मदिरा बेच्ने र सेवन गर्नेलाई वडाले ढुंगा बोकाउने !

काठमाडौँ — डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ ले वडाभित्र मदिराको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएका छन् । मदिरा सेवनले परिवारभित्र कलह र समाजमा झैझगडा उत्पन्न भएको भन्दै ती वडाले मदिरा बेचबिखनमा प्रतिबन्ध लगाएका हुन् । 

मदिरा बेच्ने र सेवन गर्नेलाई वडाले ढुंगा बोकाउने !

वडा नम्बर ७ का अध्यक्ष दिलबहादुर बलायरका अनुसार गत जेठ १२ गते बसेको वडा कार्यपालिका बैठकले मदिरा सेवन गर्ने र बेच्नेलाई कारबाहीसहितको यस्तो निर्णय गरेको हो ।

समाजमा विकृति नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जानकारी दिँदै वडाध्यक्ष बलायरले इकान्तिपुरसँग भने, 'हामीले यसअघि पनि महिला सशक्तीकरणलगायत विभिन्न युवाका मुद्दामा काम गर्दै आएका हौँ । मदिरा बेचबिखन र सेवनमा हामीले रोक्न नसकेपछि यस्तो निर्णय गरेका हौँ ।'

विभिन्न दण्ड सजाय गर्दा बेचबिखन नरोकिएको उल्लेख गर्दै समाजमै उनीहरूलाई सार्वजनिक गरेपछि नियन्त्रण हुने उनको विश्वास छ । मदिरा बेच्ने र खानेलाई कारबाहीस्वरूप ढुंगा बोकाइने पनि उनी बताउँछन् । उनी भन्छन्, 'जेठ १२ गतेको निर्णय जेठ १९ गतेदेखि लागू भएको हो । त्यसयता मदिरा बेचेको र खाएको बारे हामीलाई कसैले जानकारी गराएको छैन ।'

वडाका ३४ जना व्यापारीसँगको सल्लाहमै निर्णय गरिएको उनले बताए । कारबाहीको स्वरूपबारे जानकारी दिँदै भन्छन्, 'मदिरा खानेलाई भोलिपल्टदेखि १५ दिनसम्म ढुंगा बोकाइनेछ भने बेच्नेलाई ३० दिनसम्म।' जुवातास खेल्ने र खेलाउनेलाई पनि त्यस्तै कारबाही गरिने वडाध्यक्ष बलायरले जानकारी दिए ।

त्यस्तै डोटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक २ हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई ५ हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।

प्रकाशित : श्रावण ५, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?