३ हजार ६९९ नमुना परीक्षणमा ४३८ संक्रमित फेला, २७७ जना संक्रमणमुक्त - समाचार - कान्तिपुर समाचार

३ हजार ६९९ नमुना परीक्षणमा ४३८ संक्रमित फेला, २७७ जना संक्रमणमुक्त 

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा नेपालमा ३ हजार ६९९ नमुना परीक्षणमा ४३८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७७९ पीसीआरमा २९२ र १ हजार ९२० एन्टीजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५८ हजार ५५९ जनाले खोप लगाएका छन् ।


प्रकाशित : श्रावण १४, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

'हिरोइनको साथी' हुँदै हेयर स्टाइलिस्ट [भिडियो]

'मैले पाँच वर्षभन्दा अगाडि जे पारिश्रमिक पाउँथेँ अहिले त्यो पाउँदिनँ । तर, अहिले कलाकारको पारिश्रमिक त तीन गुणाले बढेको देख्छु । फिल्मकर्मीले पनि फिल्मलाई पर्खिरहेका प्राविधिकलाई समेट्दै लानुपर्‍यो ।'
रीना मोक्तान

काठमाडौँ — कुनै समय फिल्मसम्बन्धी समाचार खुबै पछ्याउँथिन्, गीता पौडेल । गोपाल भुटानीले कलाकारदेखि प्राविधिकसम्मलाई फिल्ममा ल्याएको खबरले गीताको आँखा तन्किन्थ्यो । गीतालाई पनि फिल्ममा काम गर्ने रहर । उनी जसरी पनि एक पटक गोपाल भुटानीलाई भेट्न चाहन्थिन् । गीतालाई विश्वास थियो, गोपाललाई भेटेपछि फिल्म क्षेत्रमा प्रवेश पाइन्छ भन्ने ।

त्यही सोचले एकदिन स्याङ्जाबाट पोखरा जान्छु भनी काठमाडौं जाने नाइट बस चढिन् । सोझै गोपाल भुटानीको डेरा पुगिन्। फिल्म क्षेत्रमा काम गर्ने चाहना व्यक्त गर्दा भुटानीले सुरुमै सोधेका थिए,'के काम गर्छौ, हिरोइन बन्ने ?'

त्यतिबेला गीतासँग भुटानीको प्रश्नको जवाफ थिएन । फिल्म क्षेत्रमा काम गर्नु त थियो तर, कुन विधामा भन्नेतर्फ सोचेकी थिइनन् । यो २०५६/५७ तिरको कुरा हो । त्यतिबेला गीताले एसएलसी पनि दिएकी थिइनन् । स्याङ्जादेखि आफूलाई भेट्न आएको कुराले अच्चममा परे, भुटानी । 'म उहाँकोमा पुग्दा उहाँ भान्सामा व्यस्त हुनुहुन्थ्यो । को हो? भन्नुभयो । मैले नमस्ते बाबा भनें । म स्याङ्जादेखि उहाँलाई भेट्न आएको सुन्दा उहाँ पनि अचम्म मान्नुभयो,'नोस्टाल्जिक हुँदै गीता सुनाउँछिन् । भुटानीले नै गीतालाई एसएलसी सकेर काठमाडौं आउन हौसला दिँदै गाउँ फर्काइदिए । 'पहिला एसएलसी देऊ । नतिजा कुर्नुपर्दैन, त्यसपछि यता आउनु भन्नुभएको थियो । त्यसदिन उहाँले भिन्डीको तरकारी र रोटी खुवाएर मलाई नाइट गाडी चढाइदिनुभयो ।'

भुटानीसँगको भेटपछि गीताको दिमागमा एउटै कुरा थियो,'एसएलसी सकिनेबित्तिकै भुटानी बालाई भेट्ने ।' त्यही उद्देश्यअनुसार एसएलसी सकिनेबित्तिकै भुटानीलाई भेटिन् । उनले उही पुरानो प्रश्न दोहोर्या ए,'फिल्ममा काम के गर्छ्यौ त?'सेटमा महिलाले गर्न सक्ने काममा आफूलाई रुचि भएको गीताले सुनाइन् । त्यसपछि भुटानीले गीतालाई पार्लर सिक्न लगाए । ६ महिनाको पार्लर तालिमपछि फिल्म'फेरि तिम्रो याद आयो'मा केश सज्जा(हेयर ड्रेसर/स्टाइलिस्ट) मा सहायक बनेर शोभा श्रेष्ठलाई सघाउने अवसर पाइन् । त्यतिबेला पर्दामा देखिरहेका कलाकारलाई आँखैसामु देख्दा गीता छक्क पर्थिन् ।

