पहिचान गुमाउँदै दास समुदाय- समाचार - कान्तिपुर समाचार

पहिचान गुमाउँदै दास समुदाय

डीआर पन्त

डडेलधुरा — दास समुदाय धेरैलाई नयाँ लाग्न सक्छ । सुदूरपश्चिमको डडेलधुरा र बैतडीको सिमानामा दास समुदायको एउटा गाउँ नै छ । डडेलधुराको भागेश्वर गाउँपालिका–४ को सुर्नया नदीमाथि डाँडामा बसेको दास समुदायको यो गाउँ बसेको धेरै वर्ष भएको छैन । उनीहरू बैतडीको तल्लो स्वराडबाट आएका हुन् । दास समुदाय सुदूरपश्चिमका ४ जिल्लामा झन्डै पाँच सय परिवार मात्र भएको अनुमान गरिएको छ । तर, यिनीहरूको छुट्टै अनुसन्धान भएको छैन ।

राजनीतिक व्यवस्था पटक–पटक बदलिए, धेरै जातजाति र समुदायको संस्कृति सभ्यताको उत्थानका लागि राज्यले खर्च गर्‍यो, धेरै कानुन बने । धेरैजसो जातजाति र वर्गका अगुवाले यसबाट फाइदा पनि उठाए तर सुदूरपश्चिमका दास समुदायका बारेमा अहिलेसम्म न राज्यले चासो लियो न त कुनै संघसंस्थाले । बैतडी, डडेलधुरा, डोटी र अछाममा सीमित रहेको दास समुदाय आफ्नो पहिचान, सभ्यता र संस्कृति संरक्षणको पर्खाइमा लोपोन्मुख हुन थालेको छ ।

सूर्नया नदी छेउमा रहेको झुपडीभित्र ७१ वर्षीय वृद्ध, आँगनमा बाँधिएका बाख्रालाई घाँस हाल्दै गरेकी बुहारी, झुपडी छेउमा रहेको पाखोबारीमा काम गरिरहेका छोरा, जो मुम्बईबाट केही दिनअघि मात्र फर्केका हुन् । झुपडी हेर्दा उनको आर्थिक अवस्था सहज अनुमान लगाउन सकिन्थ्यो । छोराले कोही भेट्न आएको बताएपछि लट्ठी टेक्दै बाहिर निस्केका वृद्ध हरि दासले भने, ‘हामी दास हौं, कोही नेपाली भए, कोही भाँण भए, हामी भने पुर्खाको नासो दास थरलाई बोकेर बाँचिरहेका छौं ।’ आफ्ना पुर्खा र समुदायबारे खोजी नै नभएको गुनासो उनको छ । ‘पुर्ख्यौली कता हो ? दास कसरी भए ? सबै बेलीविस्तार त मलाई पनि थाहा छैन,’ उनले भने, ‘हाम्रो समुदायको सबभन्दा बूढो मैं हुँ ।’ दलित समुदायभित्र पनि दलित मानिने दास समुदायका विषयमा धेरैलाई जानकारी नै छैन । उनले गुनासो गर्दै भने, ‘पेट पाल्नकै लागि आफ्नो पुर्ख्यौली थलो छाडेर झन्डै दुई/तीन सय परिवार छिन्नभिन्न भएका छन् ।’ छिन्नभिन्न परिवारमध्ये कोही भारतमा छन्, कोही अछाम र डडेलधुरा । कोही डोटीको जोरायल क्षेत्रमा पुगेको सुनेको उनी बताउँछन् । ‘हाम्रो मूल थलो भनेको बैतडी शिवनाथ गाउँपालिकाको बसेडी भ्वा भन्ने गाउँ हो,’ उनले भने ।

हरिदासले आफ्नो बाल्यकाल सम्झँदै भन्छन् ‘चाडपर्व, बिहे–व्रतबन्ध, मेला, जात्रामा हुड्केली गाउने, घर–घरमा पुगेर नाचगान गरी मनोरञ्जन गराएर पाएको वस्तुबाट पेट पाल्ने हाम्रो पुर्ख्यौली पेसा थियो ।’ आफू सानै छँदा नोकरीका लागि भारत पसेका बाबु घर नफर्केको उनले बताए । ‘मैले नै ७१ पार गरिसकें अब त उनी फर्कने आशा पनि छैन,’ उनले भने । पुर्ख्यौली पेसा नाचगानले पेट पाल्न नसक्ने अवस्था आएपछि मजदुरी गर्न भारतका विभिन्न ठाउँमा पुगेर रोजगारी गर्नुबाहेक विकल्प नरहेको उनी बताउँछन् ।

दासमध्ये धेरैले आफ्नो थर परिवर्तन गरेकाले पछिल्ला पुस्ता निकै कमलाई आफ्नो समुदायका बारेमा जानकारी छ । ५३ वर्षीय नन्सी दास भन्छन्, ‘मैले पनि जवान भएपछि मात्र आफू दास भएको थाहा पाएको हुँ । हाम्रो समुदायका धेरैले नेपाली, दमाईं, राना आदि थर लेख्ने गरेका छन् । बिहेबारी पनि उनै–उनैसँग चलेको छ ।’

को हुन दासहरू ?

