साउनमै कोभिडले लियो चार जनाको ज्यान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउनमै कोभिडले लियो चार जनाको ज्यान

मृत्यु हुनेमा खोप नलगाएका र जटिल दीर्घरोगी
अधिकांश संक्रमितमा रुघाखोकी, ज्वरो आउने, जीउ दुख्ने, पातलो दिसा हुनेजस्ता सामान्य लक्षण
आइतबार ३ सय ४७ जनामा संक्रमण
अतुल मिश्र

काठमाडौँ — कोभिड संक्रमणले आइतबार थप दुई जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामै कोभिडबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । ज्यान गुमाउनेमा खोप नलगाएका, खोप लगाए पनि उमेर बढी भएका र जटिल दीर्घरोग (कोमर्बिडिटी) भएकाहरू छन् । 

पछिल्लो समय कोरोना संक्रमणका कारण स्वास्थ्य जटिलता भएर सघन उपचार गराउनेको संख्यासमेत बढ्दै गएको छ । सघन उपचार पाइरहेकामध्ये धेरैजसो दीर्घरोगी छन् । गत वैशाख २१ देखि ७३ दिनसम्म कोरोना मृत्यु शून्य रहेकामा साउन १ र २ मा कोभिड निमोनियाका कारण एक जनाको धरानमा र एक जनाको काठमाडौंमा मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवै जनाले कोभिडविरुद्घको खोप लगाएका थिएनन् र कुनै दीर्घरोग थिएन । आइतबार मृत्यु भएका दुई जनामध्ये ७५ वर्षीय बिरामीले खोप लगाए पनि क्यान्सर, दम र उच्च रक्तचापको समस्याले पीडित थिए भने ५२ वर्षीय मृतकको खोप इतिहासबारे जानकारी नभएको तर उनमा मिर्गौला र

कलेजोको समस्या रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बताए ।

उनले पूर्ण खोप लगाएका र स्वास्थ्य स्थिति सामान्य रहेकामा कोभिड संक्रमणको जटिलता कम देखिएको बताए । खोप लगाएकाहरू सघन उपचारमा पुगे पनि निको भएको उनको भनाइ छ । ‘खोप लगाएका र नियमित औषधि सेवनले जीवनशैलीसम्बन्धी रोग नियन्त्रणमा रहेकामा कोभिड संक्रमण भए पनि बढी जटिलता र मृत्यु देखिएको छैन,’ डा. दासले भने, ‘हामी खोप लगाएकामा कोभिड संक्रमणले पारेको असरबारे थप सोधखोज जारी राखेका छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म मुलुकभर कुल संक्रिय संक्रमित ३ हजार १ सय ७७ छन् । पीसीआर र एन्टिजेन गरी आइतबार ३ हजार ८ सय ८८ नमुना परीक्षण गर्दा ३ सय ४७ जनामा कोभिड संक्रमण देखिएको छ । उपत्यकाका विभिन्न अस्पतालमा ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १९ जना जनरल वार्डमा, ३० जना एचडीयूमा, १९ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा २, वाग्मतीमा १९ र सुदूरपश्चिममा १ गरी २२ जना आईसीयूमा उपचाररत छन् भने वाग्मतीमै २ जना भेन्टिलेटरमा छन् । वीर अस्पतालमा २२ जना कोभिड संक्रमित भर्ना भएका छन् । तीमध्ये ७ जना जनरल वार्डमा, ७ जना एचडीयूमा, ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् । अस्पतालमा भर्ना गरिएका बिरामी प्रायः खोप लगाएका रहेको कोभिड युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा.प्रज्ज्वल श्रेष्ठले जानकारी दिए । ‘खोप लगाएको भए पनि ६० वर्षमाथिका र मिर्गौला, क्यान्सरलगायत दीर्घकालीन रोग भएकामा कोभिड संक्रमण कडा रूपमा देखिएको छ ।’

त्रिवि शिक्षण अस्पतालमा भने हाल कोभिड संक्रमित भर्ना भएका छैनन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा जनरल वार्डमा ३ जना उपचाररत छन् । यस्तै वीरेन्द्र सैनिक अस्पतालमा ७ जना जनरल वार्डमा, ५ जना एचडीयूमा र ९ जना आईसीयूमा छन् । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको जनरल वार्डमा २ जना भर्ना छन् भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एचडीयूमा ५ जना र आईसीयूमा ४ जनाको उपचार भइरहेको छ । यस्तै पाटन अस्पतालमा १० जना एचडीयूमा उपचाररत छन् ।

शिक्षण अस्पतालका कोभिड संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार अधिकांश संक्रमितमा रुघाखोकी, ज्वरो आउने, जीउ दुख्ने, पातलो दिसा हुनेजस्ता सामान्य लक्षण देखिएको छ । उनले बहुसंख्यक नेपालीले खोप लगाएका कारण संक्रमण जटिल नदेखिएको बताए । तर, नयाँ भेरिएन्टको जोखिम भने कायमै रहेको उनको भनाइ छ । ‘हाल ओमिक्रोन भेरिएन्टकै संक्रमण देखिएको छ । यो कमजोर भेरिएन्ट हो तर कुनै नयाँ कडा भेरिएन्ट देखियो भने हामीलाई समस्या हुन सक्छ,’ उनले भने, ‘त्यसैले जिन सिक्वेन्सिङलाई नियमित गर्नुपर्छ ।’

प्रकाशित : श्रावण ९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

विज्ञहरुका अनुसार यो ०७२ सालकै विनाशकारी भूकम्पको पराकम्प नै हो । पछिल्ला केही महिनामा बारम्बार स–साना पराकम्प मापन भइरहको केन्द्रले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×