१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अबको दशक निर्माण र समुन्नतिको हुन्छ : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन् ।

अबको दशक निर्माण र समुन्नतिको हुन्छ : महामन्त्री शर्मा

सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज बनाउने बताए । यसका लागि नेपाली कांग्रेस सक्षम रहेको उनको दाबी थियो ।

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकाले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाइ जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने पनि बताए ।

उनले भने, ‘कलाकार राष्ट्रका गहना होइनन्, गौरव हुन् । गहना लगाइन्छ, बिक्री हुन्छ तर गौरव बिक्री हुँदैन । दैविक प्रकोपका कारण बाढी, पहिरो गयो भन्छौं । यो दैविक प्रकोप होइन, प्रकृतिको सही सदुपयोग गर्न नसकिएको हो । त्यसैगरी दैविक प्रकोप भन्ने कुरा बदिलएजस्तै गहना भन्ने कुरामा पनि बदलाव गर्नुपर्छ । हामीले जित्न बाँकी छ । नेपालले विजयी भएर संसारसामु उच्च शिर राखेर हामीले समृद्धिको उचाइ जित्न बाँकी छ ।'

पुरानो भाष्यलाई परिवर्तन गरी अब नेपालीले 'हारेका थियौं तर पराधिन भएका छैनौं' भन्ने भाष्य स्थापित गर्नु पर्ने उनको तर्क थियो । उनले भने, 'जसरी जापानीहरू पराजित भए, हिरोसिमा र नागासाकीको पीडा उनीहरूसँग छ । उनीहरूले बदला लिन चाहेनन् बरु बदलिएर अमेरिकासामु शिर उच्च राख्न भ्याए । हामीले पनि हाम्रो पछिल्लो पुस्तामा जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी छ । यो देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ ।'

महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताए ।

प्रकाशित : श्रावण ९, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?