घना बस्ती र सडकमा जीर्ण रुखको जोखिम- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
रिपोर्ट

घना बस्ती र सडकमा जीर्ण रुखको जोखिम

‘रुखलाई ढुसीले जीर्ण बनाएका छन्’
प्राविधिकको सल्लाह लिएर मात्रै बिरुवा रोप्न आग्रह, वृक्षारोपण गरेपछि बिरुवाको हेरचाह, रेखदेख र व्यवस्थापन गर्नुपर्ने ।
गोविन्द पोखरेल

काठमाडौँ — भक्तपुरको दूधपाटीमा गुडिरहेको बस र स्कुटरमाथि आइतबार रुख ढल्दा ३ जनाको मृत्यु भयो, १२ जना घाइते भए । सडक नजिकैको खोटे सल्ला प्रजातिको रुख ढल्दा उक्त दुर्घटना भएको हो । यसअघि पनि काठमाडौं महानगरपालिकामा रुख ढलेर एक जना पैदलयात्रुलाई किचेको थियो । दुई वर्ष अघि पनि दिउँसो सडकमै थापाथाली चोकमा रुख ढलेको थियो ।

सडकको आसपासमा रोपिएका रुखको उचित व्यवस्थापन, हेरचाह नहुँदा दुर्घटना हुने गरेको पाइएको छ । सडक निर्माणका क्रममा सडकको ‘राइट अफ वे’ भित्र पर्ने रुखहरु काटिने गरेपनि सडक आसपास हुने रुखको जोखिमको अवस्था अध्ययन हुँदैन ।

डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश सडक छेउछाउमा भएका रुखको जोखिम मूल्यांकन गर्ने सम्बन्धमा कुनै मापदण्ड नै नभएको बताउँछन् । रोडको चौडाइभन्दा कति क्षेत्रमा वृक्षारोपण गर्ने भन्ने स्पष्ट उल्लेख नभएको उनले बताए । ‘मापदण्ड केही पनि छैन । रोडको चौडाइभन्दा कतिमा रोप्ने भनेर स्पष्ट कँही उल्लेख नै छैन । हाइवेको २५ मिटर भनिएको छ तर के भनेर स्पष्ट उल्लेख छैन,’ उनले भने ।

डिभिजन वन कार्यालयले सडकको दाँयाबाँया सुकेका, हाँगा सडकभित्र पर्ने रुखहरु मात्रै व्यवस्थापन(काट्ने) गरेको उनले बताए । आइतबार ढलेको रुखको बाहिरी अवस्था हेर्दा कुनै पनि कोणबाट तत्काल ढल्ने नदेखिएको उनले बताए ।

वन कार्यालयले सडक आसपासका सुकिसकेका रुख मात्रै काट्छ । सडक निर्माण गर्नेक्रममा सडकको चौडाइभित्र पर्ने रुखहरु काट्ने गरिन्छ । रोड नबनाउनुपर्ने ठाउँमा ठूलो रुख छ भने हटाउन नपाइने नियम छ । ‘हेर्दा ठिकै छ , हरियो छ भने हामी काट्दैनौं,’ उनले कान्तिपुरसित भने ।

प्राविधिक अध्ययन गरेर सडक आसपासका रुख ढलेर आउन सक्ने सम्भावित जोखिमबारे अनुसन्धान नहुँदा दुर्घटना बढेको विज्ञहरु बताउँछन् ।वनस्पतिविद् एवं अनुसन्धानकर्ता लिलानाथ शर्मा सडक आसपास रोपिएका रुख एवं बिरुवाको नियमित हेरचाह, व्यवस्थापन गर्ने परिपाटी नै नभएको बताउँछन् । एकपटक वृक्षारोपण गरेर त्यतिकै छाड्ने परिपाटीले पनि समस्या निम्त्याउने गरेको छ । सडक छेउछाउमा हरियाली आवश्यक पर्ने उल्लेख गर्दै अनुसन्धानकर्ता शर्माले भूगोल सुहाउँदो रैथाने बिरुवाहरु रोप्नुपर्नेमा उनी जोड दिन्छन् । ‘सडकको दाँयाबाँया विशेष गरेर रैथाने प्रजातिका, ढिलो बढ्ने खालका बिरुवाहरु रोप्नुपर्छ,’ उनले भने, ‘बिरुवा रोपेर मात्रै हुँदैन यसको नियमित व्यवस्थापन गर्नुपर्छ । कहिले हाँगा छाट्ने, जोखिम हुनसक्ने नसक्नेको अवस्था पनि हेरिनुपर्छ । ’