लोपोन्मुख हुन थालेको दास समुदाय दास प्रथा उन्मूलन हुनुभन्दा धेरै अघि पूर्वी नेपालबाट खरिदबिक्री हुँदै डोटीको जोरायलमा पुगेका हुन् । जोरायलबाट विस्थापित भएर भारत जाने क्रममा बैतडी पुगेका दासका पुर्खालाई स्थानीय ठकुरीहरूले खान, बस्न केही जग्गा दिएर राखेको किंवदन्ती रहेको वृद्ध हरि दासले बताए ।

सस्कृंतिविद् प्रेमराज पाण्डे दासहरू दलितभन्दा भिन्दै भएको दाबी गर्छन् । डोटीको जोरायलबाट बैतडी पुगेपछि मात्र उनीहरू दलित समुदायमा परिणत भएको उनको दाबी छ । ‘सुदूरका जातजातिहरू’ पुस्तकमा उनले लेखेका छन्, ‘देवदास राख्ने प्राचीन चलनअनुसार दास समुदाय स्थापित भएको देखिन्छ ।’ दास प्रथाअनुसारका दास यिनीहरू नभएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित : श्रावण १६, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

अध्ययनमै सीमित बन्यो विमानस्थल

विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण
विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोटमा विमानस्थल निर्माणका लागि अध्ययन भए पनि अझै निर्माण सुरु हुन सकेको छैन । पछिल्लो पटक २०७५ असोजमा गाउँपालिकाले विमानस्थल निर्माणको लागि अध्ययन प्रतिवेदन सार्वजनिक गरे पनि काम सुरु हुन नसकेको हो ।


पालिकाका पूर्वअध्यक्ष सन्तोष केसीले विमानस्थल बनाउन पहल थालेका थिए । उनको पहलपछि विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन १५ लाख रुपैयाँ खर्च भएको थियो । पालिकाको प्रतिवेदनमा विमानस्थल निर्माणका लागि उक्त ठाउँ सल्यानमा सबैभन्दा बढी उपयुक्त भएको पाइएको थियो । त्यसअघि कोटमा विमानस्थल बनाउन २०१८, ०३५ र ०४८ सालमा ३ पल्ट सर्भे गरिएको थियो । २०१८ मा वन सहायकमन्त्री बनेका सल्यानका नेबबहादुर मल्लले विमानस्थल निर्माणका लागि पहल थालेका थिए ।

सबै ठाउँमा मोटरबाटो पुगेर गाडी गुड्न थालेपछि विमानस्थल निर्माणको काम ओझेलमा परेको लक्ष्मीपुरका खुमबहादुर रावतले बताए । ‘यहाँ विमानस्थल बन्छ भन्दा हाम्रो खुसीको सीमा नै थिएन,’ उनले भने, ‘अब त त्यो कुरा सपनामै सीमित भयो जस्तो लाग्छ ।’ उनका अनुसार पञ्चालयतकालसम्म निर्वाचनमा भोट माग्न आउने नेताहरूले विमानस्थल निर्माणको कामलाई चुनावी एजेन्डा बनाउने गरेका थिए । अहिलेका नेताहरूले विमानस्थल निर्माणको कुरा बिर्सिएको उनको आरोप छ ।

पहिले मोटर बाटो नहुँदा सबैले विमानस्थल निर्माणमा चासो देखाए पनि अहिले बिर्सिएको ६५ वर्षीय कुलमान नेपालीले बताए । ‘एयरपोर्ट भए कम्तीमा दुःख बिराम परेको बेला सहज उपचार पाइन्थ्यो,’ उनले भने, ‘वर्षायाममा बाहिर जान सजिलो हुन्थ्यो ।’ स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिए पनि बाह्रै महिना गाडी चल्ने सडक बनाउन नसकेको उनको भनाइ छ ।

कसैले ध्यान नदिँदा स्थानीयले विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण गरेको स्थानीय हीरालाल रावतले बताए । उनका अनुसार विमानस्थल बनाउने जग्गाको केही भाग स्थानीय आधारभूत विद्यालय र एक निजी कम्पनीले ओगटेको छ । ‘विमानस्थल बनेको भए प्लेनबाट छिटो यात्रा गर्न सकिन्थ्यो । कोही बिरामी भए सहरका अस्पतालमा लैजान सकिन्थ्यो,’ उनले भने, ‘घण्टौंसम्म एम्बुलेन्स तथा अन्य गाडीको भर पर्नुपर्दा बाटैमा बिरामीको ज्यान जाने जोखिम अहिले पनि उस्तै छ ।’ ७० वर्षीय निमलाल भण्डारी विमानस्थलका लागि जग्गा छनोटमा परेपछि केही समय श्रमदान गरेर त्यहाँ रहेका साना थुम्कालाई सम्याएको सम्झन्छन् । ‘एयरपोर्ट बनाउने जग्गा अपायक होला भनेर गोरेटो बाटो पनि बनाएका थियौं,’ उनले भने, ‘अहिले त सबैले एयरपोर्ट बनाउने कुरा बिर्सिए ।’ कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले विमानस्थल निर्माणका लागि आफूहरूसँग बजेट नभएको र माथिल्ला सरकारले बेवास्ता गरेको बताए ।

पालिकाले डीपीआर गर्दा ठाउँ उपयुक्त र जग्गा पुग्ने निष्कर्ष निकालिए पनि बजेट अभावमा काम अझै अघि नबढेको छत्रेश्वरी–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालका अनुसार अध्ययन प्रतिवेदनमा विमानस्थल बनाउन ८१ करोड ४७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘उक्त रकम हामीले खर्च गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई बजेट माग गरेका छौं ।’ अध्ययनअनुसार विमानस्थल बनाउँदा धावनमार्गमा ६ सय ३० मिटर जमिन चाहिने र त्यसका लागि लेखानाचौर पर्याप्त छ ।

प्रकाशित : श्रावण १६, २०७९ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×