कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बुङमतीका श्रीधर विष्णु न्युयोर्क म्युजियममा

‘कंकेश्वरी शिव मूर्ति घर फर्काइँदै’ 
देवेन्द्र भट्टराई

काठमाडौँ — बुङमतीको कोता टोलबाट ४० वर्षअघि चोरिएको सिद्धार्थ विष्णुको उभिएको प्रस्तर मूर्ति न्युयोर्कको ‘द मेट्रोपोलिटान म्युजियम अफ आर्ट (मेट म्युजियम)’ मा फेला परेको छ । ११ औं शताब्दीको सिर्जना मानिने यो मूर्ति मेट म्युजियममा रहेको भन्दै सम्पदा खोजबिन अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत वर्ष सूचना सार्वजनिक गरेको थियो ।

बुङमतीका श्रीधर विष्णु न्युयोर्क म्युजियममा

उक्त सम्पदा कोता टोलको बुङमती भिलेजबाट हराएको बारे ‘यथास्थितिको पहिचान’ आइतबार मात्रै भएको हो । पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठले लिएको तस्बिरका आधारमा यो सम्पदाको स्थान पहिचान भएको हो । सन् ८० दशकको सुरुवातमा हराएको यो मूर्ति सन् १९९५ मा मेट म्युजियममा पुगेको थियो । संग्रहकर्ता एभेलिन कोस्सकले द क्रानोस कलेक्सनबाट उक्त मूर्ति मेट म्युजियमलाई उपहारमा दिएका थिए ।

सम्पदा उत्पत्तिको पहिचान र प्रमाणीकरणपछि उत्पत्तिको मुलुक फिर्ता गर्नैपर्ने युनेस्कोको प्रावधानअनुसार प्रमाणसहित हकदाबी प्रस्तुत गरिएपछि मेट म्युजियमबाट तीनवटा सम्पदा घर फर्काइसकिएको छ । ‘लस्ट आर्ट्स अफ नेपाल’ का अनुसार यट्खा टोलबाट हराएको उभिएको बुद्ध प्रतिमा, टंगालका उमामहेश्वर र कंकेश्वरी मन्दिरका शिव प्रतिमालाई फिर्ता ल्याइसकिएको छ ।

सिकागोमा तलेजुको हार !

मेट म्युजियममै इ–वाही, पाटनको नृत्यादेवी, इटुम्बहालको सालभन्जिका, गरुडमा उभिएका विष्णु (पाटन) सहितका सम्पदा फेला परेको बारे ‘लस्ट आर्ट्स अफ नेपाल’ ले यसअघि नै प्रमाणसहितको सूचना सार्वजनिक गरिसकेको छ । यीमध्ये यट्खा टोलको कंकेश्वरी मन्दिरबाट हराएको र मेट म्युजियममै फेला परेको भगवान् शिवको प्रस्तर मूर्ति साउन अन्तिम साता काठमाडौं ल्याइने भएको छ । नवौं शताब्दीको यो सम्पदा फेला परेको बारे एक वर्षअघि सूचना सार्वजनिक भइसकेको र उत्पत्तिको पहिचान/प्रमाणका आधारमा न्युयोर्कस्थित महावाणिज्यदूतावास कार्यालयको जिम्मामा रहेका शिवमूर्ति लिएर म्युजियमका दक्षिण एसियाली कलाविज्ञ जोन गाई काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

मेट्रोपोलिटान म्युजियमबाट घर फर्काउन लागिएको भगवान् शिवको प्रस्तर मूर्ति । यट्खा टोलको कंकेश्वरी मन्दिरबाट झन्डै ४० वर्षअघि हराएको यो मूर्तिलाई नवौं शताब्दीको सिर्जना मानिन्छ ।