डिभिजन वन कार्यालयले यो घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । कार्यालयका प्रमुख योगेशले भने,‘ हामीले यो विषयलाई गम्भीर रुपमा लिएका छौं । अरु बेला पनि सडकभित्र आउने रुखका हाँगा हटाउने नै गरिएको छ । तर ढल्ने सक्ने सम्भावित रुखको पहिचान गरिएको थिएन अब यसबारे हामी उपल्लो निकायलाई पनि ध्यानाकर्षण गराउँछौं । ’

राजमार्गमा वृक्षारोपण गर्दा सडकको दाँयाबाँया क्षेत्रको २५ मिटरभित्र गर्ने गरिएको छ । पहाडी क्षेत्रमा ‘बायो इन्जिनियिरिङ’ को रुपमा वृक्षारोपण गर्ने गरिएको छ भने सहरी क्षेत्रमा डेकोरेटिभ बिरुवा र स–सना रुख प्रजातिहरु रोप्ने गरिएको योगेशले बताए ।

वन तथा भू-संरक्षण विभागकी सूचना अधिकारी सवनम पाठक भक्तपुरका सडकमा रोपिएका प्रजाति कुनै प्राविधिकको सल्लाह बिना नै रोपिएको बताइन् । ‘रुख रोपेपछि त्यसको निश्चित उमेर भएपछि काट्नुपर्ने हुन्छ,’ उनले भनिन्,‘अहिले नयाँ वन नियमवालीमा यो व्यवस्था गरिएको छ । पहिला यो व्यवस्था गरिएको थिएन । ’

सडक छेउछाउमा रोपिएका रुखहरु पनि वन प्राविधिकको सल्लाह बिनै राखिएको उनले बताइन् । माइतीघरदेखि तीनकुने सडक खण्डमा रोपिएका बिरुवाहरु पनि विभागको सल्लाह र सुझाव बिना नै रोपिएको उनको भनाइ थियो । उनले पनि वृक्षारोपण गर्दा रैथाने प्रजाति रोप्न र प्राविधिकको सल्लाह लिन सुझाव दिइन् ।

उपत्यकामा कति वर्ष पुराना रुख ?

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)का प्राज्ञ प्राध्यापक दिनेशराज भुजु र त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक नारायण गैरेले काठमाडौंमा पाइने सल्ला प्रजातिका रुखहरुको उमेर सम्बन्धमा सन् २०१२मा एउटा अनुसन्धान गरेका थिए । डेन्ड्रोक्रोनोलोजी विधिबाट रुखहरुको ‘ट्री रिङ’ हेरेर गरिएको उक्त अनुसन्धानले १४० वर्ष पुराना सल्लो प्रजातिको रुख रहेको पाइएको थियो । उनीहरुले गरेको उक्त अनुसन्धानले सिंहदरबारमा ११० वर्ष पुरानो रुख भेटिएको थियो भने थापाथलीको कुमारी मन्दिर क्षेत्रमा पनि १४५ वर्ष पुरानो रुख पाइएको थियो ।

सल्लो काठमाडौंको भूगोल सुहाउँदो हैन : अनुसन्धानकर्ता

काठमाडौं फरेस्ट्री कलेजका प्राध्यापक एवं अनुसन्धानकर्ता अमूल्यरत्न तुलाधार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सन् १९७०/८०को दशकमा रोपिएका रुखहरु अवैज्ञानिक तवरले रोपिएको बताउँछन् ।

‘यहाँका खाली ठाउँमा पहिले खोटे सल्लो रोपियो,’ प्राध्यापक तुलाधारले कान्तिपुरसित भने,‘खोटे सल्लो प्रजातिका लागि काठमाडौंको हावापानी उपयुक्त छ तर बासस्थान उपयुक्त हैन ।’ काठमाडौंमा कालोमाटो छ । कालोमाटोमा पानी जम्मा हुने गर्छ,पानी जम्मा धेरै हुँदा रुखमा ढुसी लाग्ने जोखिम हुन्छ । खोटे सल्लो प्रजातिका लागि पानी नजम्ने किसिमको माटो र केही बलौटे जमिने हुनुपर्ने तुलाधारले बताए ।

सन् १९७६मा इरिक इकोहमद्वारा लिखित ‘द लिजिङ ग्राउन्ड’ नाम किताब प्रकासित भएपछि नेपालमा डाँडाहरुमा विभिन्न प्रजातिका रुखहरु रोपिएका थिए । उक्त किताबमा वन फडानीका कारण सन् २००० सम्म नेपालमा रुख नै नरहने दाबी गरिएपछि दातृ निकायहरुले वृक्षारोपण कार्यक्रम ल्याएका थिए । त्यहीबेला काठमाडौंका नांगा डाँडा र भक्तपुरको रातो माटो हुने धेरै स्थानहरुमा खोटे सल्ला रोपिएका थिए । तुलाधार भन्छन्, ‘रातो माटोमा धेरै अम्लियपना हुन्छ । त्यसबेला खोटे सल्लाका बिरुवा प्रशस्त थियो,त्यही रोपिदिए ।’ काठमाडौंका लागि कपुर, जामुन जस्ता प्रजाति उपयुक्त हुने उनले बताए ।