'फिल्म क्षेत्र नौलो थियो । ५०/६० जनाको ठूलो टिम । पर्दामा देखिरहेको कलाकारसँग काम गर्नुपर्ने । नर्भस हुन्थें । तर, सहायक भएपछि कलाकारको क्यारेक्टर लुक्स गर्नु पर्थेन । गुरुले सेटमा गएर कपाल मिलाउने जिम्मा दिनुहुन्थ्यो । म डराइडराइ कपाल मिलाउन जान्थे,'गीता सुनाउँछिन्,'त्यतिबेला कलाकारको छेउमा उभिँदा पनि केही भन्नुहोला कि भन्ने डर हुन्थ्यो ।'

पहिलो फिल्मपछि 'चित्कार'मा फेरि सहायक हेयर ड्रेसरका रूपमा काम गरिन् । सहायक भएर काम गर्दा-गर्दै फिल्मको कन्टिन्युटी, चरित्रको लुक्समा कपालको के महत्त्व हुन्छ भन्ने बुझिन् । यसरी दुई फिल्ममा सहायक भएर काम गरिसकेपछि गीताले सोलो करिअर थालिन् । पूजा चन्दको सिफारिसमा 'हाम्रो जिन्दगी' गरेसँगै गीता फिल्म क्षेत्रमा हेयर ड्रेसरका रूपमा चिनिँदै गइन् । 'मेरो एउटा साथी छ', 'मुग्लान', 'छोडी गए पाप लाग्ला', 'गोर्खा पल्टन', 'सानो संसार', 'दास ढुंगा', 'राम कहानी', 'मुखौटा'लगायत ८० बढी फिल्ममा निरन्तर काइँयोले कलाकारका कपाल सजाइरहिन्, मिलाइरहिन् ।

त्यतिबेला केस सज्जालाई फिल्मकर्मीले खासै महत्त्वमा राख्थेनन् । केसका काम मेकअप र कस्ट्युमपछि मात्र हुन्छ । अन्तमा केसको काम पर्नेहुँदा धेरै समय सेटमा ढिला गरेको भन्दै आफूहरूले गाली खानु परेको अनुभव छ गीतासँग । 'हामीलाई मेकअप आर्टिस्टका रूपले प्राथमिकता हुन्थेन,'उनी सुनाउँछिन्,'हाम्रो पालो मेकअप, कस्ट्युमपछि आउँथ्यो । अन्तमा हाम्रो काम हुने हुँदा कति समय सेटमा ढिला भइसकेको हुन्थ्यो । अनि हामीले गाली खाइन्थ्यो, हेयर ड्रेसरले गर्दा सुटिङ ढिला भयो भनेर । त्यसरी धेरै पटक गाली खाइयो ।'

गीत पर्दामा देखिने कलाकारहरुको चरित्रका लागि केस सज्जा निकै महत्त्वपूर्ण रहेको बताउँछिन् । तर कतिले त'हेयर ड्रेसरको पनि काम हुन्छ र!' भनिदिन्थे । पर्दामा देखिने चरित्र निर्माणमा केस सज्जाको पनि उत्तिकै महत्त्व हुने उनको भनाइ छ । 'एउटा फिल्मको चरित्रलाई पूरा गर्नलाई हेयर स्टाइलको महत्त्वपूर्ण भूमिका हुन्छ । कुनै कलाकारलाई जवान देखाउनु पर्योन अथवा वृद्ध देखाउनुपर्योच भने कपाल मिलाउनै पर्यो्,'गीता आफ्नो अनुभव सुनाउँछिन्,'कोही कलाकारलाई जवान देखाउनु पर्यो रे । उनको सबै चाउरी परेका छालालाई मेकअपले छोपिदिनुभयो तर, कपालमा केही गरिएन भने त्यो चरित्र नै मर्छ । हामीले मेकअप अनुसार, चरित्रको मागअनुसार हेयर स्टाइलिङ गर्छौं।'

