बेलैमा जहाज मर्मत गर्न नसकेपछि उडान रद्द गर्दै निगम

सुरज कुँवर

काठमाडौँ — बेलैमा जहाज मर्मत गर्न नसकेपछि नेपाल वायुसेवा निगमले आफ्ना नियमित उडान धमाधम रद्द गर्न थालेको छ । निगमको वाणिज्य विभागले शुक्रबार जारी गरेको संशोधित बर्खे तालिकामा फेरि अर्को न्यारोबडी (नाइनएन–एकेडब्लु) को दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको दिल्लीका लागि तय भएका तीन र मुम्बईको एक गरी चारवटा उडान रद्द गरिएको जानकारी अन्तर विभागलाई पठाएको छ ।

बेलैमा जहाज मर्मत गर्न नसकेपछि उडान रद्द गर्दै निगम

अब निगम मातहतका सम्बन्धित विभागले यो सूचनाका आधारमा यात्रु तथा एजेन्सीलाई जानकारी गराउने लगायतका काम गर्नुपर्ने छ । यो साउन तेस्रो साताका लागि मात्रै तोकिएको तालिका हो । जहाजको उपलब्धता नभएपछि अर्को साता थप उडान रद्द हुने क्रम बढ्ने छ । जसका कारण निगमको साखमा असर त पर्ने नै छ निगमले करोडौंको व्यापार पनि गुमाउने छ । तामझामका साथ थालिएको साउदीको रियाद उडान पनि जहाज अभाव नभएकै कारण रद्द गरिएको छ ।

निगमका एक इन्जिनियरका अनुसार, बिहीबार प्राविधिकहरुले 'सगरमाथा' नाम दिइएको न्यारोबडी जहाजको दायाँ इन्जिनको बोरोस्कोप इन्स्पेक्सन (जाँच) गरेका थिए । उक्त जाँचले ५ उडान (टेकअफ र ल्यान्डिङ गरी दस साइकल) मात्रै गर्न मिल्ने देखायो । उक्त जहाजले शनिबार दिल्लीका लागि एउटा मात्रै उडान गर्‍यो । ‘बोरोस्कोप इन्स्पेक्सन (जाँच) का कारण आइतबारदेखि यो विमानको कतै पनि उडान राखिएको छैन,’ एक इन्जिनियरले भने, ‘निर्माता कम्पनी एयरबसका प्राविधिकहरुले बोरोस्कोप इन्स्पेक्सनमा गरेको विश्लेषण अनुसार यस्तो अवस्थामा जोखिम लिएर उडान गर्न मिल्दैन । हवाई तथा यात्रु सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।’

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान छन् । यीमध्ये 'मकालु' नाम दिइएको वाइडबडी नियमित मर्मत (सी–चेक) का लागि हाल इन्डिनेसियामा छ । उक्त विमान पनि नहुँदा अब १० वटा अन्तर्राष्ट्रिय गन्तव्यको चाप दुइटा जहाज (१/१ न्यारोबडी र वाइडबडी) माथि आइपर्ने छ ।

बिहीबारको बोरोस्कोप इन्स्पेक्सन (जाँच) पछि इन्जिनमा समस्या देखिएको न्यारोबडी ‘सगरमाथा’ मर्मत गर्न निगमले सार्वजनिक खरिद ऐन लगायतका नियम अबलम्वन गर्नुपर्ने हुन्छ । तर यसलाई मर्मत गर्न र इन्जिन भाडामा ल्याउन पनि निगमले कुनै तयारी नै गरेको छैन ।

निगमको वाणिज्य विभागले आन्तरिक विभागहरुलाई जहाज ग्राउन्डेड गरिएकोबारे जारी गरेको तालिका ।

‘यो इन्जिन नेपालमा बनाउन सकिँदैन । विदेश लैजानुपर्छ । निगमले मर्मतका लागि इन्जिन कसलाई दिने टुंगो लगाउन सकेको छैन,’ ती इन्जिनियरले भने, ‘यही जहाजको समस्याले टाउको खाइरहेको छ । अर्को ग्राउन्डेड टुइनअटरलाई ध्यान दिनै सकिरहेका छैनौं ।’

प्राविधिकहरुका अनुसार इन्जिनमा समस्या देखिएको न्यारोबडीको दायाँ इन्जिन झिकेर अर्को राखेर केही सयम उडानुपर्छ । जहाज ग्राउन्डेड गर्दा निगमले घाटा व्यहोर्ने भएकाले अर्को पार्टीबाट इन्जिन भाडामा लिनुपर्ने हुन्छ । यी सबै गर्न निगमले पहिल्यै तयारी गर्नुपर्थ्यो । ७ महिनाअघि यही जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा ७० दिनसम्म ग्राउन्डेड भएको थियो । त्यसताका समयमै मर्मत र इन्जिन भाडामा ल्याउने निर्णय गर्न नसक्दा करिब अढाई महिना दोहामा राख्नुपरेको थियो । अहिले दैनिक २ हजार डलर (२ लाख ५३ हजार रुपैयाँ) तिरेर निगमले भाडाको इन्जिन राखेको छ । उसको आफ्नै इन्जिन मर्मत भइसकेको छैन । यसको दैनिक भाडाबाहेक उडाउँदा प्रति उडान र घन्टाको अतिरिक्त भाडा छुट्टै छ ।

निगमका निर्देशकहरुका अनुसार, सरकारको निलम्बनपछि अदालतबाट अल्पकालीन अन्तरिम आदेश ल्याइ निगम फर्केका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक र अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न सकिरहेका छैनन् । उनी स्पष्टीकरण दिने, मुद्दा मामिलाका लागि भेटघाटमा व्यस्त भएका कारण निगमको दैनिक काममा प्रभाव परेको कर्मचारीहरुले बताएका छन् । ‘कार्यकारी अध्यक्ष कुन बेला अफिस आउनु हुन्छ कुन बेला फर्किनु हुन्छ हामी नै थाहा पाउँदैनौं,’ निगमका एक निर्देशकले भने, ‘कति फाइलमा साइन गराउनुपर्ने हुन्छ । उहाँ आएको थाहा पाउने बित्तिकै कुदिहाल्नुपर्छ ।’

कार्यकारी अध्यक्ष अधिकारीसँग प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा उनले 'आफू बिरामी भएकाले बोल्न नसक्ने' भनेर एसएमएस पठाए ।

निगमसँग आन्तरिक उडानका लागि तीनवटा टुइनअटर विमान छन् । दुईवटा पालैपालो गरेर एक महिनादेखि ग्राउन्डेड छन् भने अर्को 'अल्फा ब्राभो एक्सरे' ग्राउन्डेड गरिएको भोलिदेखि १० वर्ष लाग्दै छ ।

प्रकाशित : श्रावण १५, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?