रियाबाट चुनिन्छन् । तर चीनले भने ताइवान आफ्नो अभिन्न भुभाग भएको भन्दै उचित समयमा एकीकरण गरेरै छाड्ने बताउँदै आएको छ । संसारका धेरै मुलुक र ताइवानबीच दुई देशको रूपमा दौत्य सम्बन्ध छैन । तर ताइवानले आफ्नो रक्षा गर्न पाउने विषयसँग सम्बन्धित कानुन अमेरिकाले बनाएको छ । ताइवानसँग झन्डै ३ लाख सक्रिय सेना छन् ।

प्रकाशित : श्रावण १८, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?