'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो]

हेयर ड्रेसरलाई कुनैबेला 'हिरोइनको साथी'का रूपमा हेरिन्थ्यो । हुन पनि फिल्म क्षेत्रमा पुरुषकै दबदबा । सेटमा कोही महिला भए त्यही अभिनेत्री मात्र हुन्थे । त्यसैले पनि कुनै बेला अभिनेत्रीका साथीका रूपमा हेयर ड्रेसरलाई अनुबन्धित गरिन्थ्यो । थुप्रै फिल्ममा गीता 'हिरोइनको साथी' बनिदिएकी छन् । 'हिरोइनलाई ट्वाइलेट जानु पर्योी भने हेयर ड्रेसरलाई भन्थे । कहिले हिरोइनलाई छाता ओढाउनुपर्योि । सामान्य काम गर्नुपर्योम भने पनि हेयर ड्रेसर । मैले छाता ओढाइदिएको छु । कलाकारका चप्पल पनि बोकेर हिँडेको छु । डाँडामा सुटिङ हुँदा अब एउटा दृश्यबाट अर्को खिच्नलाई कलाकार जानुपर्‍यो भने चप्पल बोकिदिनु पर्थ्यो,'गीता भन्छिन्,'त्यहाँ मेरो चप्पल छ ल्याइदेऊ त हेयर ड्रेसर भनेर भन्ने कलाकारसँग पनि परेको छु । त्यसरी चप्पल बोक्न लगाउँदा अलिकति चित्त त दुख्यो । उहाँको नजरमा हामीलाई त्यस्तो सोच्नुहुन्छ भने त ठीकै छ भन्ने पनि हुन्थ्यो ।'

त्यतिबेला प्राविधिक क्षेत्रमा महिलाले कसरी काम गर्न सक्ला र भन्दै कम आँक्नेहरु पनि थिए । तर, गीताले कहिल्यै आफूलाई कमजोर ठानिनन् । आफ्नो क्षेत्रमा मिहेनत गरिरहिन् । प्राविधिक क्षेत्रमा धेरै खट्नुपर्छ । कतिपय समय फिल्मको छायांकनमा ३४ घण्टासम्म हुन्छ । भोक, प्यास नभनी काम गर्नै पर्‍यो । गीताले कुनै समय ३४ घण्टा काम गरेकी छिन् । महिलालाई कम आँक्नेहरुका लागि भए पनि यो क्षेत्रमा महिलाहरुको संख्या बढेको देख्न चाहन्छिन् उनी । 'हो, यो क्षेत्रमा धेरै पुरुष छन् । तर, हामी महिलाहरुलाई यो क्षेत्रमा त्यति सहयोग हुँदैन । महिला भन्ने बित्तिकै यो हिरोइन बन्न आयो ! यीनीहरुले निरन्तर काम गर्न सक्छ र भनेर कम आँक्थे,' गीताले भनिन्,'मलाई पनि यो क्षेत्रमा क्यामेरादेखि निर्देशन, हरेक डिपार्टमेन्टमा महिलाहरु आइदिए हुन्थ्योजस्तो लाग्छ । त्यही हो, यो क्षेत्रमा निरन्तर लागि परिरहनुपर्छ । सहयोग नपाउँदा एउटै फिल्मबाट निराश पनि भइन्छ ।'

फिल्म क्षेत्रमा काम गर्नेहरु 'बिग्रन्छन्' भन्ने मानसिकता व्याप्त हुँदै गीताले काम सुरु गरेकी हुन् । 'छोरी हातबाट फुस्की, अब बिग्रन्छे, छोटो लुगा लगाउँछे, बिहे गर्न गाह्रो हुन्छ' गीता फिल्म क्षेत्रमा काम गरिरहँदा उनका परिवारले यस्तै कुराहरु सुनाउँथे । तर, त्यस्ता कुरा सुनाउनेहरू पनि अहिले छोरीलाई अवसर दिए उनीहरुले पनि गर्न सक्छन् भन्ने बुझाइमा पुगेको गीता बताउँछिन् ।

