२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

गृहजिल्लामा ओलीको चुनावी ‘वार्मअप’

संसदीय चुनावको तयारीस्वरूप झापामा ४ दिने कार्यक्रममा व्यस्त
पर्वत पाेर्तेल

काँकडभिट्टा — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनदेखि गृह जिल्ला झापामा छन् । यसपालि झापामा उनले चार दिन बिताउँदै छन् । विगतमा विकास योजनाको पोको बोकेर आउने ओली यसपालि खाली हात छन् । उनी कार्यकर्ता भेटघाटदेखि आफन्तका मरिमराउसम्ममा सहभागी भइरहेका छन् ।

गृहजिल्लामा ओलीको चुनावी ‘वार्मअप’

‘काठमाडौंमा बस्न थालेपछि यति लामो समय लिएर उहाँ अक्सर आउनु भएको थाहा छैन,’ एमाले दमकका एक नेताले भने,‘आगामी संसदीय चुनावको तयारीका लागि उहाँले यसपटक झापामा चार दिन बिताउँदै हुनुहुन्छ ।’

खासगरी उनको झापा बसाइ खासगरी बिर्तामोड र दमककेन्द्रित बनेको छ । अघिल्लो पटक स्थानीय तह चुनावअघि वैशाख २६ मा ओली झापा आएका थिए । करिब–करिब ३ महिना पछि ११ साउनमा उनी भद्रपुर एयरपोर्टमा ओर्लिए । लगत्तै नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा भाग लिन बिर्तामोड पुगे । त्यो दिन उनी दिनभर व्यस्त भए । एमाले निकट पत्रकारसँगको भेटमा ओलीले देश र जनताको पक्षमा लेख्न निर्देशन दिए ।

प्रेस चौतारी आबद्ध पत्रकारहरुसँगको भेटमा उनले भने, ‘असत्य, छलकपट र षड्यन्त्रविरुद्ध निडर भएर कलम चलाउनुस् ।’ बिर्तामोडको तारे होटल किंग्सवेरीलाई मुकाम बनाएर जनसंगठनले गरेको गतिविधिको रिपोर्टिङ मात्रै लिएनन्, जिल्लाका उद्योगी व्यवसायीलाई पनि भेटे ।

किंग्सवेरीमै रात बिताएका उनी बिहीबार बिहानै उठेर महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टन कोर्टमा पुगे । स्पोर्टी पोसाकमा आएका उनले एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलसँग करिब एक घण्टा बिताए ।

एक नेताका अनुसार उनले करिब १२ वर्षपछि र्‍याकेट समाएका हुन् । जेलमा बस्दादेखि नै ओलीले ब्याडमिन्टन खेल्न थालेका हुन् । पछिल्लो समय राजनीतिक व्यस्तताका कारण उनले नियमित खेल्न नसकेका हुन् ।

ओलीले यसपटक बिर्तामोडमा बढी समय बिताएका छन् । झापा क्षेत्र नम्बर २ बाट आगामी चुनावमा खरेल उम्मेदवार बन्ने चर्चा छ । बिर्तामोडका नेता कार्यकता र उद्यमी व्यवसायीसँगको भेटको संकेत पनि खरेललाई उम्मेदवार बनाउने नै देखिन्छ । ‘खरेललाई उम्मेदवार बनाएर जिताउने अभियानमा ओली व्यक्तिगत रूपमै लागेका छन्’, एमालेका एक नेताले भने ।

बिहीबार दिउँसो ओली दिनभर आफनो निर्वाचन क्षेत्र (झापा ५ ) मा केन्द्रित भए । स्थानीय तह निर्वाचनमा आशातित नतिजा नआएपछि ओलीले आगामी निर्वाचनमा आफनो क्षेत्रमा सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।

गृहनगर दमक, कमल, गौरादह र गौरीगञ्जमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रमा सन्तोषजनक परिणाम ल्याउन सकेकोप्रति ओलीको तीव्र असन्तुष्टि थियो ।

२०७४ मा ओलीको क्षेत्रमा पर्ने दमक र कमलमा प्रमुख/उपप्रमुख, गौरादहमा उपप्रमुखसहित बहुमत जित हासिल गरेको एमालेले यसपटक गौरादहबाहेक अन्य पालिकामा हार बेहोरेको थियो ।

गृहनगर दमकमा एमालेले दुई–तिहाई बहुमत ल्याए पनि प्रमुख/उपप्रमुख जित्न नसकेको भन्दै ओलीले भने,‘दमकमा के कमजोरी भएर हामी हाऱ्यौँ ? आगामी दिनमा कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ ।’ उनले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको बताउँदै दमकमा अन्तर्घातका कारण एमाले पराजित भएको संकेत ओलीले गरे ।

बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले २०६४ को निर्वाचनमा आफ्नै कार्यकर्ताले अरुलाई भोट हालेर आफूलाई हराएको भन्दै उनले आगामी निर्वाचनमा यस्तो गल्ती गर्ने छुट कसैलाई नभएको बताएका थिए । उनले ०६४ को संसदीय निर्वाचनमा जस्तै आफूलाई हराएको केही समयपछि नै पछुताउनु परेको भन्दै आगामी निर्वाचनमा उक्त प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए ।

ओली शुक्रबार पनि बिर्तामोडमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका छन् । शनिबार इलामको चुलाचुलीमा हुने एक कार्यक्रममा भाग लिएर ओली काठमाडौं फर्कने कार्यक्रम रहेको ओलीका निर्वाचन क्षेत्रीय प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

प्रकाशित : श्रावण १३, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?