प्रकाशमानको प्रश्न- चुनाव आउँदा उम्मेदवार बन्ने, जनतालाई आपत पर्दा देखा नपर्ने ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकाशमानको प्रश्न- चुनाव आउँदा उम्मेदवार बन्ने, जनतालाई आपत पर्दा देखा नपर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै स्वतन्त्र र नयाँ नेताहरूबाट केही प्राप्त नहुने बताएका छन् । उनले चुनावको मुखमा जनतामाझ आउने र अरुबेला देखा नपर्नेहरूलाई जिताएर केही नहुने बताएका हुन् । 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले गत निर्वाचनमा जनतामा प्रतिस्पर्धी बनेका व्यक्तिहरू यसबीचमा कतिपटक जनतामा आएका छन् ? भनेर पनि प्रश्न गरेका छन् ।

'गएको निर्वाचनमा नयाँ पार्टीको मान्छे परिवर्तन गर्छु भनेर आयो । जो उम्मेदवार भएर आयो त्यो उम्मेदवारले यो निर्वाचन क्षेत्रमा के गर्‍यो त ? त्यत्रो कोभिड हुँदा, अरु आपत पर्दा, कसैलाई समस्या हुँदा कहिँ कतै देखा पर्‍यो ?,' २०७४ को प्रतिनिधिसभा निर्वाचनका प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई लक्षित गर्दै उनले प्रश्न गरेका थिए ।

मतदाता चुनावका बेला देखिनेहरूको भाषणामा पर्न नहुने सिंहको आग्रह थियो । 'चुनावको समयमा, सामाजिक सञ्जालमा मात्रै आउनेहरूको मूल्यांकन र परीक्षण भएको छैन । हाम्रो स्वभाव कस्तो हुन्छ भने ज्यादु, चटक देखाउनेले चटक देखाउँदा अचम्म पर्छौं । कुनै आन्दोलनमा सहभागी नभएका, जागिर खानसम्म खाएर पैंसा कमाउनसम्म कमाएर स्वतन्त्रको हावा बगिरहेको छ हामी पनि पसौं भन्ने छन्,' उनले भने ।

सिंहले स्थापित पार्टीहरूलाई समेत काम गर्न गाह्रो भइरहेको बेला स्वतन्त्र उम्मेदवारलाई जिताएर केही नहुने तर्क गरे । उनले भने, 'पुरानोलाई त गर्न गाह्रो छ, नयाँले के गर्छ ? राणा शासन, पञ्चायत ढाल्नेलाई त काम गर्न गाह्रो छ । एकजना स्वतन्त्रलाई जिताएर पठाउँदा के हुने हो ?,' उनले भने । परिवर्तन गर्छु भनेर बोल्दैमा परिवर्तन नहुने उनको भनाइ थियो ।

सिंहले युवा मतदाताहरूसँग पार्टी नेता र कार्यकर्ताहरूले अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने बताएका छन् । उनले युवा मतदातासँग पार्टीका योजना र कार्यक्रमबारे छलफल गर्न सुझाव दिए ।

प्रकाशित : श्रावण ७, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

खड्का विश्व तेक्वान्दोमा निर्णायक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले विश्व तेक्वान्दो च्याम्पियनसिप (जी ७) मा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । यसका लागि सेकेन्ड क्लासका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक खड्का आइतबार बुल्गेरियाको सोफिया जाँदै छन् ।

प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ सम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । प्रतियोगिता लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स हुनेछ । कोर्समा पनि खड्काले सहभागिता जनाउने छन् ।

निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले बताए । उनका अनुसार दक्षिण एसियाबाट उक्त प्रतियोगिताका लागि निर्णायकमा छनोट हुने उनी एक्ला हुन् ।

वैशाखयता खड्काले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले बिदाइ गरेका थिए ।

प्रकाशित : श्रावण ७, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×