३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एमालेविरुद्ध ‘समाजवादी मोर्चा’

माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र जसपा बाबुराम भट्टराई पक्ष एमालेविरुद्ध, सत्ता गठबन्धन दल जनता समाजवादी भने मोर्चा बनाउन असहमत
मणि दाहाल, गंगा बीसी

काठमाडौँ — वामपन्थी मतलाई ध्रुवीकरण गरेर पहिलो पार्टी बन्ने कसरत गरिरहेको एमालेलाई रोक्न अन्य वामपन्थी दलहरूले समाजवादी मोर्चा निर्माण गर्ने भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धनभित्र रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) वामपन्थी समाजवादी मोर्चा बनाएर आगामी निर्वाचनमा जाने तयारी छ । पछिल्लो समयमा मोर्चाले लिने नीति र त्यसको संरचनाको विषयमा छलफलमा जुटेका छन् ।

एमालेविरुद्ध ‘समाजवादी मोर्चा’

नेताहरूका अनुसार तत्काल समाजवादी केन्द्र बन्ने अवस्था नभए मोर्चा बनाएर चुनावमा जाने तयारी छ । यो मोर्चाको मुख्य उद्देश्य चुनाव केन्द्रित भएकाले अरू सैद्धान्तिक बहस कम भएको एक नेताले बताए । आगामी निर्वाचनमा एमालेलाई कमजोर बनाउने उद्देश्यले खासगरी माओवादी र एकीकृत समाजवादी केन्द्रित भएका छन् । यो मोर्चामा सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी सहभागी छैन ।

समाजवादी मोर्चा बनाए पनि कांग्रेससँग गठबन्धन भने कायम राख्ने नेताहरूले एमाले स्थानीय तहका सातवटा पदमा प्राप्त गरेको मतको आधारमा स्थानीय तह चुनावमा पहिलो भएको दाबी गर्दै आएको छ । आमनिर्वाचनमा वामपन्थी मतलाई ध्रुवीकरण गरेर पहिलो पार्टी बन्ने रणनीति लिएको छ । एमाले असारको अन्तिम साता जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानि) मा पनि आमनिर्वाचनमा वामपन्थी मत ध्रुवीकरण गर्ने नीति लिने उल्लेख छ । एमाले नेताहरूले सत्ता गठबन्धनभित्रका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि पनि त्यसैअनुसार कटाक्ष गर्ने क्रम तीव्र बनाएका छन् ।

कांग्रेस संस्थापन पक्षले गठबन्धनभित्र वामपन्थीको अर्को मोर्चा बनाए पनि त्यसले गठबन्धनलाई असर नपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘एमालेबाहेकका वामपन्थीको बलिया शक्ति बनाउने उद्देश्यले समाजवादी मोर्चा तयारी होला, त्यसले गठबन्धनलाई असर गर्दैन,’ उनले कान्तिपुरसँग भने, ‘माओवादी, एकीकृत समाजवादी र अरूको मोर्चा बनाएर चुनावमा जाँदा चुनाव चिह्न कम हुन्छन् । चुनावमा उठ्न सजिलो हुन्छ ।’

माओवादी स्थायी समिति सदस्य हरिबोल गजुरेलले एमालेले गठबन्धनविरुद्ध मोर्चा बनाउने गरेकाले त्यसलाई निस्तेज पार्न समाजवादी केन्द्र बनाउने तयारीमा लागेको बताए । ‘एमालेले हामीलाई एक्ल्याउन अनेक गठबन्धन मोर्चाको गृहकार्य गरेको छ,’ उनले भने, ‘त्यसैले हाल गठबन्धनमा रहेका वामपन्थी दलले पनि समाजवादी केन्द्र बनाउनुपर्ने आवश्यकता पर्‍यो ।’

जसपाबाट अलग भई नयाँ पार्टी बनाउन लागेका बाबुराम भट्टराई समाजवादी मोर्चामा सहभागी हुने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव भने यो मोर्चामा सहभागी हुने छैनन् । ‘सानो गुटबाट कुनै मोर्चा/केन्द्र कसरी बन्छ ?’ यादवले प्रश्न गरे, ‘हामी नामैले समाजवादी पार्टी हौं, हामीलाई अर्को समाजवादी मोर्चा किन चाहियो ?’ उनले आफ्नो पार्टी कसैको वरिपरि नघुम्ने जनाए । ‘हामी कसैका वरिपरि किन घुम्ने ? हामी आफ्नो शक्ति आफै बनाउँछौं,’ उनले भने ।