‘रुखलाई ढुसीले घाइते बनाएका छन् ’

काठमाडौंका विभिन्न ठाउँमा लहरे पीपल रोपिएका छन् । यी प्रजातिका रुखहरु अनुपयुक्त हुने विज्ञहरु बताउँछन् । यो प्रजातिको रुखको जराभित्री माटोसम्म नपुग्ने भएकाले जतिबेला पनि ढल्ने सक्ने जोखिम हुने वनस्पतिविद् शर्मा बताउँछन् । यो प्रजातिका रुखहरु राष्ट्रिय सभा नजिकै पनि रोपिएका छन् । यो प्रजातिको रुखको जरा गहिरो नहुने र बलौटे माटोमा हुर्कने भएकाले कालोमाटो भएको काठमाडौंमा उपयुक्त नभएको प्राध्यापक तुलाधारले बताए ।

तुलाधार भन्छन्, ‘ रुख बुढो भएर ढल्ने भन्दा पनि ढुसीलगायत अन्य कारणले जीर्ण भएर ढलेका हुन् ।’ कालोमाटो धेरै हुँदा त्यहाँ पानी जमेर बस्छ । जसका कारण ढुसी(फन्जाई) सप्रन्छन् । फन्जाईले रुखलाई भित्रीदेखि बाहिरसम्म खाने उनले बताए । ‘रुखको बीच भागमा ढुसीले परेपछि रुखको स्ट्रेन्थ पुग्दैन । त्यही भएर ढल्छ,’ उनले भने । रुखमा चट्याङ् पर्दा रुख भाचिएको ठाउँमा पानी जम्मा हुन्छ । त्यस्ता ठाउँमा पनि ढुसी उम्रन्छन् ।

वाइट,ब्राउन र सफ्ट रट फन्जाई प्रजातिहरुले रुखमा उम्रने र त्यही रुखमा निर्भर हुँदा क्षति गर्ने प्राध्यापक तुलाधारले बताए । ‘ढुसीले खाँदाखाँदा रुखको भित्री भाग मरेको हुन्छ । जरादेखि माथि टुप्पोसम्म खनिज र पानी पुग्न पनि पाउँदैन,’ उनले भने, ‘बाहिर हरियो जस्तै हुन्छ भित्र मरिसकेको हुन्छ । कतिबेला ढल्छन् थाहै हुँदैन ।’

कतिपय अवस्थामा सडक गहिरो स्थान र रुखहरु भएको स्थान अग्लो स्थानमा पनि छन् । त्यस्ता स्थानहरुमा ढुसीले रुखको जरामा आक्रमण गर्दा पनि ढल्ने विज्ञहरु बताउँछन् ।

वृक्षारोपण गर्दा पनि वैज्ञानिक पद्धति नअपनाएर आफूखुसी हुने गरेको छ । एक मिटरभन्दा अग्लो बिरुवालाई सय ग्राम माटो हालेको प्लास्टिकमा हालेर रोप्ने गरिएको छ । यसमा कति मिटर अग्लो बिरुवाका लागि कति मात्राको पोषक तत्व आवश्यक पर्ने भन्ने सवालमा पनि अध्ययन भएका छैनन् । रुख रोप्दा सामान्य तरिकाले पुर्दा जरा राम्रोसँग सप्रन नपाउने, मसिना जराहरु चुडिँने, सडक खन्दा जरा काटिने जस्ता कार्यले पनि समस्या हुने गरेको विज्ञहरुको भनाइ छ ।

विज्ञहरुले व्यवस्थापकीय पक्षलाई जोड दिन आग्रह गरका छन् । उनीहरुले रुख रोपेपछि त्यसको रेखदेख, अध्ययन,अनुसन्धान,अवस्था लगायत निगरानी गर्ने परिपाटी नहुँदा यस्ता दुर्घटनाहरु अझै निम्तन सक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचारहरूः

भक्तपुरमा रुख ढलेर सवारी साधन किच्दा ३ को मृत्यु

रुखले सवारी साधन किच्दा... [तस्बिरहरू]

प्रकाशित : श्रावण ८, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

वामपन्थी र समाजवादीको मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताए ।

खनालले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे । उनले देशको आवश्यकता वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनु भए पनि कतिपपय समूह त्यसका लागि तयार नभएको बताए ।

उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरू एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाऊँ भन्नेखालका कुरा सोच्दैछौँ । सल्लाह गर्दैछौँ । आवश्यकताको दृष्टिले सबै वामपन्थीहरू एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैनन् । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ ।’

तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको उनको भनाइ थियो । वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भए पनि प्रभावकारी नभएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ८, २०७९ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×