कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

रासस

काभ्रे — नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए ।

समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल

'मुलुक अहिले पुँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ,' उनले भने । उनले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गरे ।

नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गरे । 'समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो,' उनले भने ।

यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उनले भने, 'तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।'

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैंगिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औंल्याएका थिए । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न संगठन विस्तार अभियानमा लागिएको बताए ।

प्रकाशित : श्रावण १४, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?