उनीहरूले माओवादी र एकीकृत समाजवादी पुँजीवादी पार्टी कांग्रेसको पुच्छर बनेको आरोप लगाउँदै आएका छन् । वैशाख ३० मा भएको स्थानीय चुनावमा वडा गणना गर्दा माओवादी, एकीकृत समाजवादी र जसपाको गरी करिब २२ प्रतिशत मत आएको थियो । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड्दा करिब ५० प्रतिशत मत प्राप्त गरेको देखिन्छ । जसपाले ५ प्रतिशत मत प्राप्त गरेको छ । वडाध्यक्षतर्फको खसेको कुल मतमध्ये एमालेले ३३.०३ प्रतिशत प्राप्त गरेको छ । राजनीतिक दल र शक्तिहरूबीच निश्चित उद्देश्य प्राप्तका लागि मोर्चा निर्माण गरिन्छ । माओवादी केन्द्रले वडाध्यक्षमा १३.०३ र एकीकृत समाजवादीले ३.६६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

एकीकृत समाजवादी महासचिव बेदुराम भुसालले मोर्चा निर्माण गर्ने विषयमा सैद्धान्तिक सहमति भएपछि अन्य विषयमा छलफल भइरहेको बताए । ’हामीहरूबीच मोर्चा निर्माण गरेर जाने विषयमा सहमति भएको छ । अन्य विषयहरू पनि छलफलकै क्रममा छ,’ उनले भने, ‘अहिलेको गठबन्धन छाडेर छुट्टै गठबन्धन बनाउने भनेको होइन । यो गठबन्धनभित्र रहेका वामपन्थी दलहरूको बीचमा यो सहकार्य गरौं भन्ने विषय हो । वामपन्थी दलहरूबीच सम्बन्धलाई झनै सघन बनाउन भन्ने हो ।’ माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा तथा एकीकृत समाजवादीबाट भुसाल छलफलमा सहभागी हुँदै आएका छन् । एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा कायम राख्दै वामपन्थी एकताका लागि पहल गर्ने निर्णय गरेको थियो ।

साउन ३ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले मोर्चा गठनको विषयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सैद्धान्तिक सहमति गरेका थिए । आइतबार पनि माओवादी अध्यक्ष दाहाल र संयोजक गौतमबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा छलफल भएको थियो । वामपन्थी मोर्चाको विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि चासो छ । नयाँ पार्टी गठनको तयारीमा रहेका भट्टराईले सबैभन्दा पहिले समाजवादी केन्द्र निर्माण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले समाजवादी केन्द्र निर्माणको विषयमा आफ्नोतर्फ पहिलो प्रस्ताव भएको पनि अहिले पार्टी निर्माणको आन्तरिक तयारीमा रहेको बताए । ‘यस विषयमा छलफल सकारात्मक छ । अहिले हाम्रो प्राथमिकता पार्टीको आन्तरिक व्यवस्थापनमा छ । ३–४ दिनमा निर्वाचन आयोगसम्बन्धी काम सकिन्छ । त्यसपछि यो विषयले गति लिन्छ होला,’ उनले भने ।

जसपाबाट अलग भएका पूर्वमाओवादी नेता भट्टराईले माओवादीको नाम बदलेर समाजवादी पार्टी बनाए मात्र एकता गर्न सकिने बताउँदै आएका छन् । माओवादी पनि एमालेसँग एकीकरण गर्दा नाम परिवर्तन गरेकाले अर्को महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने पक्षमा देखिएको छ । ‘नेपाली माटो सुहाउँदो कम्युनिस्ट पार्टी नाम राख्न सकिन्छ,’ एक वरिष्ठ नेताले भने, ‘अहिले नाम परिवर्तन गर्नेबारे पार्टीमा बहस भने छैन ।’ माओवादीले आफू लोकतान्त्रिक कम्युनिस्ट पार्टी भएको देखाउन माओवादी शब्द नभएको पार्टी गठन गर्ने मनस्थितिमा पुगेको छ । माओवादी नाम सशस्त्र युद्धका लागि उपयुक्त भएकाले शान्ति प्रक्रियामा आइसकेपछि नाम बदल्न जरुरी देखेको छ ।

भट्टराईले विगतमा कम्युनिस्ट पार्टीको नामबाट युद्ध भइसकेका हुनाले अब आर्थिक समृद्धिका लागि समाजवादी बाटो अंगाल्नुपर्ने तर्क गर्दै आएका छन् । उनी ‘नेपाल समाजवादी’ पार्टी गठनको तयारीमा लागेका छन् ।

२०७४ सालको आमचुनावमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । आमचुनावपछि पार्टी एकता गर्ने घोषणा गरेका गठबन्धनले संघीय प्रतिनिधिसभामा करिब दुई तिहाइ स्थानमा जित हासिल गरेको थियो भने सात प्रदेशमध्ये ६ वटामा सरकार बनाउने बहुमत प्राप्त गरेको थियो । यो पाँच वर्षको अवधि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बन्यो र त्यो विभाजनसम्म पुग्यो । पछि एमाले पनि विभाजन भएर एकीकृत समाजवादी पार्टी निर्माण भएको हो । विभाजनपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।

प्रकाशित : श्रावण १०, २०७९ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?