१६/१७ वर्षको उमेरमै काम थालेकी गीता सेटमा सँधै स्ट्यान्डबाई रहन्थिन् । टाउकोमा काइँयो हुन्थ्यो, हातमा केश सज्जाका अन्य सामग्री । सुटिङ सेटमा उनी सँधै क्यामेराको ठीकपछाडि उभिन्छिन् । क्यामेराबाट कलाकारका कपाल नमिलेको देख्नासाथ सेटमा मिलाउन गइहाल्थिन् । गीताले हेयर ड्रेसरका रूपमा काम गरेको पनि १८ वर्ष भइसक्यो । यसबीच उनले थुप्रै कलाकारका कपाल सजाइदिएकी छिन् । झरना थापा, विपना थापा, निरुता सिंह, संचिता लुइँटेलदेखि सुहाना थापासम्मलाई आफ्नो प्रतिभा देखाइसकिन् । हेयर स्टाइलिङ गरिसकेपछि आफैंलाई चिट्टिक्क लाग्ने कलाकारमा विपना थापा र दीपिका प्रसाईंको नाम लिन छुटाउँदिनन् उनी ।

'फर्केर हेर्दा केही पनि छैन, पाइला मात्र बढाइएछ' [भिडियो]

करिश्मा मानन्धरसँग'दिदीबहिनी' भन्ने फिल्ममा काम गर्दाको क्षण गीतालाई आजैजस्तो लाग्छ । त्यतिबेला करिश्मा'ब्याक टु ब्याक' फिल्म गरिरहेकी थिइन् । त्यहीमाथि करिश्मा स्टाइलिङमा सँधै अगाडि । उनको 'हेयरको स्टाइल'को नक्कल हत्तपत्त गर्न नसकिने । फिल्मकै गीतको सुटिङका लागि टोली नगरकोट पुगेको थियो ।'करिश्मालाई त सबै लुक्स पर्फेक्ट चाहिन्छ' भनेर सेटमा कसैले भनिदिएपछि गीताको हात काँप्न थाल्यो । त्यसपछि उनले करिश्माले भनेजस्तो स्टाइल निकाल्न सकिनन् । 'म पहिल्यै तर्सिसकेको थिएँ ।सेटमा गएँ । मेकअप सकेर उहाँ हेयरका लागि तयार हुनुहुन्थ्यो । त्यतिबेला उहाँको कपाल एकदम छोटो थियो,'गीता सम्झन खोज्दै सुनाउँछिन्,'कपाल कोर्न खोज्ने बेलामा हात काँप्न थाल्यो । त्यसपछि आफैंले कपालको स्टाइल मिलाउनुभयो । त्यतिबेला एकदमै आत्मग्लानी भएको थियो ।'

यस्तै अर्को ताजा घटना छ । हालै 'हेल्लो जिन्दगी'को छायांकनका लागि गीता निर्माण टिमसँग लन्डन पुगिन् । फिल्ममा अभिनेत्री दीपिका प्रसाईंको कपाल लामो हुनुपर्ने चरित्र थियो । तर, उनको कपाल छोटो भएपछि गीताले नक्कली कपाल जोडिदिइन् । तर, दीपिका सट दिन क्यामेरा अगाडि पुगेपछि क्यामेरापर्सनले गीतातर्फ आँखा तरेर हेरे । उनले बुझिन्, क्यामेरामा कपाल राम्रो देखिएन भन्ने । तर, फेरि मिलाउने समय थिएन, त्यसमै सट खिचियो । फिल्मको त्यही दृश्य सम्झँदा अहिले पनि गीतालाई त्यो कपाल झिकेर मिल्काइदिनुपर्ने भन्ने लाग्छ ।