झन्डै चार दशकअघि कंकेश्वरीबाट हराएको मूर्ति पनि संग्रहकर्ता एभेलिन कोस्सकले द क्रानोस कलेक्सनबाट मेट म्युजियमलाई उपहारमा दिएका थिए । भगवान् शिवको प्रस्तर मूर्तिसँगै इटुम्बहालबाट चोरी भएको टुँडालको अंश पनि फिर्ता गर्नेबारे सहमतिको अन्तिम प्रक्रिया जारी रहेको जनाइएको छ ।

काठमाडौं उपत्यकाबाट हराएका र मेट म्युजियममै फेला परेका नृत्यदेवी (इ–वाही, पाटन), श्रीधर विष्णु (चाँगुनारायण) र साधुमाथि चढेका नारी अंकित टुँडाल (तलेजु मन्दिर परिसर) फिर्ता गर्ने आवश्यक प्रमाणीकरण प्रक्रियामा पनि कलाविज्ञ जोन गाईले काठमाडौंका केही मठमन्दिरको भ्रमण गर्ने भएका छन् ।

तलेजु हारको लगत अभिलेखालयमा

अमेरिकाको सिकागो म्युजियममा भेटिएको हनुमानढोका परिसरको तलेजु भवानीको हार (कण्ठी) घरफिर्ता ल्याउन दरिलो प्रमाण मानिएको प्रताप मल्लकालीन लगत राष्ट्रिय अभिलेखालयमा बुझाइएको छ । तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले आफ्नै प्रयत्नबाट फेला पारेको लगतबारेको समाचार कान्तिपुरमा असार दोस्रो साता प्रकाशित भएपछि यो प्रमाणलाई अभिलेखालयले संग्रहमा राख्ने र डिजिटल कपी उतार गर्ने उद्देश्यमा अभिलेखालयले लगत जिम्मा लिएको हो ।

तलेजु भवानीको मन्दिरबाट चोरिएको हार (कण्ठी) ।

मल्लकालयता काठमाडौं उपत्यकामा रहेका नेवार समुदायले इष्टदेवीका रूपमा पूजा गर्दै आएको तलेजु भवानीको ‘कण्ठी’ बारेको ऐतिहासिक प्रमाण (लगत) गुठी संस्थानसहित कहींकतै नभेटिएका बेला यो सम्पदा उत्पत्तिको प्रमाण मूल पुजारी कर्माचार्यले उपलब्ध गराएका हुन् । राजा प्रताप मल्ल (नेपाल संवत् ७६१–७९४) को पालादेखि तलेजु भवानीका पुजारीका रूपमा कर्माचार्य सन्तति रहिआएका छन् । ‘२००९ सालसम्म तलेजुमा मूल पुजारी रहेका मेरा बाजे देवमानले तलेजु अभिलेखको प्रतिलिपि उतारेर राखेको प्रमाण भेटेपछि मैले त्यो सूचना बाहिर ल्याएको थिएँ,’ कर्माचार्यले कान्तिपुरसँग भने ।

न्युयोर्कमा भेटिएका ७ सय वर्ष पुराना तीन सम्पदा घर फर्किए

फेला परेको लगतमा राजा प्रताप मल्लले तलेजु भवानीमा चढाएको ‘ठूलो कण्ठी’ को स्पष्ट विवरण समेटिएको छ । ‘चाँदीका पातमा सुनका मलम्बा लाग्याको, पक्का मोतीको घेरा लाग्याको, अष्टमात्रिकाको मूर्ति भयाको, लगनका भगवती देवी भयाको, स्वस्ती श्री राजेन्द्रप्रताप मल्ल भनिएको ठूलो कण्ठी एक’ भन्ने विवरण यो ऐतिहासिक लगतमा भेटिएको थियो । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले तलेजुको हार फिर्ता ल्याउने प्रक्रियामा आवश्यक प्रमाण र उत्पत्तिको आधार जुटाएर सिकागो म्युजियमसँग पत्राचार भइरहेको जानकारी दिए । ‘तर हाम्रो सम्पदा फिर्ता गरिने अन्तिम निर्णयबारे सूचना आएको छैन,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?