२ करोड ५० लाख रुपैयाँ बिमा रकम हत्याउन विवाहपछि हत्या

६ जनाको मिलेमतोमा बाँकेका सर्जन विकसँग एक युवतीको विवाह गराई मिनीबसले ठक्कर दिई हत्या गरिएको
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्‌लाई योजनाबद्ध रूपमा दुर्घटनामा मारिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को अनुसन्धानमा खुलेको हो । 

२ करोड ५० लाख रुपैयाँ बिमा रकम हत्याउन विवाहपछि हत्या

२०७८ साल वैशाख २ गते भे १ ख २४९१ नम्बरको मिनीबसले ठक्कर दिई घाइते भएका सर्जन विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कोहलपुरमा मृत्यु भएको थियो । टोपबहादुर राना क्षेत्रीले चलाएको मिनीबसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । टिपरमा बालुवा लोडको काम सकी सर्जन राति ११ बजे भे १० प १७२७ नम्बरको मोटरसाइकलमा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि वैशाख २७ गते जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो । २०७८ माघ २५ गते अदालतले चालक रानालाई ३० दिन कैद र २ हजार जरिवाना सुनायो । मोटरसाइकलधनी सरदार अहमद खाँ (जो बिमा अभिकर्ता पनि थिए) उनलाई भने अदालतले सफाइ दिएको थियो ।

सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । उनी भन्छन्, 'आफ्नै पतिको मृत्युपछिको संस्कारमा पत्नी सपना मल्ल सहभागी नहुनुले घटना योजनाबद्ध रूपमा घटाई बिमाको पैसा लिएको देखिन्छ ।'

त्यसो त बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्-श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको केही दिनपछि चैत २ गते विवाह दर्ता भएको देखिएको छ । तर विवाह दर्तापछि भने भेट भएको थिएन ।

यस घटनामा सपनासहित स्याङ्जाका सञ्जीव अर्याल, बाँकेका सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटासमेतको संलग्नता देखिएको छ । सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । उक्त रकममध्ये सञ्जीपले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा खुलेको छ ।

सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए । सामान्य मजदुरी गर्ने सर्जनको पेसा र वार्षिक आयको रकमले बिमाको वार्षिक शुल्क ५ लाख ४० हजार तिर्न नसक्ने देखिएको र केवाईसीमा पनि वार्षिक आम्दानी २ लाख स्वघोषणा गरेको प्रहरीको भनाइ छ । बिमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बिमा भने त्यसअनुरूप थिएन ।

श्रीमान्-श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटक-पटक भेट भएको पाइन्छ । यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकलसमेत प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै जापान जाने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो । सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ ।

त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ ।

त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय(राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

त्यस्तै दीपक केसीले सपनालाई बिमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ८० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बिमा अभिकर्ता खाँ पनि घटनामा स‌ंलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?