फिल्म क्षेत्रको यो लामो यात्रालाई फर्केर हेर्दा गीता अर्को घटना सुनाउन कहिल्यै भुल्दिनन् । फिल्म 'मेरो एउटा साथी छ'को सुटिङ इलाममा भइरहेको थियो । आर्यन सिग्देलले पुलमा सट दिने दृश्य थियो । त्यतिबेला आर्यनले नक्कली कपाल लगाएकै कारण गीता सेटमा पुग्नु पर्योा । त्यतिबेला छायांकन सकेर फर्कने क्रममा चिप्लो बाटोमा गीता गुल्टिन पुगिन् । भीरमा गएर रुखमा अल्झिएपछि प्राण बाँचेको कुरा सम्झँदै भन्छिन्,'मरेर बाँचियो ।'

गीतालाई गोपाल भुटानीले नै फिल्म क्षेत्रसँग जोडिदिए । उनी फिल्म क्षेत्रमा गोपाल भुटानीकी छोरीका रूपमा चिनिन्छिन् । गीता फिल्म क्षेत्रमा सक्रिय हुँदै जाँदा गोपाल भुटानी उनलाई भन्ने गर्थे,'उतारचढाव भइरहन्छ । तर, कहिल्यै हरेज नखानु।'भुटानीले भने झैं फिल्म क्षेत्रमा काम गरिरहँदा गीताले कहिल्यै हरेस खाइनन् । आफ्नो कर्ममा मेहनत गरिरहिन् । तर, कोभिडको समयमा आफूले रोजेको क्षेत्रले अहिलेसम्म केही नदिएको भान भएपछि उनको मन अमिलो भयो । 'कोभिडपछि छर्लङ्ग भयौं हामी । यो क्षेत्रमा प्राविधिकको सीमित पारिश्रमिक हुन्छ । प्राविधिकहरूले लिने बजेटमा हेयर ड्रेसरले पाउने अझ न्यून हुन्छ । हाम्रो पारिश्रमिक घरखर्चमै सकिन्छ । बचतको पैसा नभएपछि धेरैलाई गाह्रो भयो,'गीता कोभिडकाल सम्झिइन्,'यस्तो महामारीले सुरुमै हामीजस्ता प्राविधिकलाई हान्दो रहेछ भन्ने भयो । सरकारी काम अथवा यही क्षेत्रको कलाकार भइदिएको भए यतिबेलासम्म स्थापित भइसक्थें कि । अर्के क्षेत्रतिर लागेको भए हुने भन्ने खालको अनुभव भयो ।'

चलचित्र प्राविधिक संघकी कोषाध्यक्षसमेत रहेकी गीता प्राविधिकको पारिश्रमिकको समस्या सुल्झाउन फिल्म नै बन्नुपर्ने धारणा राख्छिन् । 'पहिलो कुरो त फिल्म नै बन्नु पर्‍यो । अहिले त आधा प्राविधिक म्युजिक भिडियोले धानेको छ । कोही विज्ञापनमा व्यस्त छन् । तर, फिल्महरु पुरानै गतिमा बढ्न नसक्दा थुप्रै प्राविधिकहरू फिल्म बन्ने पर्खाइमा छन् । अहिले प्राविधिकको पारिश्रमिक कम हुँदै गएको छ,'गीताले भनिन्,'मैले पाँच वर्षभन्दा अगाडि जे पारिश्रमिक पाउँथेँ अहिले त्यो पाउँदिनँ । तर, अहिले कलाकारको पारिश्रमिक त तीन गुणाले बढेको देख्छु । फिल्मकर्मीले पनि फिल्मलाई पर्खिरहेका प्राविधिकलाई समेट्दै लानुपर्‍यो ।'

आज भुटानी बा जीवित हुनुहुन्थ्यो भने गीतालाई हेरेर के भन्नुहुन्थ्यो होला है ?

'बाबाको एउटै इच्छा अधुरो भयो । उहाँ नेपाली नागरिकता लिएरै मर्न चाहनु हुन्थ्यो । सायद अहिलेको अवस्थामा हामीले उहाँका लागि केही गर्न सक्थ्यौं कि,'आँखाभरि आँसु लिँदै गीताले भुटानीलाई सम्झिन्,'म नेपाली हुँ भनेर मर्ने इच्छा अधुरो रहेको कुरा खट्किन्छ ।'

प्रकाशित : श्रावण १४, २०७९ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×