कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मुटुको आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई औषधिको भर

प्रशान्त माली

काठमाडौँ — मुटुको ‘आकस्मिक शल्यक्रिया’ गर्नुपर्ने कास्कीका ६१ वर्षीय खिमप्रसाद अधिकारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले हृदयाघात रोकथामको अल्पकालीन औषधि दिएर घर फर्काएको छ । तीन वटा भल्भ फेर्नुपर्ने भए पनि ‘अक्सिजेनेटर’ अभावको कारण देखाउँदै अस्पतालले शुक्रबार फर्काएको उनका छोरा चिरञ्जीवीले बताए । अधिकारी बेड नम्बर ४०३ मा ५ दिनदेखि उपचाररत थिए ।

मुटुको आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई औषधिको भर

‘बुबालाई तीन पटक हृदयाघात भइसकेको छ । तत्काल अपरेसन नगरे फेरि हृदयाघात हुने जोखिम उत्तिकै छ,’ चिरञ्जीवीले भने, ‘औषधिको भरमा घर लैजानुपर्दा दुःख लागेको छ ।’

अस्पतालले बुधबार ‘अक्सिजेनेटर’ अभाव भन्दै वयस्कहरूको मुटुको शल्यक्रिया बन्द गरेको थियो । ‘अक्सिजेनेटर’ मुटुको अपरेसन गर्दा फोक्सोको काम गर्ने उपकरण हो । आकस्मिक शल्यक्रिया गर्नुपर्ने कपिलवस्तुका ५२ वर्षीया कलामुन निसालाई पनि औषधि दिइएको छ ।

मुटुको तीन वटा नसा जाम भएकाले उपचारमा आएको उनका छोरा पर्बेजले बताए । ‘एउटा मात्र नसा जाम भएको भए जाली हाल्न मिल्थ्यो रे,’ उनले भने, ‘तत्काल अपरेसन नगरेमा हृदयाघातको जोखिम छ । आमालाई दुई पटक हृदयाघात भइसकेको छ ।’

शल्य चिकित्सक डा. प्रमाण शर्माले भल्भ फेर्नुपर्ने बिरामीमा सास फेर्न गाह्रो हुँदा शल्यक्रिया नगरेमा ज्यान नै जान सक्ने खतरा रहेको बताए । यस्ता बिरामीको अवस्था हेरेर १०/१२ दिनसम्म औषधिले थेग्न सक्ने उनको भनाइ छ ।

गंगालालले एक महिनाअघि ‘अक्सिजेनेटर’ अभाव भएपछि हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सहमति भएको थियो । अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भइसक्दा पनि अस्पताल प्रशासनको चरम लापरबाहीका कारण उपकरण आउन नसकेको हो । अस्पतालका सूचना अधिकारी भूपाल अर्यालले सप्लायर्सले केही साताभित्र ल्याउन दाबी गरे । ‘उपकरण जहाजमा लोड गरिसकेको खबर छ,’ उनले भने ।

यस विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन थालेको छ । केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठले कर्मचारीकै कारण अभाव भएको हो/होइन भन्नेबारे सोधपुछ थालेको बताए । ‘चाँडै ल्याउन निर्देशन दिएका छौं,’ उनले भने ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पनि ‘अक्सिजेनेटर’ को स्टक सकिन लागेको छ । अस्पतालले उपकरण खरिद गर्न जेठमा बोलपत्र आह्वान गरेको थियो । ‘त्रिविको आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियममा अस्पतालले तोकेको रकमभन्दा १५ प्रतिशतसम्म मात्र बढाएर खरिद गर्न मिल्छ । सप्लायर्सले प्रस्ताव गरेको बढी रकम स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा बुझ्न फाइल डिन कार्यालयमार्फत पठाइसकेका छौं,’ सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले भने । त्रिवि शिक्षण अस्पतालकी डिन प्राडा. दिव्या सिंह शाहले यस विषयमा छलफल गर्न शनिबार बैठक बोलाइसकेको बताइन् ।

मुटुको शल्यक्रिया गर्ने चितवन मेडिकल कलेजले ‘अक्सिजेनेटर’ ४/५ वटा मात्र स्टकमा रहेको जनाएको छ । मुटु, फोक्सो र रक्तनली विभागका प्रमुख डा. अनिल आचार्यले सप्लायर्सले चाँडै ल्याएमा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीहरू प्रभावित नहुने बताए । चितवनमा मासिक ५ वटा मुटुको शल्यक्रिया हुने गरेको छ । मासिक ८ देखि १० वटा शल्यक्रिया गर्ने नोबल अस्पताल विराटनगरले भने इमर्जेन्सीका लागि भनेर दुई वटा उपकरण स्टकमा राखेको बताएको छ । निजी अस्पतालमा मुटुको शल्यक्रिया गर्न कम्तीमा ४ लाख रुपैयाँ खर्च लाग्छ । यसैबीच, प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’ उपकरण तत्काल उपलब्ध हुने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । मुटुका बिरामीको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् । ‘मुटुको बिरामीहरूको शल्यक्रिया नै हुन सकेन भनेर समाचार आएका छन् । यस विषयमा सरकार संवेदनशील भएर आवश्यक व्यवस्था छिटो मिलाउनुपर्‍यो भनेर निर्देश गरिएको छ,’ उनले भनिन् ।

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन युद्ध र कोरोना संकटका कारण पनि उपकरण ल्याउन नसकिएको भनी समितिलाई स्पष्टीकरण दिएका थिए । अधिकारीले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सांसदहरूको ध्यानाकर्षण गराएका थिए । ‘अक्सिजेनेटर’ अभावका कारण गंगालालमा मंगलबार एकै दिन ४५ जना बिरामीलाई घर पठाइएको थियो । मुटुको शल्यक्रिया रोकिएको विषयमा बुधबार कान्तिपुर दैनिकमा समाचार प्रकाशन भएपछि प्रतिनिधिसभा बैठकमा एमाले सांसद नवीना लामालगायतका सांसदले यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : श्रावण ८, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?