१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढी-पहिरो पीडितको उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले बाढी-पहिरो पीडितलाई उद्धार र राहतको प्रबन्ध गर्न निर्देशन दिएका छन् । उनले मंगलबार देशभरका बाढी-पहिरो र क्षतिको विवरणबारे जानकारी लिँदै तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

बाढी-पहिरो पीडितको उद्धार र राहतमा खटिन गृहमन्त्री खाँणको निर्देशन

मन्त्री खाँणले मालिका गाउँपालिका-२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा गएको पहिरोले भएको सडक अवरोध र इच्छाकामनामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।

त्यसक्रममा मन्त्री खाँणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख नायब उपरीक्षक तिलक भारतीलगायतलाई बाढी-पहिरोपीडितको उद्धार र राहतको व्यवस्था गर्न निर्देशन गरेका छन् ।

गएराति म्याग्दीको मालिका गाउँपालिका-२ रुममा माथिबाट झरेको पहिरोले घामबहादुर विकसहित दुई जनाको घर बगाउँदा विक‚ उनकी श्रीमती, दुई छोरा र एक छोरीसहित ७ जना बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको, दुई जनाको शव फेला परेको र बाँकी अझै बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार पहिरो गएको स्थान सदरमुकामबाट साढे तीन घण्टा पैदल दूरीमा छ‚ जसले गर्दा उद्धार र राहतमा समस्या भइरहेको छ ।

यता नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगर-२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए । मुग्लिङ-नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए ।

अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म ल्याउने कार्य भइरहेको छ । प्रशासनले सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले रुट परिवर्तन गर्न सूचना जारी गरिएको जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?